Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधराष्ट्रपति रनिङ शिल्डको उपाधि हनुमन्तेश्वर माविलाई

राष्ट्रपति रनिङ शिल्डको उपाधि हनुमन्तेश्वर माविलाई


दोलखा । बैतेश्वर गाउँपालिकाको आयोजना तथा हनुमन्तेश्वर माध्यमिक विद्यालयको व्यवस्थापनमा सञ्चालन भएको तेस्रो गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि हनुमन्तेश्वर माविले नै जितेको छ । बिहीबारदेखि शनिबारसम्म आयोजना भएको उक्त कार्यक्रममा नौवटा माध्यमिक विद्यालयहरुको सहभागिता थियो ।

हनुमन्तेश्वर माविले लगातार तेस्रो वर्ष पनि प्रथम भई राष्ट्रपति कपको सिल्ड हात पारेको हो । हनुमन्तेश्वरले १२ स्वर्ण, दुई रजत तथा चार कांस्य गरी १८ पदक जितेको छ । त्यसैगरी १५ पदक जित्दै कालिढुङ्गा माध्यमिक विद्यालय दोस्रो भयो । कालिढुङ्गाले तीन स्वर्ण, छ रजत तथा छ कांस्य जितेको छ । त्यस्तै सनराइज एकेडेमीले तीन स्वर्ण, दुई रजत तथा तीन कांस्यसहित आठ पदक जितेर तेस्रो भएको छ भने क्षत्रवती माध्यमिक विद्यालयले नौ पदक ल्याउँदै चौथो भयो । विष्णु माध्यमिक विद्यालय छ पदकसहित छैटौँ र जनज्योति माध्यमिक विद्यालयले चार पदकसहित सातौँ भयो । यसैगरी जलदेवी माध्यमिक विद्यालयले तीन, कालिका माध्यमिक विद्यालय दुई र बैतेश्वर माध्यमिक विद्यालयले एक पदक प्राप्त गरे ।

तेस्रो राष्ट्रपति कपमा सफल हुने विद्यालयहरु हनुमन्तेश्वर मावि, कालिढुंगा मावि र सनराइज एकेडेमीलाई बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले क्रमशः १३ हजार, नौ हजार र सात हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्रले पुरस्कृत गरेका थिए । कार्यक्रममा उनले गाउँपालिकाले आगामी वर्षहरुमा पनि खेलकुद क्षेत्रको विकासको लागि सहयोग गर्ने बताए । जिल्लाका अन्य स्थानीयतहले पनि यस वर्षको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु गरेका छन् । भीमेश्वर नगरपालिका, तामाकोशी गाउँपालिका र मेलुङ गाउँपालिकामा शनिबार एकैसाथ राष्ट्रपति कपको उद्घाटन गरिएको छ । गौरीशंकर गाउँपालिकामा माघ ९ गतेदेखि खेल सुरु हुनेछ भने जिरी र शैलुङले राष्ट्रपति रनिङ सिल्डको मिति घोषणा गर्न बाकी रहेको जिल्ला खेलकुद संघले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया