Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपर्यटनको पर्खाइमा अजिरकोट क्षेत्र

पर्यटनको पर्खाइमा अजिरकोट क्षेत्र


काठमाडौं । अजिरकोट गाउँपालिका नेपालको गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको उत्तर पश्चिम क्षेत्रमा अवस्थित छ । यसको क्षेत्रफल १९८.०५ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिका समुन्द्र सतहदेखि करिब तीन सय देखि आठ हजार मिटरसम्म रहेको छ । यस गाउँपालिका पाँच वडाहरू घ्याच्चोक, खरिबोट, हंसपुर, सिमजुङ र मुच्चोक मिलेर बनेको छ । गाउँपालिकाको कुल जनसंख्या पछिल्लो जनगणनाअनुसार १४ हजार आठ सय दुई रहेको छ । यसको राजनीतिक सिमाना पूर्वमा शुलीकोट गाउँपालिका, पश्चिममा लमजुङ जिल्ला, उत्तरमा चुमनुब्री गाउँपालिका र दक्षिणमा सिरानचोक गाउँपालिकासम्म रहेको छ ।

अजिरकोट दरौँदी नदीय पूर्वीपाटो र च्यावन (चेपे) नदीतर्फको पश्चिमी पाटोको ठीक मध्यविन्दु डाँडामा अवस्थित पौराणिक कालदेखि वर्तमानसम्मको ऐतिहासिक, सामाजिक, राजनीतिक, धार्मिक, भौगोलिक, सामरिक धरोहरको रूपमा प्रसिद्ध गढी/कोट हो । यहाँ को चेपे तथा दरौदी नदि धार्मिक, कृषि, सिँचाइ, जलविद्युत् आदिबाट महत्वपूर्ण छन् । चेपे नदीको सन्दर्भमा द्रव्य शाहले आफ्नो बाहुबल र गोरखाका भारदारहरूको सहायताबाट गोरखा राज्यको स्थापना गरेका थिए । यसबाट उनका दाजु नरहरि शाहलाई इर्ष्या भयो । उनले ‘भाइ द्रव्य शाहले मेरै सरदारको रूपमा गोरखा विजय गरेकाले गोरखामाथि लमजुङकै अधिकार हुन्छ’ भनी किचलो उठाए । द्रव्य शाह भने आफूले ठूलो कठिनाइका साथ स्थापना गरेको गोरखा राज्यलाई लमजुङमा गाभ्ने पक्षमा थिएनन् । यसबाट नरहरि शाह र द्रव्य शाहबीच विवाद बढ्यो र आपसमा ठूलो शत्रुता भयो । यसपछि लमजुङले द्रव्य शाहको हत्या गर्ने र गोरखामाथि आक्रमण गर्नेलगायतका योजनाहरू बनाई पटक–पटक प्रयास ग-यो तर उसलाई सफलता भएन । यसै विवादका कारण गोरखा र लमजुङबीच पछिसम्म पनि शत्रुता थियो । दुई भाइबीच झगडा भएपछि दुवै राजाकी आमाले दुधपोखरीमा पुगी चेपे नदीमा आफ्नो दुधको धारा बगाई दुई भाइलाई सीमा छुट्ट्याएको किंवदन्ती छ । यसै कारणले पनि चेपे नदीको ठूलो इतिहास छ ।

थोरै समथर टारहरू र अधिकांश पहाड हरियाली वातावरण र हावापानी रहेके जैविक विविधताले भरिपूर्ण यस गाउँपालिका हावापनीको दृष्टिले मात्र हैन सास्कृतिक दृष्टिले समेत सबै जातजाति वर्ग र समुदायका सयुक्त बसोबास रहेको छ । जसमा ब्राम्हण, क्षेत्री, अदिवासीहरू जसमा घले, शेर्पा, गुरुङको बसोबास रहेको छ । थोरै समथर टारहरू र अधिकांश पहाडी हरियाली वातावरण र हावापानी रहेको, जैविक विविधताले भरिपूर्ण यो अजिरकोट गाउँपालिका क्षेत्र हावापानीको दृष्टिले मात्र हैन ब्राम्हण, क्षेत्री, आदिवासीहरू घले, शेर्पा, गुरुङ्ग, तामाङ्ग, नेवार, दलितलगायतका जातजातिको संयुक्त बास रहेको यो भूमि ऐतिहासिक, धार्मिक, आयुर्वेदिक, सांस्कृतिक दृष्टिले समेत विवधता र सम्भावनाले भरिपूर्ण रहेको छ । अलैँची, यार्सागुम्बा, रथविरथ, पाँचऔँले, जटामसी, कुड्की, सदुवा, निरमसीजस्ता औषधिजन्य जडीबुटी तथा बौद्ध र हिमचुली हिमाल, दुधपोखरी, नारदपोखरी, नागेपोखरी, निम्चेपोखरी, नागेमाढी, तविमाढी, मितु माढी, सप्रो माढी, नार्गोमाढीलगायतका विशाल माढीहरू छन् । यी माडीहरूबाट तराईको मनोहर दृश्य अवलोकन गर्न सकिन्छ । दरौदी र चेपेजस्ता ऐतिहासिक महत्व बोकेका नदीहरू छन् । डिहीटार, बुधसिंहटार, नौविसेटार, पोखराटार र मुच्चोकटारलगायतका यस गाउँपालिका क्षेत्रभित्रका प्राकृतिक सम्पदाले प्राकृतिक भरिपूर्ण अजिरकोट गाउँपालिका हो ।

गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा पर्ने अजिरकोट एक पर्यटकीय, ऐतिहासिक एवं धार्मिक तथा सांस्कृतिक धरोहरको रूपमा रहेको छ । गोरखा जिल्लामा प्राचिन ३९ कोटहरू छन् त्यसमध्ये अजिरकोट एक हो । तल्लो मनास्लु कोट मार्गमा पर्ने अजिरकोट भच्चेक, नम्की, सिरानडाँडा, चित्रे, दमाहपातल, नागेक्षेत्र, माडिक्षेत्र, दुधपोखरी, नारदपोखरी, मनास्लु हिमालको मनोहर दृश्यको अवलोकन गर्न सकिन्छ । कोटमार्गको लिगलिगकोट, सिरानचोककोट, अजिरकोट, सिम्जुङकोट र अपुनकोट प्रसिद्ध छन् । गोर्खा जिल्लाको अजिरकोटमा रहेको पुरानो कालिका मन्दिरको संरचना हटाई पूनः सुन्दर मन्दिर निर्माण गरिएको छ । सो मन्दिर त्यस क्षेत्रको पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । बाईसे चौबीसे राज्यको समयमा अजिरगणको रूपमा रहेको सो स्थान हाल अजिरकोट नामबाट प्रसिद्ध छ । पर्यटीकय दृष्टिकोणबाट निकै सम्भावना बोकेको सो क्षेत्रबाट हिमचुली, बौद्ध, अन्नपूर्ण, गणेश हिमाल, चेपे नदी, दरौदी र अन्य कयौँ मनोहर दृश्य अवलोकन गर्न सकिन्छ ।

यस क्षेत्र पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेको क्षेत्र हो । यो मार्गबाट दुधपोखरी र नारदपोखरी तथा मनास्लु हिमशृङ्खला जान सकिन्छ । दुधपोखरी, सिरानडाँडा, दोबाटो, ठूलोखर्क, निम्चेपोखरी, जम्ल्याहा खोला, गल्छी, राम्दीको चौतारा, धुपीखोला, मपुरमाडी, तुईखर्क, बाङ्गे रह, खहरेको उकालो र धर्म गौडा भएर पुग्न सकिन्छ । नारदपोखरी पनि सिरानडाँडाबाट दोबाटो, पौनडाँडा, नाजीखर्क, नागेपोखरी, डिलको ओडार, तपिडाँडा, सिरानखोला, मार्कसेमाडी, पौखोला, चिलिमखरे ओडार, बौलाखोला, चरममाडी हँदै पुग्न सकिन्छ । दुधपोखरी र नारदपोखरीमा जनैपूर्णिमा मा धार्मिक मेला लाग्ने गर्दछ । दुधपोखरी र नारदपोखरी माथिसम्म पनि भेडाखर्क देखिन्छ । हिमाली क्षेत्र जडिबुटीको खानी हो । यस क्षेत्रमा सतुवा, वनलसुन, पाँचआँले, नीरमसी, जटामसी, भुतकेश, यार्सागम्बा, पाखनभेद, रथविरथ, हर्राे, बर्राे, जुर्गाे, लेमनग्रास, तिते, अँलैची, कुरिलो, बोजो, कम्मरी लहरा, हात्तीपाइलेजस्ता अनगिन्ती जडीबुटी पाइन्छ । वनस्पतिमा गुराँस, चिमल, चाँप, धुपी, भोजपत्र आदि पाइन्छ । फलफूलमा भुँइचुत्रो, भोटेचुत्रो, भक्याम्लो, काफल, मेल, नाल्चे आदि फलफूल पाइन्छ ।

तरकारीमा निउरो, टुसा, कन्य च्याउ, खोचे, वनलसुन, साग, सिस्नो, खोलसाग, जेठीसाग, ठोट्ने, मुलापात आदि पाइन्छन् । जीवजन्तुमा काँडे भ्याकुर, मृग, हिम चितुवा, कस्तुरी, थार, बाघ, ब्वाँसो, हिमाली खैरो भालु, भालु, बाँदर, फ्याउरो, दुम्सी, वनविरालो, मुनाल, डाँफे, कालिज, ल्याचे, वनकुखुरा आदि पाइन्छन् ।

अजिरकोट क्षेत्रको मार्गबाट हरियाली, माडी, पोखरी, खर्कका भेडीगोठ र हिमाली दृष्यको सौन्दर्यले जोकोही पनि मुग्ध हुनु स्वभाविक नै हो । अजिरकोटबाट मनास्लु, हिमालचुली, बौद्धनाथ, मनासलु उत्तर, रउला हिमाल, श्रृङ्गी हिमाल आदि साथै नागवेली आकारमा चेपे र दरौँदी खोला तथा हरियो वनको मनमोहक दृश्य देख्न सकिन्छ । राष्ट्रिय संस्कृतिको स्वरूप लिन यहाँको लोकसांस्कृतिक एकतामा समाहित भएर अजिरकोट क्षेत्रले नेपाली माटोको सुगन्ध बोकेर परम्परा बचाएको पाइन्छ र आफ्नै मौलिक जातीय पहिचानमा मौलाएको पाइन्छ । हिमाली भेगको जातीय पहिचानमा सिर्जिएका गुरुङ समाजका घाँटु, सोरठी, मारुनी, स्यार्गा, छ्याँडु, ठाडो–भाका, रोदी, तामाङ समाजमा प्रचलित सेलो, टुङ्ना, ब्रामहण–क्षेत्री समाजमा चर्चित बालन, भजन–चुड्का, तीज, माहल आदि प्रचलित दोहोरी, झ्याउरे, सरस्वती नाच, पञ्चैबाजा नाच र प्रायः सबै जातजातिमा प्रसिद्ध देउसी–भैलो आदि प्रसिद्ध नाचगानले यस समाजको पृष्ठभूमिमा सिर्जित लोक संस्कृतिले मुख्य स्थान लिएको पाइन्छ । यस्तै बहु–रीतिरिवाज, चालचलन, रहनसहन, भेष–भूषा, बोलीवचन, साहिनो–अभिवादन, धर्मकर्म, लोकपरम्परा, कला–कौशल, लोकसाहित्य र तिनको दैनिक उपभोग्य सामानको प्रयोगमा माझिएको ग्रामीण जीवनशैली यहाँका जनताको आफ्नै निजी सम्पति हुन् ।

नेपालमा धार्मिक तथा ऐतिहासिक पर्यटनको सम्भावना अत्यन्त छ । छिमेकी मुलुक भारतमा एक अर्ब ४० करोड मानिस संस्कृति, भाषा, धार्मिक परम्परा एकैनासको रहेका छ । करिब ७९ प्रतिशत जनता हिन्दु धर्मावलम्वी छन् । भारतले धार्मिक पर्यटनको लागि चारधामको व्यवस्था गरेको जस्तै नेपालमा पनि सो व्यवस्थापन गर्न जरुरी छ । प्रत्येक वर्ष नेपालको कुल व्यापारघाटाको ६० प्रतिशत अंश भारतसँग रहने गरेको छ । यो व्यापारघाटा कम गर्न नेपालमा धार्मिक पर्यटन बढाई आयआर्जन गर्न अजिरकोट गोरखाजस्ता नयाँ–नयाँ धार्मिकस्थलको पहिचान र विकास गरी आकर्षण र आस्थाको केन्द्र बनाउन जरुरी छ ।

नेपाल प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भएपनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमिले सोचेअनुसार पर्यटकहरूको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवं पर्यटकीयस्थल हुँदा छुट्टै पनि सो स्थानको पर्यटकीय विकास हुन सकेको छैन । यसबाट प्रस्ट हुन्छ कि उत्कृष्ट पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण अजिरकोट क्षेत्र आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा पर्यटकको आगमनमा वृद्धि हुन सक्नेछ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र संवर्द्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्नु अहिलेको समयको माग हो ।

दुःखको कुरा अहिले विश्वव्यापी तापमान वृद्धिलगायत विभिन्न कारणले लामो समयदेखि कृषि क्षेत्रमा लागेर पुस्तौँ पुस्ता गाउँमै बसेकाहरू गाउँ छोड्न बाध्य छन् । वातावरणमा आएको परिवर्तनका कारण कतिपय फलफूूल तथा अन्नबाली उत्पादन हुन छाडेका छन् । कृषि पेसाबाटै जीवन धानेकालाई यसले ठूलो असर पारेको छ । यसका कारण धेरैजसो युवा गाउँ छोड्न बाध्य भई वैदेशिक रोजगार तथा तराई झर्न बाध्य छन् । यसले कयौँ गाउँ खाली भएको छ । गाउँमै बस्न खोज्नेका अन्नबाली जनशक्ति अभाव तथा जंगली जनावर आएर अन्नबाली नष्ट भएको छ । सो कारण किसान रुनु न हाँस्नु अवस्थामा पुगेका छन् । पानी, बिजुली, यातायात, शिक्षा तथा स्वास्थ्य सेवाजस्ता आधारभूत आवश्यकता गाउँमा पुगिसकेको छ तैपनि विभिन्न कारणले गाउँ छोड्न पर्ने बाध्यता छ । त्यसकारण स्थानीय सरकारले विभिन्न योजनाहरू बनाई गाउँ छोड्नपर्ने बाध्यतालाई तुरुन्त रोक्नपर्ने समयको माग हो ।

अतः नेपालको समग्र आम्दानीमा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सिर्जना गर्न र समग्र नेपालको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्वपूर्ण माध्यम हुनसक्छ । देशभित्र रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक देखिन्छ । स्थानीय सरकारले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ । अतः पर्यटनको माध्यमबाट काम वा रोजगारी सिर्जना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै देश भित्रका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ । साथै देशभित्र ट्रेकिङ स्थलको विकास गर्नु आवश्यक छ । जसले स्थानीयस्तरमा रोजगारी सिर्जना भई वैदेशिक मुद्रा आर्जनबाट जिविकोपार्जनमा ठूलो टेवा पुग्नेछ । समुदायमा आधारित प्राकृतिक धरोहरको प्रयोग गरी सामुदायिक विकासका कार्यहरू सञ्चालन गर्न सकिन्छ । जसले देश विकासमा जनसहभागिता जुटाउने कार्य गरी नमूनाको रूपमा विकास गर्न सकिन्छ ।

यातायातको विकाससँगसँगै धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटनको विकास गर्न सकिन्छ । हाम्रो देशभित्र अजिरकोटजस्ता हजारौँ क्षेत्र मित्रराष्ट्र भारतको दार्जलिङ क्षेत्रभन्दा कयौँ गुणा सुन्दर र धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले भरिपूर्ण छन् । तर जस्तैः उदाहरणको रूपमा कस्तुरीसँग अमूल्य विना आफैसँग हुन्छ, त्यो कुरा उसलाई थाहा हुँदैन, त्यस्तै नेपालमा पनि अमूूल्य, मनोहर, प्राकृतिक, धार्मिक स्थानहरू रहेका छन् । त्यो नेपालीले विश्व बजारमा प्रचारप्रसार गर्न नसकेको अवस्था छ । अतः यस्ता क्षेत्रहरूको पहिचान गरी विश्वबजारमा प्रचारप्रसार गर्नसके पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर छ । सोको लागि विद्यमान नीति, कानुन र प्रक्रियाअनुरूप धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक पर्यटनलाई एक उद्योगको रूपमा विकास गरिनु आजको आवश्यकता हो । यसो भएमा मात्र यहाँका बासिन्दाको आर्थिक स्थितिमा दरिलो टेवा पुगी हाम्रो जन्मभूमि पनि समृद्ध हुने थियो । यसका लागि संघीय सरकारको समन्वयमा स्थानीय सरकारले महत्वपूर्ण भूमिका खेल्न आवश्यक छ । लेखकः डा. अधिकारी गुणस्तर जिवनमा विद्यावारिधि


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया