Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमोबाइलमा वर्ल्डकप हेर्न एजेन्टलाई टेलिकमको २४ करोड अनुदान

मोबाइलमा वर्ल्डकप हेर्न एजेन्टलाई टेलिकमको २४ करोड अनुदान


काठमाडौं । नेपाल टेलिकमले आफ्ना एक करोड ४० लाख प्रयोगकर्ताहरुले कतारमा हुन लागेको विश्वकप फुटबल मोबाइलमा हेर्ने विश्वासले २४ करोड रुपैयाँ एजेन्टलाई बुझाउन लागेको छ ।

No description available.

नेपालीहरुले मोबाइलमा विश्वकप फुटबल हेर्छन् भन्ने विश्वासले टेलिकमले नेपालको लागि विश्वकप फुटबल प्रसारण गर्न अधिकार पाएको मिडिया हबसँग २४ करोडको सम्झौता गर्न लागेपछि टेलिकमभित्रै विरोध भएको छ ।  सरकारको स्वामित्व रहेको र नेपाली जनताको समेत सेयर स्वामित्व रहेको टेलिकमका प्रबन्धनिर्देशक सुनिलकुमार पौडेलले नेपालको लागि प्रसारण अधिकार लिएको मिडिया हबसँग सम्झौता गर्नको लागि व्यवस्थापनमा छलफल नै नगरी बोर्डमा सो प्रस्ताव लगेका थिए ।

अनौठो कुरो त के छ भने मिडिया हबले नेपालभर प्रसारण गर्न २१ करोडमा अनुमति लिएको अनुमान गरिएको छ भने टेलिकमले आफ्ना ग्राहकको लागि मात्र २४ करोड भुक्तानी गर्दै छ । त्यसमा पनि आफ्ना ग्राहकहरुले थप डाटा किनेर मोबाइलमा विश्वकप फुटबल हेर्छन् भनेर ।  सुन्दैमा अचम्म लाग्ने यस्तो सम्झौता गर्न आफूले सक्नेजति अधिकार प्रयोग गर्दै आएका छन् प्रबन्धनिर्देशक पौडेल । सोमबार पौडेललाई यस विषयमा जिज्ञासा राख्न फोन सम्पर्क गर्दा उनको मात्र नभएर प्रवक्ता शोभन अधिकारी तथा सहप्रवक्ता रञ्जित लोहियाको समेत फोन स्विच अफ पाइएको छ ।
टेलिकमबाटै २४ करोड उठाउन लागेको मिडिया हबले एनसेल, डीटीएच, एमएसओ तथा विभिन्न केबल अपरेटरहरुसँग समेत सम्झौता गरेर प्रसारण अधिकार बेच्नेछ र सोबापत समेत अतिरिक्त पैसा उठाउनेछ ।

विश्वकप फुटबलको इतिहासमा फुटबल हेर्नका लागि नै भनेर अतिरिक्त पैसा नतिरेका नेपालीहरुलाई आफ्नो व्यापार चौपट भएको र त्यसको क्षतिपूर्ति यही विश्वकप फुटबलबाट उठाउनुपर्छ भन्दै लागेका मिडिया हबका सञ्चालक सोम धिताल यसअघि बैंकको कालोसूचीमा परेका व्यक्ति हुन् ।  धितालले यसकै उदाहरणस्वरुप जनताको लगानी रहेको नेपाल टेलिकमलाई पहिलो रोजाइमा राख्दै स्वायत्त कम्पनी भएको हुँदा सरकारले समेत हस्तक्षेप नगर्ने र प्रबन्धनिर्देशक पौडेलसँग मिलेमतो गर्दा दुवैलाई फाइदा हुने भन्दै २४ करोडको सम्झौता गर्न जाल बुनेको कर्मचारीहरुको आरोप छ ।

मिडिया हबका सञ्चालक सोम धिताल यतिबेला विज्ञापनसम्बन्धी काम गर्ने संस्थाहरुको छाता संगठन नेपाल विज्ञापन संघ (आन) को अध्यक्ष समेत हुन् । २४ करोड खर्च गर्न लागेको नेपाल टेलिकमको टिभीका ग्राहकहरुको संख्या १५ सय हाराहारी मात्र छन् भने टेलिकमले आफ्नो सिम प्रयोगकर्ताहरुलाई मोबाइलमा नै फुटबल प्रसारण गर्न सञ्चार मन्त्रालयसंग लिनुपर्ने ओटीटीको लाइसेन्स नै आजसम्म लिएको छैन ।
मिडिया हबका सञ्चालक धितालको जालमा परेर बोर्डमा प्रस्ताव लगेका टेलिकमका प्रबन्धनिर्देशक पौडेल यतिबेला भने कर्मचारीहरुको विरोध र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी पर्ने देखिएपछि हच्किएका छन् ।

प्रबन्धनिर्देशक पौडेललाई मिडिया हबसँग २४ करोडको सम्झौता गर्न टेलिकमका बोर्ड अध्यक्ष समेत रहेका सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले ग्रिन सिग्नल दिएपछि टेलिकमलाई ‘मुर्गा’ बनाउन लागिएको कर्मचारीहरुको  आरोप छ । यस विषयमा कुरा गर्न फोन सम्पर्क गर्दा सञ्चार मन्त्रालयका प्रवक्ता सेवन्तक पोखरेलले यो विषय आफूले नसुनेको बताए । आर्थिक दैनिकको जिज्ञासामा यस खालको विषय टेलिकमकै विषय भएकोले एउटा स्वायत्त संस्था टेलिकमलाई आफूहरुले मन्त्रालयको तर्फबाट यो त्यो भनेर टेलिकमको बिजनेस प्रमोसन योजनाहरुमा हस्तक्षेप गर्न नमिल्ने बताए । टेलिकमले निजी क्षेत्रसँग समेत प्रतिस्पर्धा गर्नुपर्ने र त्यहीअनुसार उसले व्यावसायिक योजना बनाउने भएकाले त्यस्ता गतिविधिहरु नियमन गर्न मन्त्रालयले नसक्ने प्रवक्ता पोखरेलले बताए । ‘यदि ठूलै अनियमितता भयो भने उजुरी पर्छ भने त्यसमा अख्तियारले पनि हेर्छ आन्तरिक रुपमा हामीले पनि हेर्छौँ’, उनले भने ।

प्रवक्ता पोखरेलले त्यसो भनिरहँदा पनि टेलिकममा ठूला निर्णयहरु बोर्ड बैठकबाट मात्र हुन्छ र त्यस बोर्डकै अध्यक्ष मन्त्रालयकै सचिव रहनेछन् ।
टेलिकमका प्रबन्धनिर्देशक पौडेललाई प्रलोभनमा पारेर टेलिकमलाई मुर्गा बनाउन लागेको आरोप लागेका मिडिया हबका सञ्चालक सोम धिताललाई यस विषयमा जिज्ञाखा राख्दा यो नितान्त टेलिकमको अधिकारको कुरा भएकोले यसमा आफूले कसैलाई कुनै धाकधम्की वा प्रलोभनमा नपारेको बताए । उनले आफूले राखेको प्रस्तावमा टेलिकमको बिजनेस योजनाअनुसार मात्र छलफल भएको र यसरी अहिले नै सम्झौता हुन्छ भन्ने समेत नरहेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया