Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअर्थतन्त्रका समस्या पहिचान गर्दै छु : अर्थमन्त्री पौडेल

अर्थतन्त्रका समस्या पहिचान गर्दै छु : अर्थमन्त्री पौडेल


काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार अहिले अर्थतन्त्रका समस्या पहिचानकै क्रममा रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले बुधबार राजधानीमा आयोजना गरेको ‘अर्थतन्त्र : अबको बाटो’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले अर्थतन्त्रलाई सूक्ष्म ढंगले हेरेर समस्या पहिचानकै क्रममा आफू रहेको उल्लेख गरे ।

‘समस्या कसरी देखियो भन्ने प्रश्नको जवाफ नखोजीकन हामी यसलाई समाधान गर्न सक्दैनौँ । त्यसकारण म सार्थक र निर्णायक समाधान खोज्ने क्रममा छु’, उनले भने । यसअघि समेत नेपालले ठूला–ठूला समस्या भोगेको भए पनि अर्थतन्त्रमा अहिलेजस्तो संकुचन नदेखिएको उनको भनाइ थियो । ‘नेपालले यसअघि धेरै प्रहार सहन गरेको छ । भूकम्पको प्रहारलगत्तै नाकाबन्दीको प्रहार नेपालले भोगेको छ । कोभिड महामारीका बेला पनि अर्थतन्त्र जेनतेन धान्यो’, उनले भने, ‘अहिले कोभिड, भूकम्प, नाकाबन्दी छैन । तर हामी आर्थिकरूपमा चिन्ताजनक अवस्थामा कसरी पुगियो भन्ने जबर्जस्त प्रश्न देखिएको छ ।’ भूकम्प र नाकाबन्दीमा समेत धेरै नखुम्चिएको नेपालको अर्थतन्त्र अहिले के कारणले धर्मराएको हो भनेर समस्या पहिचान भइरहेको र छिट्टै समाधानको उपाय खोज्ने उनले बताए ।

अहिले सरकारको राजस्व परिचालन र पुँजीगत खर्च चिन्ताजनक अवस्थामा रहेको बताउँदै उनले करको दायरा बढाउने, कर प्रशासन चुस्त बनाउने र खपत बढाउनका लागि सरकारले काम गर्ने जानकारी दिए । त्यस्तै, पुँजीगत खर्चलाई कसरी बढाउन सकिन्छ भनी सरकारले काम गरिरहेको उनको भनाइ थियो । नयाँ सरकार बनेपछि मन्त्रिपरिषद्को पहिलो बैठकबाटै सार्वजनिक खर्च कटौतीको निर्णय गरेको उल्लेख गर्दै उनले मितव्ययी र आर्थिक अनुशासन पालनाका लागि सरकार प्रतिबद्ध रहेको समेत बताए । त्यस्तै सरकारले निजी क्षेत्रसँग वैरभाव राख्ने नभई आत्मविश्वास बढाएर अघि बढ्ने नीति लिएको जानकारी दिए । निजी क्षेत्रले पनि सरकारका समस्या बुझिदिनुपर्ने उनको भनाइ थियो ।

सोही कार्यक्रममा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्र पटक–पटक दुर्घटना हुनबाट बचेको बताए । ‘पछिल्ला वर्षमा नेपालको अर्थतन्त्र पटक–पटक क्रास हुनबाट बचेको छ । सफल ल्यान्डिङ गर्न नसक्दा ओभरसुट गरेको हवाइजहाजको जस्तो अवस्था नेपालको अर्थतन्त्रले भोगिरहेको छ । यसलाई अब ट्र्याकमा ल्याउन क्रेनले तान्नुपर्ने अवस्था आएको छ’, उनले भने । नेपालको वित्तीय नीति र मौद्रिक नीतिको सन्तुलनबाट अर्थतन्त्रलाई सही दिशामा ल्याउनु आवश्यक रहेको उनले बताए । त्यस्तै नेपालले विभिन्न वस्तुको आयातमा रोक लगाएर विदेशी मुद्राको सञ्चिति बढेको भनेर सन्तुष्ट हुनुपर्ने अवस्था नरहेको पनि पूर्वअर्थमन्त्री खतिवडाको भनाइ छ । ‘स्वदेशमा पुँजी निर्माण गर्ने वस्तुको आयात घटाएर विदेशी मुद्रा सञ्चिति बढाएको देखाउनुको कुनै अर्थ छैन । नेपालभित्रकै उत्पादन बढाउनका लागि पहल गर्न आवश्यक छ’, उनले भने । नेपालले विदेशी लगानी भित्र्याउनका लागि हेजिङसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र सार्वभौम साख मूल्यांकन (क्रेडिट रेटिङ) पनि गर्न आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले सन २०२३ मा विश्व अर्थतन्त्र अझै चुनौतीपूर्ण अवस्थाबाट गुज्रिने अनुमान भइरहेकाले नेपालले आफ्नो अर्थतन्त्र सुझबुझपूर्ण ढङ्गले व्यवस्थापन गर्नुपर्ने बताए । वित्तीय खाताको सन्तुलन कायम गर्न अहिलेको सरकारले मुख्य पहल गर्नुपर्ने उनको भनाइ छ । सरकारी राजस्वले चालू खर्च पनि मुस्किलले धान्नसक्ने अवस्था रहेको, पुँजीगत खर्च न्यून रहेको, सरकारी खर्च र सामाजिक सुरक्षाको दायित्व बढ्दै गएको पनि वाग्लेले बताए । ‘सरकारी कर्मचारी र सामाजिक सुरक्षाका कार्यक्रमबाट सिर्जित आर्थिक दायित्व ठूलो छ । सार्वजनिक संस्थानहरूको प्रभावकारिता देखिनसकेको छैन । खर्चमा मितव्ययिता हुन नसक्दा सरकारी राजस्वले चालू खर्च नै धान्न समस्या छ’, उनले भने । सार्वजनिक खर्च पुनरवलोकन आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले पहल गर्नुपर्ने पनि उनको सुझाव छ । त्यस्तै अर्थतन्त्रमा उत्पादन क्षेत्रको योगदान बढाएर रेमिट्यान्सको योगदान घटाउँदै जानुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रका समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्ने बताए । पछिल्लो समय अवैध व्यापार बढेका कारण भन्सार राजस्व घटेको, कृषि उत्पादन घटेको तथा कृषि कर्जाको प्रभावकारिता नदेखिएको मल्लको भनाइ छ । हस्तकलाका सामग्री ब्राण्डिङमा सहयोग गर्नुपर्ने, पर्यटन सेवालाई प्रवर्द्धन गर्ने, नेपाललाई सूचना प्रविधि क्षेत्रको हब बनाउन पहल गर्नसके अर्थतन्त्रका हालका समस्या समाधन गर्न सकिने र भविष्यको बाटो तय गर्नका लागि पनि सहज हुने मल्लले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया