Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपर्यटनमा भुटानबाट सिक्नुपर्ने कुरा

पर्यटनमा भुटानबाट सिक्नुपर्ने कुरा


निनाम कुलुड. ‘मंगले’
हुन त अहिले नेपाल, भुटान, भारत आदि देशमा मात्रै नभएर विश्वका प्रायः सबै देश अर्थात् विश्वभरिकै पर्यटन उद्योग मूर्दाशान्तिको अवस्थामा छ । पनि यहाँ सार्क देश भुटानको पर्यटन उद्योग र भुटान सरकारको पर्यटन नीतिबारे छोटकरीमा केही लेख्दै छु ।

भुटानको कुरो गर्दा जनसंख्या र भूगोल दुवै आधारमा नेपालभन्दा धेरै सानो देश हो । तर सानो देश भए पनि भुटानबाट हामीले पर्यटन प्रवर्द्धनका सन्दर्भमा भने धेरै कुरा सिक्नुपर्ने देखिन्छ । नेपालजस्तै हिमाली र भू–परिवेष्ठित देश हो, भुटान । निश्चय नै भूगोल र जनसंख्याको आधारमा भुटान नेपालभन्दा धेरै सानो भए पनि के–कसरी धेरैभन्दा धेरै गुणस्तरीय विदेशी पर्यटक भित्र्याउन सकिन्छ ? त्यसका लागि के–कस्तो खालको पर्यटन नीति, नियम, ऐन, कानुन आदि बनाउन उपयुक्त हुन्छ ? भन्ने सन्दर्भमा भन्ने हो भने नेपालले भुटानबाट धेरै नै सिक्न सक्छ । किनभने, हाल भुटान र नेपाल सरकारको पर्यटनसम्बन्धी सरकारी नीति, नियम, ऐन, कानुनहरूमा आकाश–जमीनको फरक देखिन्छ ।

किनभने भुटान सरकारले आफ्नो देशमा केवल विदेशी पर्यटकको संख्या बढाउनकै लागि भनेर जसलाई पायो, त्यसलाई (विदेशी पर्यटक नै भए पनि) पर्यटक मानेर आफ्नो देशमा ह्वारह्वार्ती प्रवेश गराउँदैन । यसरी हेर्दा भुटान सरकारले नेपाल सरकारले जस्तो गुणस्तर नहेरी जस्तो पायो त्यस्तो विदेशी पर्यटकलाई आफ्नो देशमा प्रवेशाज्ञा दिँदैन । यसले के देखाउँछ भने, भुटान सरकारको ध्यान आफ्नो देशमा आउने विदशी पर्यटकको संख्या थोरै नै होस्, तर, ती विदेशी पर्यटक गुणस्तरीय (धेरैभन्दा धेरै खर्च गर्न सक्ने लक्जरी÷डिलक्स) नै होस्, भन्नेमा निक्कै ध्यान दिएको देखिन्छ ।

हुन पनि भुटान सरकाको मातहतमा रहेको पर्यटनसम्बन्धी सरकारी निकाय टुरिज्म काउन्सिल अफ भुटान (टीसीबी)ले प्रकाशित गरेको भुटान सरकारको पर्यटनसम्बन्धी नीति तथा कार्यक्रम हेर्ने हो भने के प्रस्ट हुन्छ भने कनै पनि विदेशी पर्यटकले भुटान छिर्नेबित्तिकै प्रतिव्यक्ति दैनिक दुई सय अमेरिकी डलर खर्च गर्नै पर्छ ।

अझ भुटानको विभिन्न क्षेत्रको भ्रमण गर्न ट्रेकिङ, साइट सिन, जंगल सफारी, कल्चरल टुर, साइक्लिङ, बर्ड वाचिङ आदिका लागि अफ सिजन र पिक सिजन गरेर दुई सिजनमा विभाजन गरेर पर्यटकलाई भुटान सरकारको आधिकारिक निकाय टीसीबीले प्रतिव्यक्ति प्रतिदिन खर्चको सीमा तोकिदिएको छ । जस्तो कि अफ सिजनमा भुटान घुम्न चाहने विदेशी पर्यटकले (जनवरी, फेब्रअरी, जुन, जुलाई, अगष्ट र डिसेम्बर) मा प्रतिव्यक्ति प्रतिदिन दुई सय अमेरिकी डलरमा प्याकेज बुक गर्नु पर्छ भने, पिक सिजनमा भुटान भ्रमण गर्न चाहने विदेशी पर्यटकले (मार्च, अप्रिल, मे, सेप्टेम्बर, अक्टोम्बर र नोभेम्बर) प्रतिव्यक्ति प्रतिदिन दुई सय ५० अमेरिकी डलरमा बुक गर्नु पर्छ । त्यो पनि पर्यटकहरू भुटानमा रहँदा तीन तारे होटलमा बस्ने हो भने ।

अन्यथा चार तारे वा पाँच तारे होटलमा बस्ने हो भने त्यस्ता पर्यटकले अतिरिक्त प्रिमियम तिर्नु पर्ने भनी टीसीबीले आफ्नो ‘कोड अफ कन्डक्ट’मै उल्लेख गरेको छ । यसरी भुटान भ्रमणमा आउने विदेशी पर्यटक कम्तीमा तीन जना हुनैपर्ने नियम पनि राखेको छ, भुटान सरकारले । त्यसो त भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यकटबाट लिने दैनिक दुई सय र दुई सय पचास अमेरिकी डलर (सिजन अनुसार)मध्ये ६५ अमेरिकी डलर ‘दिगो विकासका लागि पर्यटन’ कार्यक्रमका लागि सरकारले ट्रेकिङ/ट्राभल अपरेटरहरूबाट कटौती गर्छ । सो रकम निःशुल्क शिक्षा, निःशुल्क स्वस्थ्य, गरिबी निवारण, ग्रामीण विकासका लागि भवन निर्माण आदिमा खर्च हुन्छ ।

हुन त भुटान भ्रमणमा आउने विदेशी पर्यटकले प्रतिव्यक्ति प्रतिदिन दुई सय र दुई सय ५० अमेरिकी डलर (सिजनअनुसार) तिरेपछि उनीहरूको खान्तेपिन्तेको खर्चसमेत भुटान रहुञ्जेल (व्यक्तिगत आवश्यकताबाहेक) ट्रेकिङ/ट्राभल कम्पनीले व्यहोर्छ । त्यस्तै भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यटकका लागि विभिन्न सहुलियत र छुटहरू पनि दिएको देखिन्छ ।

जस्तो कि पाँच वर्षभन्दा कम उमेरको लालाबाला भए भिसा चार्ज ४० अमेरिकी डलर मात्रै बाँकी सम्पूर्ण खर्च निःशुल्क, पाँचदेखि १२ वर्ष उमेर समूहको केटाकेटी भए डेली प्याकेजमा ५० प्रतिशत छुट, विद्यालय/विश्वविद्यालयको आधिकारिक र प्रमाणित विद्यार्थी परिचयपत्र भएको र उमेर २५ वर्षसम्म भएको भए डेली प्याकेजमा २५ प्रतिशत छुट, ११ जनाको समूह भए डेली प्याकेजमा एकजनालाई ५० प्रतिशत छुट, १६ जनाभन्दा माथिको समूह भए डेली प्याकेजमा एकजनालाई सत प्रतिशत छुट, आठ रातभन्दा बढी बिताएमा त्यस्ता पर्यटकलाई रोयल्टीमा ५० प्रतिशत छुट, १४ रातभन्दा बढी बिताएमा त्यस्ता पर्यटकलाई सत प्रतिशत रोयल्टी छुट आदिको व्यवस्था गरेको देखिन्छ ।

उता भुटान भ्रमणमा आउने विदेशी पर्यटकमध्ये ५८ दशमलव ७६ प्रतिशत ट्राभल/टुर अपरेटरमार्फत बुक भएर आउने गरेको देखिन्छ भने भुटान आएका पर्यटकमध्ये ८३ दशमलव ८४ प्रतिशतको उद्देश्य बिदा मनाउने रहेको देखिन्छ । तर, भुटान आउने पर्यटकको बसाइ भने कम अर्थात् प्रतिदिन प्रतिपर्यटक ६ दशमलव ३५ दिन मात्रै बस्ने गरेको देखिन्छ भने उनीहरू नेपाललगायत अन्य देशमा जस्तो बिनागाइड आफूखुशी हिँंड्न/डुल्न पाउँदैनन् ।

हुन त नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले गर्ने दैनिक खर्चको सीमा तोकिएको र बिनागाइड हिँड्न पाईँदैन भन्ने सुन्नेबित्तिकै कतिपय विदेशी पर्यटकहरू एयरपोर्टबाटै फर्कन्थे होलान् । अझै पनि अधिकांश विदेशी पर्यटकले नेपालको पर्यटन नीति के हो, कस्तो छ ? केही नबुझीकनै आइरहेको अवस्था छ ।

यसो हुनुमा विदेशी पर्यटकहरू दोस्रो, तेस्रो देश हुँदै÷घुम्दै नेपाल प्रवेश गर्ने गरेका छन् । जे होस्, एउटा रोचक कुरो के छ भने, भुटान जाने विदेशी पर्यटकमध्ये २५–२८ देखि ३५–३९ प्रतिशत नेपाल भएर जानेहरू छन् । जस्तो सन् २०१३ मा भुटान भ्रमणमा गएका कुल एक लाख ६० हजार विदेशी पर्यटकमध्ये ३४ हजार नेपाल भएर गएका थिए भने सन् २०१४ मा भुटान गएका कुल एकलाख ३० हजार पर्यटकमध्ये ३९ हजार विदेशी पर्यटक नेपाल भएर गएका थिए ।

त्यस्तै सन् २०१८ मा २ लाख ७४ हजार ७९ जना विदेशी पर्यटकले भुटान भ्रमण गरेको देखिन्छ । जुन सन् २०१७ को भन्दा ७ दशमलव ६१ प्रतिशतले बढी हो । स्मरणीय छ, सन् २०१७ मा २ लाख ५४ हजार ७ सय ४ जना विदेशी पर्यटकले भुटान भ्रमण गरेका थिए ।

अन्त्यमा, भुटान सरकाको मातहतमा रहेको पर्यटनसम्बन्धी सरकारी निकाय ‘टुरिज्म काउन्सिल अफ भुटान’ (टीसीबी)ले प्रकाशित गरेको (आफ्नो वेबसाइटमा राखेको) आधिकारिक र प्रामाणिक भुटानी ट्रेकिङ/गाइडहरूको सूची हेर्दा संयोगले दुई जना डाक्टरहरू (उनीहरू बिरामी जाँच्ने मेडिकल डाक्टर नभएर सायद विद्यावारिधि गरेका विषयगत डाक्टरहरू होलान्) डाक्टर कर्मा वाङचुक र डाक्टर नोर्बु वाङचुक पनि छन् ।

त्यस्तै उक्त सूचीमा नेपाली मूलका गाइडहरूको नामसूची पनि लामै देखिन्छ भने केही हदसम्म महिलाहरूको पनि ठीकठीकैको सूची देखिन्छ । खासगरी यो पङ्क्तिकारलाई भुटानी गाइडहरूको नामसूची सम्बन्धमा किन पनि उल्लेख गर्न मन लाग्यो भने, नेपालमा ट्रेकिङ/टुर गाइडहरूको मान सम्मान र इज्जत भरियाको जत्ति पनि छैन भन्दा फरक नपर्ला ।

हुन त नेपालमा को लाइसेन्सवाला गाइड ? को बिना लाइसेन्सको गाइड ? नियमन गर्ने आधिकारिक निकाय नै छैन कहिलेकाहीँ एमाले निकट मजदुर संगठन युनिट्राभलले कतैकतै गाइडहरूको लाइसेन्स चेक गर्ने गरेको देखिए पनि लाइसेन्सवाला गाइडहरू कतिपय अवस्थामा चेक गर्ने ठाउँमा आफ्नो लाइसेन्स अरुलाई देखाउन दिएर आफू बाध्यतावश भरिया भएर हिँंड्नुपर्ने (आफ्नो लाइसेन्स अरुले नै आफ्नो लाइसेन्स हो भनी देखाएर हिँंड्ने गरेको) दुरुह अवस्था पनि नेपालमा विद्यमान छ ।

त्यसो त कतिपय लाइसेन्सवाला ट्रेकिङ गाइडहरूमा पनि मानवीय कमी कमजोरीहरू छन् नै । जे होस्, विगतदेखि नै नेपालका टुर/ट्रेकिङ गाइडहरूको आर्थिक अवस्था कमजोर नै छ । किनभने, नेपालमा मौसमीरूपमा मात्रै ट्रेकिङ/टुरमा काम पाइन्छ, दोस्रो भनेको हाम्रो देश नेपालमा दैनिक ज्याला पनि धेरै कम तोकिएको छ ।

खासमा नेपालका ट्रेकिङ/टुर कम्पनीहरू र टुर/ट्रेकिङ गाइडहरूलाई उनीहरूले तालिम गर्दा पाएको ग्रेड, विषयगत ज्ञान, भाषागत ज्ञान, वरिष्ठता र क्लाइन्ट वा भनौँ गेस्टको कमेन्ट र रिकमेण्ड गरेको आधारमा तलब, भत्ता र दैनिक ज्यालामा कम्पनीले वृद्धि गर्नु/दिनुपर्ने भनी नेपाल सरकारले निर्देशन दिनुपर्ने/तोक्नुपर्ने देखिन्छ । त्यसो गर्नसके नेपालका नेपाली ट्रेकिङ/टुर गाइडहरू पनि अन्तर्राष्ट्रियस्तरको बन्न सक्छन् । अहिले त कस्तोसम्म देखिन्छ भने, केही ट्रेकिङ/टुर कम्पनीहरूबाहेक अधिकांश टुर/ट्रेकिङ कम्पनीहरूले एक जना बाटो देखेको मान्छेलाई भरियामा पठायो अनि आफन्त र नाता–गोतालाईचाहिँ गाइड बनाएर पठाउने नराम्रो प्रचलन पनि धेरै अघिदेखि चल्दै आएको छ ।

यस्तो भएपछि साँचो अर्थमा नेपालको भूगोल, नेपाली जनताका जीवनस्तर, नेपालका हिमाल, नेपालका जातजाति, भाषाभाषी, धार्मिक समूह, जैविक विविधता, वनजंगल, खोलानाला, जडीबुटी, सरिसृप, उभयचर, जलचर आदिका बारे बुझ्न चाहने विदेशी पर्यटकहरूले कमभन्दा कम जानकारी पाउँछ । अरु त अरु आफू बास बसेको ठाउँमा बिहान कति बजे घाम झुल्कन्छ ? बेलुकी कति बजे अस्ताउँछ ? आफ्नो आँखैअगाडिको हिमालको नाम के हो ? भन्नेसमेत थाहा नभएकाहरू पनि ट्रेकिङ गाइड बनेर/भएर गएको यो पङ्क्तिकार स्वयम्ले धेरै ठाउँमा, धेरै पटक देखेको/भेटेको छ ।

जे–जस्तो भए पनि नेपालमा पनि भविष्य (लकडाउन खुलेपछि वा भनौं कोरोना भाइरस नियन्त्रणमा आएपछि) मा भुटानलगायतका देशहरूमा झैँ गर्वका साथ डाक्टरहरू समेतले टुर/ट्रेकिङ गाइड गरेर खान सकून्/बाँच्न सकून्, अहिलेलाई यही कामना ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया