Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगधरमरमा रहेको पर्यटनलाई चिनियाँ पर्यटकले टेवा देलान् ?

धरमरमा रहेको पर्यटनलाई चिनियाँ पर्यटकले टेवा देलान् ?


काठमाडौं । हालको अवस्थामा नेपालमा मात्रै नभएर विश्वभरि नै पर्यटन क्षेत्र धरमरमा रहेको अवस्था हो । तथापि पनि सन् २०२२ लागेपछि अबचाहिँ पर्यटनले लय समातेको हो कि त ? भन्ने देखिएको छ । किनभने, सन् २०१९ को डिसेम्बर महिनाको अन्त्यमा फैलिएको कोरोना महामारीसँगै विश्व पर्यटन लगभग ठप्प भएको अवस्था थियो ।

तर, हालै चीनको पर्यटनसम्बन्धी अध्ययन गर्ने स्कुलर/संस्था चाइना आउटबाउन्ड टुरिज्म रिसर्च इन्स्टिच्युट (कोट्री)मा आएको एक समाचारअनुसार चीनले आफ्नो देशका केही एयरलाइन्सहरूलाई अमेरिका, इटली, दक्षिण अफ्रिका, फिलिपिन्स, फ्रान्स, हंगेरी, इन्डोनेसिया, जापान, भियतनाम, सिंगापुर, क्यानडा, न्युजिल्यान्ड, अष्ट्रेलिया आदि देशमा कोरोना महामारीका कारण रोकिएको हवाइ उडानलाई पुनः उडान अनुमति दिने निर्यण गरेको छ । सोअनुसार एयर चाइनाले चीनको राजधानी बेइजिङबाट जोहानेसबर्ग, चोङ्किङबाट बुडापेस्ट, हो चिमिन्ह, बेइजिङबाट सिंगापुर अनि हान्झाऊबाट रोम उडान सुरु गर्नेछ । त्यस्तै चाइना साउदर्न एयरलाइन्सले ग्वाङझाउबाट न्युयोर्क, रोम र जकार्ता उडान सुरु गर्नेछ ।

चाइना इस्टर्नले शाङ्घाइबाट टोरन्टो, फ्रान्कफर्ट, पेरिस, अकल्यान्ड, सिड्नी, न्युयोर्क उडान सुरु गर्दै छ । यी तीनवटै एयरलाईन्सहरू चीनमा रहेका धेरै प्यासेन्जरहरूलाई सेवा दिने र विश्वका धेरै सहरमा उडान गर्ने एयरलाइन्स कम्पनीमा गनिन्छन् । यसरी चीनजस्तो व्यक्तिगत स्वतन्त्रता, वाक स्वतन्त्रता, मानवअधिकार र प्रजातन्त्र नभएको भनिएको देशले समेत आफ्नो देशका एयरलाइन्सलाई अमेरिका, इटली, दक्षिण अफ्रिका, फिलिपिन्स, फ्रान्स, हंगेरी, इन्डोनेसिया, जापान, भियतनाम, सिंगापुर, क्यानडा, न्युजिल्यान्ड, अष्ट्रेलिया आदि देशहरूमा कोरोना महामारीका कारण रोकिएको हवाइ उडानलाई पुनः अनुमति दिनु भनेको विश्वभरिका पर्यटन व्यवसायीहरूका लागि धेरै राम्रो समाचार हो । किनभने, चीन सरकारले हवाइ उडान गर्न दिने जुन निर्यण गरेको छ, त्यसले विश्व पर्यटनलाई बिस्तारै गतिमान बनाउनेछ, टेवा दिनेछ । सो समाचारले नेपालका पर्यटन व्यवसायीहरूलाई पनि केही न केही राहत दिने र खुसी मिल्नेछ ।

तर, अब हामीले गर्नुपर्ने काम भनेको चीनको धेरै जनसंख्या भएका सहरहरू जस्तैः १, शाङ्घाई । २, बेइजिङ । ३, ग्वाङझाउ । ४, सेनझेन । ५, चेङ्दु । ६, तियानचिन । ७, चोङकिङ । ८, नानजिङ । ९, वुहान । १०, सियान । ११ हान्झोऊ । १२, सेन्याङ । १३, डोङगुवान । १४ फोसुवान । १५, हार्बिन । १६, दालिन । १७, क्विङ्दाओ । १८, झेङ्झोउ । १९, चिनान । २०, चाङसा, कुनमिङ, चिलिन, ल्हासा, मकाउ, हङकङ आदि सहरबाट चीनको मुख्य एयरलाइन्सहरू जस्तैः एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न, हाइनान एयरलाइन्स, साङ्दोङ एयरलाइन्स, सिचुवान एयरलाइन्स, सेन्झेन एयरलाइन्स, साङ्घाई एयरलाइन्स, नाइन एयर आदिलाई नेपालमा सिधा उडान गर्न मनाउन सके अत्यधिक चिनियाँ पर्यटकहरू भित्रिने सम्भावन रहने थियो । यसका लागि नेपालकै पनि ‘नेपाल वायुसेवा निगम’, ‘हिमालय एयरलाइन्स’ आदिले पहल लिँदा राम्रै हुन्थ्यो कि ?

यसरी चीनजस्तो व्यक्तिगत स्वतन्त्रता, मानवअधिकार र प्रजातन्त्र नभएको (खासगरी पश्चिमा देश र अमेरिकाले भन्ने गरेको) भनिएको देशले समेत हालसालै आफ्नो देशका केही एयरलाइन्सहरूलाई अमेरिका, इटली, दक्षिण अफ्रिका, फिलिपिन्स, फ्रान्स, हंगेरी, इन्डोनेसिया, जापान, भियतनाम, सिंगापुर, क्यानडा, रुस, न्युजिल्यान्ड, अष्ट्रेलिया आदि देशमा उडान गर्ने अनुमति दिनुको अर्थ हो ‘आजको जस्तो सूचना, प्रविधि र विज्ञानले फड्को मारेको जमानामा कोरोना हामारीको नाममा धेरै दिन बन्द समाजमा रहेर बाँच्न सकिँदैन !’ त्यसैले कोरोना महामारीले पूर्णरूपमा विश्राम नलिँदै आफ्नो देशकोे केही मुख्य हवाइ कम्पनीहरूलाई उडान अनुमति दिने निर्णय गरेको हो ।

चीन सरकारको सो निर्यणले निश्चय पनि विश्व पर्यटनमा टेवा दिनेछ, विश्व पर्यटन गुल्जार हुनेछ भन्ने आशा गर्न सकिन्छ । किनभने, चीन सरकारको सो निर्यणसँगै चिनियाँ पर्यटकहरू पनि क्रमशः ठूलो संख्यामा विश्व भ्रमण गर्न निक्लने छन् भन्ने आशा गर्न सकिन्छ ।

त्यसैले अहिले नै हामीले पर्यटन क्षेत्रबाट धेरै ठूलो आशा नगरौँ । किनभने, धेरैअघि प्रायजसो पर्यटन विज्ञहरूले विश्व पर्यटन क्षेत्रको अवस्था सन् २०१९ अघिको अवस्थामा पुग्न अझै चार–पाँच वर्ष (सन् २०२४–०२५ सम्म) लाग्न सक्छ भनी सकेका छन् । तथापि पनि विगत दुई वर्षसम्म महामारीका रूपमा फैलिएको कोरोना महामारीले फेरि टाउका उठाएन भने विश्व पर्यटनले अब पछाडि फर्केर हेर्नुपर्ने छैन ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया