Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनागढुंगा सुरुङ्गमार्ग ९ सय ७७ मिटर मात्र खन्न बाँकी

नागढुंगा सुरुङ्गमार्ग ९ सय ७७ मिटर मात्र खन्न बाँकी

चार महिनामा छेडिने


काठमाडौं । नागढुंगा सुरुङ्गमार्गको सुरुङ्ग मात्र खन्ने काम ७० प्रतिशत पूरा भएको छ । तर, त्यसको फिनिसिङ भने भर्खर ३३ प्रतिशत मात्र पूरा भएको नागढुंगा सुरुङ्ग निर्माण आयोजनाले जनाएको छ ।

आयोजनाका निमित्त प्रमुख माधव प्रसाद अधिकारीका अनुसार गाडी गुड्ने २६ सय ८८ मिटरको मुख्य सुरुङको काम १७ सय ११ मिटर पूरा भएको छ । उक्त मुख्य सुरुङको नौ सय ४६ दशमलव ६० मिटर अर्थात् ३३ दशमलव ७० प्रतिशत मात्र फिनिसिङ्ग गरिएको छ । अधिकारीका अनुसार सुरुङ्ग खन्ने र फिनिसिङ गर्ने काम धमाधम भइरहेको छ ।

‘अब मुख्य सुरुङ नौ सय ७७ मिटर मात्र खन्न बाँकी छ’, आयोजनाका निमित्त प्रमुख अधिकारीले आर्थिक दैनिकसित भने, ‘सुरुङ्ग खन्दा कुनै भौगर्भिक समस्या देखा परेन भने चार महिनाभित्र ‘ब्रेक थ्रु’ हुनसक्छ । तर, त्यसको भित्री भागको बनावटमा निर्भर हुन्छ ।’

आयोजनाले दैनिक छ/सात मिटर मुख्य सुरुङ्ग खन्ने योजना बनाएको छ । तर कुनै दिन दैनिक १९ मिटर पनि खन्ने काम भएको आयोजनाको रेकर्ड छ । अब दैनिक आठ मिटरको दरले मात्र खन्न सकिए पनि सुरुङ छेड्न भने बढीमा चार महिना मात्र लाग्ने अनुमान आयोजनाको छ । उक्त सुरुङको काम धादिङ र काठमाडौं दुवैतिरबाट भइरहेको छ ।

आयोजनाका अनुसार मुख्य सुरुङ धादिङबाट आठ सय ७८ दशमलव ८० मिटर र काठमाडौंबाट आठ सय ३२ दशमलव २० मिटर खन्ने काम पूरा भएको छ । मुख्य सुरुङको समानान्तर रुपमा रहेको सहायक सुरुङको काम भने १९ सय ४८ दशमलव १० मिटर सकिएको छ । त्यसको कुल लम्बाइ २५ सय ५७ मिटर रहेको छ । अहिले त्यो सुरुङको मुख्य सुरुङ खन्दा निस्कने ढुंगा र माटो निकाल्न प्रयोग भएको छ भने पछि गाडी चल्न थालेपछि उद्धारका लागि सो सुरुङ प्रयोग गरिनेछ । गाडीको चाप बढेमा त्यो सुरुङबाट पनि गाडी चलाउन सकिन्छ । तर त्यो सुरुङलाई अहिले मुख्य सुरुङको जसरी फिनिसिङ्ग गरिनेछैन ।

मुख्य सुरुङ र सहायक सुरुङलाई जोड्न एक सय २८ मिटर लामो विभिन्न ठाउँमा सुरुङ रहनेछ । त्यसको पनि ७४ दशमलव २० मिटरको काम पूरा भएको छ । त्यो सुरुङलाई आयोजनाले क्रसप्यासेजको नाम दिएको छ । मेन टनेल २६ सय ८८ मिटर, इभ्याकुएसन टनेल (सहायक सुरुङ्ग) २५ सय ५७ मिटर, वर्किङ्ग अडिट एक सय २६ मिटर, क्रस प्यासेज एक सय २८ मिटर गरी कुल ५४ सय ९९ मिटर सुरुङमध्ये तीन हजार आठ सय ५९ दशमलव ३० मिटर अर्थात् ७० दशमलव २० प्रतिशत काम पूरा भएको आयोजनाले जनाएको छ ।

नेपालको सडक यातायातमा एउटा ऐतिहासिक विकासको रुपमा यो सुरुङमार्गलाई हेरिएको छ । यो मार्गमा एउटा फ्लाई ओभर पनि निर्माण भइरहेको छ । नेपालको सडकको इतिहासमा त्यो पनि पहिलो र नयाँ काम हो । उक्त फ्लाई ओभर काठमाडौंको बलम्बुमा मुख्य हाईवेमा क्रस गर्न धमाधम निर्माण भइरहेको छ । थानकोटबाट आउने गाडी सडकबाट कलंकी आउँछ भने सुरुङमार्गबाट आएका गाडी फ्लाई ओभरबाट कलंकीतर्फ र कलंकीबाट बाहिर जाने गाडीहरु फ्लाईओभरबाट टनेलर्फ लाग्नेछन् ।

नेपालको सडक विकासमा सुरुङ युगको नयाँ आयामको रुपमा थपिएको ‘नागढुंगा सुरुङमार्ग’को शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते गरेका थिए । तर सुरुङ खन्ने कामको सुरुवात भने शिलान्यास भएको झण्डै १४ महिनापछि अर्थात् २०७७ पुस ८ गतेबाट थालिएको थियो । त्यसअघि सुरुङ खन्नका लागि तयार पार्नुपर्ने पूर्वाधारका लागि धेरै समय खर्च गर्नुपरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया