Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसगरमाथामा हिउँले पुरिएका शवहरू देखिन थाल्यो

सगरमाथामा हिउँले पुरिएका शवहरू देखिन थाल्यो


सोलुखुम्बु । सोलुखुम्बुमा अवस्थित विश्वको सर्वोच्च शिखर सगरमाथा हिमालमा हिउँ पग्लिन थालेसँगै आरोहीहरूको शव देखिन थालेको छ । जनवायु परिवर्तनका कारण हिमालमा निरन्तर हिउँ पग्लिन थालेसँगै आरोहणको क्रममा ज्यान गुमाएकाहरूको शव बाहिर देखिन थालेको हो ।

सगरमाथा आरोहण सुरु भएयता तीन सयभन्दा धेरै आरोहीले सगरमाथामा ज्यान गुमाएका छन् । ज्यान गुमाएकामध्ये झण्डै दुई तिहाइको शव सगरमाथामै रहेको जानकारहरू बताउँछन् । बरफ र हिउँमा पुरिएका शव पछिल्लो समय हिउँ पग्लिने क्रम बढेसँगै सतहमा देखिन थालेको कीर्तिमानी आरोही सानु शेर्पाले बताए । उनले भने, ‘जुनसुकै बेला विपत्ति आउनसक्ने हिमालमा अरुको शव देख्दा मनमा डर पैदा हुन्छ, हिमालको काम त्यतिकै जोखिमपूर्ण छ अझ त्यसमाथि आँखैअघि लासहरू देखिँदा मनोबल कमजोर हुने रहेछ, सकेसम्म ती लासहरूलाई हटाएदेखि धेरै राम्रो हुने थियो ।’ झण्डै दुई दशकदेखि हिमाल आरोहण गर्दै आएका उनले पछिल्ला वर्षमा हिउँ पग्लिएसँगै शव देखिन थालेको बताए । यस्तै अर्का आरोही नरबहादुर अस्थानी मगरले पनि सगरमाथा आरोहण गर्दा धेरै शव देखेको बताए । उनका अनुसार चिनियाँ मोहोडातर्फका धेरै शव हटाइएको भए पनि नेपालतर्फ शव भने हिउँमै छन् । अघिल्लो वर्ष शव नदेखेको ठाउँमा पनि अर्को वर्ष हिउँ पग्लिएर शव देखिने गरेको आरोहीहरू बताउँछन् ।

यस्ता शव खुम्बु आइसफलदेखि माथि बाल्कोनीसम्म पनि देखिने गरेको बताइएको छ । चौथो शिविर र आसपासमा धेरै शव रहेका छन् । खुम्बु हिमनदी चलायमान हुँदा त्यहाँ पनि शव देखिएका छन् । सगरमाथा सरसफाइ अभियान सञ्चालन गरी केही शव आधार शिविरमा ल्याएका आरोही एवं अभियानकर्मी पीके शेर्पाले महँगो पर्ने भएकैले धेरै शव उतै रोकिएका बताए । केही आरोहीहरूले भने हिमालमा ज्यान गएमा शव त्यतै छोड्नु भनेको भन्दै आफन्तले शव ल्याउन अस्वीकार गर्ने गरेको बताएका छन् । नेपाली सेनामार्फत सञ्चालन भएको सरकारको हिमाल सफाइ अभियानअन्तर्गत केही शवको उद्धार भएको छ । तर अझै धेरै शव हिमालमै छन् । सरकारले चाहेमा शव खोज्न र तल झार्न सक्ने जनशक्ति नेपालमा रहेकोले हिमालमा रहेकामध्ये धेरैजसो शवहरू तल ल्याउन सम्भव पनि रहेको आरोहीहरू बताउँछन् । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया