Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाको कारण नेपाल–चीन उडान कटौती

कोरोनाको कारण नेपाल–चीन उडान कटौती


काठमाण्डौं,फागुन २६
कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल–चीन उडान प्रभावित बनेको छ । विश्वका ९० भन्दा बढी मुलुकमा कोरोना भाइरसबाट प्रभावित भएसँगै नेपाल–चीन उडान समेत प्रभावित बनेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अन्य देशहरुले पनि नेपाल उडान कटौती गर्न थालेका छन् । विमानहरु चलिरहे पनि यात्रुको संख्या ह्वात्तै घटेको कारण अन्य एयरलाइन्सहरुले पनि उडान कटौती गर्न थालेका हुन् । प्राधिकरणका सूचना अधिकारी एवं उपनिर्देशक त्रिलोचन पौड्यालले कोरोना भाइरसको संक्रमणसँगै नेपाल–चीन उडान प्रभावित बनेको आर्थिक दैनिकलाई जानकारी दिए । उनले स्वदेशी र विदेशी गरेर आठवटा एयरलाइन्सले नेपाल–चीन उडान भर्दै आएका थिए । कोरोना संक्रमणसँगै सबैजसो एयरलाइन्सले नेपाल–चीन उडान स्थगित गरेको बताए ।‘स्वदेशी एयरलाइन्समा नेपाल एयरलाइन्स र हिमालयन तथा विदेशीमा एयर चाइना, चाइना साउदर्न, चाइना इष्टर्न, सिचुवान, तिब्बत र क्याथे ड्रागन गरी आठवटा एयरलाइन्सले नेपाल–चीन उडान भर्ने गरेका थिए’, उनले भने, ‘काठमाडौं र चीनका विभिन्न १० वटा सहरमा उडान भर्दै आएका ती एयरलाइन्सले कोरोना भाइरसका कारण आफ्ना उडानहरु स्थगित गरेका हुन् ।’ हिमालयन, एयर चाइना, चाइना साउदर्न, चाइना इष्टर्न, सिचुवान, तिब्बत र क्याथे ड्रागनले काठमाडौं–चीन तथा चीन–काठमाडौंमा नियमिततर्फ गर्ने सबै उडान स्थगित गरेको उनले बताए । नेपाल एयरलाइन्सले भने काठमाडौं–हङकङ तथा हङकङ–काठमाडौं आफ्नो उडान भर्दै आएको छ ।प्राधिकरणका अनुसार कोरोना भाइरसको संक्रमणअघि ती एयरलाइन्सले नेपालको काठमाडौं तथा चीनका हङकङ, बेइजिङ, चोङकिङ, गुइयाङ, चाङसा, चेन्दु, ग्वान्झाओ, कुनमिङ, ल्हासा, र झाङ सहरमा उडान भर्दै आएका थिए भने नियमिततर्फ ७३ तथा अक्तिरिक्ततर्फ १८ उडान भर्दै आएका थिए ।

निर्देशक पौड्यालका अनुसार नेपाल चीनमा सबैभन्दा बढी उडान भर्नेमा एयर चाइना, चाइना साउदर्न छन् । त्यसपछि क्रमशः चाइना इष्टर्न, हिमालय, तिब्बत एयरलाइन्स, क्याथे ड्रागन, सिचुवान रहेका छन् । हिमालयले चीनको काठमाडौं–बेइजिङ, बेइजिङ–काठमाडौं, काठमाडौं– चोङकिङ, चोङकिङ–काठमाडौं, काठमाडौं– गुइयाङ, गुइयाङ–काठमाडौं, काठमाडौं–चाङ्सा चाङ्सा– काठमाडौंमा हप्ताको १५ वटा उडान भर्दै आएको थियो । उसले बेइजिङमा हप्तामा १० वटा, चोङकिङमा तीनवटा, गुइयाङ, चाङ्सामा क्रमशः एक÷एक उडान भर्दै आएकोमा हाल उडान स्थगित गरेको छ । एयर चाइनाले छेन्दु–काठमाडौं–छेन्दु गरी हप्तामा १५ वटा उडान भर्दै आएको थियो । उसले बुधबार तीनवटा र अन्य दिन दुईवटा गरी १५ वटा उडान भर्दै आएको थियो । चाइना साउदर्नले ग्वान्झाओ–काठमाडौं–ग्वान्झाओ गरी हप्तामा १६ वटा उडान भर्दै आएको थियो । उसले मंगलबार र शुक्रबार तीनवटा र अन्य दिन दुईवटा गरी १६ वटा उडान भर्दै आएको थियो । यस्तै चाइना इष्टर्नले कुनमिङ–काठमाडौं–कुनमिङ गरी हप्तामा १८ वटा उडान भर्दै आएको थियो । उसले आइतबार, मंगलबार, बिहीबार, शनिबार तीनवटा बाँकी दिनमा दुईवटा उडान भर्दै आएको थियो ।सिचुवानले ल्हासा–काठमाडौं–ल्हासा गरी हप्तामा ४ वटा उडान भर्दै आएको छ । सिचुवानले आइतबार, सोमबार, बुधबार र शुक्रबार गरी ४ वटा उडान भर्दै आएको थियो ।

तिब्बत एयरलाइन्सले झान–काठमाडौं–झान गरी हप्तामा सातवटा उडान भर्दै आएको थियो भने उसले प्रत्येक दिन एउटा उडान भर्ने गरेको थियो ।क्याथे ड्रागन विमानले काठमाडौं झिनामा हप्ताको पाँचवटा उडान भर्दै आएको थियो । आइतबार, मंगलबार, बुधबार, शुक्रबार र शनिबार उडान भर्दै आएको ड्रागनले भने हाल उडान भर्न पाएको छैन । नेपाल एयरलाइन्सले भने काठमाडौं–हङकङ–काठमाडौं गरी हप्तामा तीनवटा उडान भर्दै आएको थियो उसको उडान भने प्रभावित नबनेको प्राधिकरणले जनाएको छ । उसले मंगलबार, बिहीबार र शुक्रबार उडान भर्दै आएको छ ।कोरोना भाइरसको संक्रमण देखा परेसँगै मानिसहरु चीन जाने यात्रुहरु नभएको प्राधिकरणले जनाएको छ भने एयरलाइन्सले पनि संक्रमणबारे जानकारी गराउँदै चीनमा प्रदान गर्दै आएको हवाइ सेवा स्थगन गरेको जनाएको छ । यसैबीच पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले हवाइ यात्रा नगर्न समेत सजग गराएको छ । हिमालय एयरलाइन्सले भने कोरोना भाइरसको कारण उडान स्थगन गर्ने परेको भन्दै यात्रुहरुलाई आफ्नो उडान स्थगन गर्नसक्ने जनाएको छ भने सोको लागि सम्बन्धित कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया