Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रधानमन्त्रीभन्दा राष्ट्रपति भण्डारीलाई चीनको महत्व, आजदेखि रसुवागढी नाका खोल्ने चिनियाँ प्रतिबद्धता

प्रधानमन्त्रीभन्दा राष्ट्रपति भण्डारीलाई चीनको महत्व, आजदेखि रसुवागढी नाका खोल्ने चिनियाँ प्रतिबद्धता


काठमाडौं । चीनले प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष महत्व दिएको प्रस्ट देखिएको छ । नेपाल भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा उत्तरी नाका कहिले खोल्ने विषयमा कुनै ठोस जवाफ दिएका थिएनन् । तर, मंगलबार प्रधानमन्त्रीलाई भेटेर बुधबार राष्ट्रपतिलाई भेट्न जाने क्रममा जनकंग्रेस, स्थायी समितिका अध्यक्ष लीले चीनमै सम्पर्क गरेर नाका खोल्नेबारे आफ्नो देशको ठोस धारणा लिएर शीतलनिवास गएका थिए ।

त्यहाँ राष्ट्रपति भण्डारीसँगको वार्तामा अध्यक्ष लीले बिहीबारदेखि नै रसुवागढी नाका खुल्ने जानकारी आफूले आफ्नो देशबाट पाएको जानकारी गराउँदै नेपाल–चीन हवाइ उडान चाँडो सुरु गर्ने र नेपाली विद्यार्थीको फिर्ता कार्यक्रम पनि चाँडै सुरु गर्ने प्रतिबद्धता जनाएको स्रोतले जानकारी दिएको छ ।

लीले राष्ट्रपति भण्डारीलाई नाका खोल्ने जानकारी दिनासाथ चिनियाँ स्थानीय अधिकारीहरुले बुधबार नै रसुवाका प्रमुख जिल्ला अधिकारीमार्फत भन्सार कार्यालयलाई बिहीबारदेखि रसुवागढी नाका सुचारु गर्ने जानकारी गराएको छ । चीनले कोभिडको कारण देखाउँदै केही समय अघिदेखि रसुवागढी र तातोपानी नाका बन्द गरिदिँदा नेपाली व्यापारीको सामान चीनतर्फ नै रोकिएका छन् । चीनले तातोपानी नाका पनि चाँडो खोल्ने प्रतिबद्धता जनाएको छ ।

प्रधानमन्त्री देउवासँगको मङ्गलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन निरन्तरताका लागि फिर्ता, यात्रु उडान सुचारु गर्ने, सीमा बन्दरगाह खोल्नेलगायत आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा क्रममा अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ आएका हुन् । राष्ट्रपतिसँगको भेटमा अध्यक्ष लीले यसअघि सन् २०१९ अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा भएका सहमति सम्झौता कार्यान्वयन गर्ने आफ्नो लक्ष्य भएको समेत बताएको राससले जनाएको छ ।

यसैगरी बुधबार बिहान चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाको अवलोकन र निरीक्षण तथा स्थानीय कला संस्कृतिको अवलोकन गरेको थियो । भ्रमणको पहिलो दिन सोमबार सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छबुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

प्रधानमन्त्री देउवासँग उनले मङ्गलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका थिए । प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उनीहरुबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन निरन्तरताका लागि फिर्ता, यात्रु उडान सुचारु गर्ने, सीमा बन्दरगाह खोल्नेलगायत आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

मङ्गलबार नै अध्यक्ष लीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका थिए । अध्यक्ष ली नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल नेपाल आएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी आज भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै चीन फर्कने कार्यक्रम छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया