Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकले दुई खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै

राष्ट्र बैंकले दुई खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै


काठमाडौं । पर्याप्त पैसा भएपछि नेपाल राष्ट्र बैंकले दुई वर्षे अवधिको आठ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्रको बिक्री आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार मंसिर १४ गते अपराह्न २ बजेसम्ममा बोलकबोलको माध्यमद्वारा विकास ऋणपत्र २०८१ ‘छ’ (२ वर्षे) बिक्री गर्न लागिएको हो ।

सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागद्वारा निष्काशन गरिएको ऋणपत्रको निष्काशन मिति मंसिर १४ तोकिएको छ भने ऋणपत्रको परिपक्व हुने अर्थात् सावाँ भुक्तानी हुने अवधि २०८१ मंसिर १४ गते तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी भएर उक्त ऋणपत्र खरिद गर्न सक्नेछन । छुट्याइएको रकममध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ८० करोड र एक अर्ब २० करोड रुपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने व्यवस्था रहेको छ ।

खरिद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्न सक्ने व्यवस्था तोकिएको छ । राष्ट्र बैंकका अनुसार यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन व्यवस्था रहेको छ ।

राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउनेछैनन् । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुनेछ । अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने ऋणपत्र धितो राखेर कर्जा लिन र दिन पाइने जानकारी पनि राष्ट्र बैंकले दिएको छ । राष्ट्र बैंकले आगामी असार मसान्तसम्ममा दुई खर्ब ५६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने तयारी गरेकोमा सोही अनुसार राष्ट्र बैंकले विकास ऋणपत्रको बिक्री आह्वान गरेको हो ।

आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले चालू आवको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्ममा १५ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल र १५ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र समेत गरी कुल ३० अर्ब रुपैयाँबराबरको मौद्रिक उपकरण बिक्री गर्नेछ । यसैगरी तेस्रो त्रैमासिकमा पनि ६० अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल, २५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र र दुई अर्ब ५० करोड रुपैयाँ बराबरको नागरिक बचतपत्र पाँच वर्षे समेत गरी कुल ८८ अर्ब रुपैयाँबराबरको मौद्रिक उपकरण बिक्री गर्ने तयारी राष्ट्र बैंकको रहेको छ ।

चालू आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा भने राष्ट्र बैंकले एक खर्ब ३८ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । यसको लागि राष्ट्र बैंकले ७५ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, दुई अर्ब ५० करोड रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र पाँच वर्षे निष्काशन गर्ने तयारी गरेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षमा उठाइने कुल आन्तरिक ऋणमध्ये एक खर्ब ५० अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल, एक खर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, पाँच अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र पाँच वर्षे र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र पाँच वर्षे रहेको छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको लागि उठाउने कुल आन्तरिक ऋणमध्ये दोस्रो त्रैमासिकमा मात्र ३० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउनेछ । यसको लागि यही मंसिर १२ गते तीन सय ६४ दिने अवधिको सात अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल र पुस १८ गते पुनः तीन सय ६४ दिने अवधिको सात अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्नेछ । विकास ऋणपत्रतर्फ भने यही मंसिर १३ गते दुई वर्षे अवधिको आठ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र २०८१ छ, मंसिर २७ गते तीन वर्षे अवधिको विकास ऋणपत्र २०८२ छ र पुस ५ गते चार वर्षे अवधिको पाँच अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र २०८३ ज बिक्री गर्ने तयारी गरेको छ ।

लघुवित्तको लाभांश वितरणमा राष्ट्र बैंकको कडाइ
लघुवित्त वित्तीय संस्थाहरुको लाभांश वितरणसम्बन्धी व्यवस्थामा राष्ट्र बैंकले नीतिगतरुपमा केही कडाइ गरेको छ । सोमबार राष्ट्र बैंकले सञ्चालनमा रहेका ६४ वटै लघुवित्त वित्तीय संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दै लाभांश वितरणसम्बन्धी व्यवस्थामा आंशिकरुपमा कडाइ गरेको हो ।

परिपत्रअनुसार लघुवित्त वित्तीय संस्थाहरुले वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी उक्त निर्देशन दिइएको राष्ट्र बैंकको भनाइ छ ।

एकीकृत निर्देशन २०७८ मा भएको विद्यमान व्यवस्थाअन्तर्गत भने लघुवित्त वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७/०७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया