Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधयुवा दिवस साताव्यापी रुपमा मनाइने

युवा दिवस साताव्यापी रुपमा मनाइने


काठमाडौं, साउन २१
राष्ट्रिय युवा परिषद्ले यस वर्षको अन्तरराष्ट्रिय युवा दिवस साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी देशभरि नै मनाउने तयारी गरेको छ ।
युवा नेतृत्व विकास गर्नका लागि साताव्यापी विभिन्न कार्यक्रम गरी दिवस मनाउन थालिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले जानकारी दिए । कोभिड–१९ का कारणले दिवसको मुख्य दिन भने भर्चुअल रुपमा संसारभरिका युवालाई समेट्ने गरी दिवस मनाइने उनले बताए । ‘विश्व अभियानका लागि युवा सहभागिता ः रोजगारी प्रवर्द्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने मूल नाराका साथ यही साउन २८ गते दिवस मनाउन थालिएको छ ।

दिवस मनाउनका लागि युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको संयोजकत्वमा २०१ सदस्यीय मूल समारोह समिति र परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेलको संयोजकत्वमा नौ सदस्यीय सचिवालय गठन गरिएको छ । दिवसका दिन हुने कार्यक्रममा संयुक्त राष्ट्र संघका प्रतिनिधि एवं चीन भारत, श्रीलंका तथा बङ्गलादेश युवा संस्थाका पदाधिकारीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको परिषद्का सूचना अधिकारी ध्रुवराज पौडेलले बताए । दिवसकै दिन ‘दिगो विकासका लक्ष्य र युवा’ विषय तथा ‘युवा राजनीति र रोजगारी’ विषयमा युवा नेतृत्वसँग संवाद कार्यक्रम राखिएको छ ।

यस्तै सोही दिन राष्ट्रिय कलाकारले सांस्कृतिक कार्यक्रमसमेत गर्ने छन् । दिवसका अवसरमा साउन २३ गते निबन्ध लेखन प्रतियोगिता, २४ गते रक्तदान (चाबहिल र कलंकी) र वृक्षरोपण ( सूर्यविनायक), २५ गते भिजन प्रतियोगिता, २६ गते भोजन सेवा कार्यक्रम (चाँगुनारायण) र कोभिड–१९ लक्षित स्वयंसेवकलाई अभिमुखीकरण कार्यक्रम राखिएको परिषद्का सूचना अधिकारी पौडेलले जानकारी दिए ।

राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपालको कुल जनसंख्यामध्ये ४०.३ प्रतिशत युवा छन् । युवाका विषय सम्बोधन गर्ने हेतुले राष्ट्र संघले सन् १९९९ देखि हरेक वर्ष अगष्ट १२ (यस वर्ष साउन २८) लाई अन्तरराष्ट्रिय युवा दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सोही घोषणासँगै युवासम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरी सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवस मनाउन थालिएको हो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया