Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगआर्थिक सुधारको लागि बचत गर्ने कि लगानी ?

आर्थिक सुधारको लागि बचत गर्ने कि लगानी ?


काठमाडौं । हरेक मानिसको जीवन अर्थ अर्थात् पैसासँग जोडिएको हुन्छ जुन आफैँमा अनिवार्य र अपरिहार्य पनि हो तर समाजमा धेरै आदर्शका कुराहरू सुनिने गरे पनि आदर्शले मात्रै जीवन चन्दैन भन्ने कुरा घामजस्तै छर्लङ्ग छ । आजको पुँजीवादको युगमा मानिसको जीवन अर्थसँग जोडिनु स्वाभाविक हो किनकि बिहानदेखि रातिसम्म मानिसको जीवन आर्थिक क्रियाकलापमा जोडिन्छ तर कतिपय क्रियाकलापबाट थोरै अर्थोपार्जन हुन्छ भने कतिपय क्रियाकलापहरूबाट धेरै अर्थोपार्जन हुने गर्दछ । सहर या गाउँ, विकाशित वा अविकशित, पहुँच भएको वा नभएको, शिक्षित वा अशिक्षित, उँचो या निचो सबैसँग अर्थतन्त्र जोडिने गर्दछ तर यहाँनेर सवाल के हो भने व्यक्तिगत जीवनमा, पारिवारिक जीवनमा, सामाजिक जीवनमा र राष्ट्रिय जीवनमा समेत आर्थिक सुधार ल्याउन बचत गर्ने वा लगानी गर्ने भन्ने कुरामा बहस हुनु जरुरी छ । व्यक्तिगत जीवनका सबै कालखण्डहरूमा जन्मदै, हुर्कँदै गर्दा, शिक्षा आर्जन गर्दै गर्दा, परिवारिक जिम्मेवारीबोध गर्दैगर्दा गरिने सबै क्रियाकलापहरू अर्थसँग जोडिने गर्दछन् ।

लगानी वा बचतको सन्दर्भमा चर्चा गर्दै गर्दा मानिसको पेसालाई बुझनु जरुरी छ । किसानहरू कृषि पेसामा आबद्ध हुन्छन् भने मजदुरहरूले मजदुरी गर्ने गर्दछन् । सिकर्मी डकर्मी काठ र घर बनाउने काम गर्दछन्, चिकित्सकहरू मेडिकल क्षेत्रमा काम गर्ने गर्दछन् । पत्रकारहरू पत्रकारिता, लेखकहरू लेखनमा, शिक्षक तथा प्राध्यापकहरू अध्यापन क्षेत्रमा आबद्ध हुन्छन् ती सबैको क्रियाकलाप अर्थसँग जोडिएको हुन्छ । जब मानिसहरू आर्थिक क्रियाकलापसँग जोडिन्छन् तर उनीहरूसँग आर्थिक उर्पाजन र बचत हुने सम्भावना हुन्छ । लगानी र बचत एक–अर्कोसँग जोडिने भए पनि यी फरक–फरक कुराहरू हुन् ।

लगानी के हो भन्नुभन्दा पनि लगानी कुन–कुन क्षेत्रमा हुन्छ भन्ने कुरा बुझ्नु जरुरी छ । परिवारको सानो कुराबाट सुरूवात गर्ने हो भने सबैभन्दा पहिला मानिसका आधारभूत आवश्यकताहरू गाँस, बास र कपास, शिक्षा, स्वास्थ्य र सुरक्षामा जस्ता पक्षहरूमा गरिने खर्च नै लगानी हो जसले दीर्घकालमा प्रतिफल दिने गर्दछ तर नेपानी समाजको बुझाइमा त्यसलाई लगानीको रूपमा परिभाषित गरेको पाइँदैन । गृहणीले घरभित्र गर्ने काम आफैँमा लगानी भए पनि त्यसको प्रतिफल आएको देखिँदैन । नेपाली समाजको बुझाइमा देश व्यवसायमा गरिने लगानी, घरजग्गाको कारोबार, सेयरमा गरिने लगानीलाई मात्र लगानी भन्ने गरिन्छ त्यो त केबल लगानीको एउटा सानो अंश मात्रै हो । मानिसले गर्ने हरेक क्षेत्रमा हुने खर्च लगानी हो तर ती खर्चले प्रतिफल दिन सक्नु पर्दछ । मानिसको सभ्यताको विकाससँगै मानिसहरू विभिन्न क्रियाकलापहरूमा आबद्ध हुन थाले ।

कृषि मात्रै नभएर मानिसहरू विभिन्न पेसामा आबद्ध हुनुको साथै अन्य क्षेत्रमा समेत आबद्ध हुँदै गर्दा मानिसहरूले अर्थोपाजर्नसँग जोडिन थाले । जब वस्तु तथा सेवामा उत्पादन तथा खरिदबिक्री सुरु भएपछि लगानीको सुरूवात भएको हो । जबसम्म लागानीलाई अभिलेखीकरण गर्न सकिँदैन तबसम्म लगानीले प्रतिफल दिन सक्दैन । किसानले कृषि उपजको लागि मल, बीउ, कृषि, औषधि, औजार र शारीरिक परिश्रम लगानीको रूपमा परिचालन गर्ने गर्दछ । फसल उत्पादन भएपछि त्यसको खपत तथा त्यसको बिक्रीबाट हुने अम्दानी नै त्यसको प्रतिफल हो जब लगानीअनुसारको प्रतिफल आउँदैन तर त्यो क्षेत्रमा लगानी गर्नुको औचित्य छैन । लगानी गर्दा त्यसबाट के–कति प्रतिफल आउँछ भने कुरा ख्याल गर्नुपर्ने हुन्छ र लगानीको परिभाषालाई समेत फराकिलो बनाउँदै जानुपर्ने हुन्छ । हरेक क्षेत्रमा लगानी खर्च आफैँमा लगानी हो जुन पैसासँग मात्रै जोडिँदैन । भौतिक लगानी, शारीरिक लगानी, आर्थिक लगानी, बौद्धिक लगानी, मनोवैज्ञानिक लगानी, शैक्षिक लगानी, औद्योगिक लगानीलगायतका सबैखाले लगानहरूको प्रतिफल आउनु जरूरी छ जसले मानिसको समग्र विकासमा टेवा पु-याउन सक्छ । हरेक मानिसको जीवन अर्थतन्त्रसँग जोडिने तर ती सबै मानिसहरूको क्रियाकलाप आर्थिक लगानीसँग मात्रै नजोडिने कारणले गर्दा मानिसहरूको लगानीसम्बन्धी बुझाइमा फरकपना आउनु स्वाभाविक हो । लगानी आफैँमा खर्च हो जसबाट प्रतिफलको आश गरिन्छ तर ती लगानीबाट प्रतिफल आउन पनि सक्छ र नआउन पनि सक्छ ।

कुनै पनि क्षेत्रको आर्थिक समृद्धि हासिल गर्न, तीव्र औद्योगिकीकरणको माध्यमबाट तुलनात्मक लाभ र प्रतिस्पर्धी क्षमता भएका क्षेत्रहरूमा स्थानीय, स्वदेशी एवं विदेशी लगानी गर्नुपर्ने हुन्छ । आन्तरिक लगानी र बाह्य लगानीले मात्र प्रतिफल उन्मुख उपलब्ध स्रोत साधनहरूबीचको अन्तरलाई पूर्ति गर्नुपर्ने अवस्थामा ठूला परियोजनाहरूमा स्वदेशी तथा विदेशी लगानी परिचालन गर्नु आवश्यक छ । नेपाल सरकारले सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य र समृद्ध नेपाल, सुखी नेपालीको सोच हासिल गर्न पूर्वाधारयुक्त ठूला परियोजना र प्रविधिको क्षेत्रमा विकास गर्न लगानी परिचालन गर्नुपर्ने हुन्छ ।

लगानीसँग सम्बन्धित नीति, कानुन एवं संरचनामा समयानुुकूल परिमार्जन, सुविधासम्पन्न पुर्वाधार निर्माण प्रणालीगत सरलीकरण र लगानी सुरक्षाको प्रत्याभूति गरी लगानीमैत्री वातावरण सिर्जना गर्न सकेमा वैदेशिक लगानीकर्ताहरूको रोजाइमा देशलाई पार्न सकिन्छ । तर त्यो मात्रै उपयुक्त विकल्प भने होइन । स्वदेशी तथा विदेशी लगानी र प्रविधि हस्तान्तरणसम्बन्धी कानुनको समसामयिक परिमार्जन, बौद्धिक सम्पत्ति र ज्ञानमा आधारित उद्यमशीलतासम्बन्धी कानुनी व्यवस्था, लगानीका लागि योग्य परियोजना प्रोफाइल लगानीसम्बन्धी सूचना चुस्त दुरूस्तता, अनुमति, उद्योग व्यवसाय दर्ता, सञ्चालन, बहिर्गमन र लगानी तथा मुनाफाको रिपार्टीयसन सेवा सुविधा सरल र सहज प्रक्रियाबाट एकै स्थानबाट उपलब्ध गराउने र आवश्यक सहमति तथा सम्झौता समेत गर्नु आवश्यक हुन्छ ।

कुनै पनि क्षेत्रमा लगानीका प्रशस्त सम्भावना भए पनि लगानी कम आकर्षित हुनु, लगानीसम्बन्धी कानुनको समयसीमा परिमार्जन नहुनु, औद्योगिक पूर्वाधारको विकास कम हुनु, उद्योगहरू छरिएर रहँदा सुरक्षा सेवा, सुविद्या र सहुलियत उपलब्ध गराउन कठिनाइ हुनु, पर्याप्त दक्ष जनशक्तिको अभाव हुनु, उद्योग तथा बजार अनुसन्धान र विकास नहुनु, उद्योग र लगानीसम्बन्धी विषय धेरै निकायसँग सम्बन्धित हुँदा अन्तरनिकायगत र नीतिगत समन्वय हुन नसक्नु, अन्तर्राष्ट्रिय वित्त बजारमा पर्याप्त बजारीकरण गर्न नसकिनु र लगानीको सम्भावना भएका मुलुकसँग द्धिपक्षीय लगानी संरक्षण सम्झौता हुन नसक्नुजस्ता समस्याले लगानीमा जटिलता ल्याउन सक्दछ । त्यसैले यस्ता विषयहरूलाई सम्बोधन हुनु आवश्यक छ ।

लगानीको सन्दर्भमा तुलनात्मक लाभ र प्रतिपर्धी क्षमता भएका क्षेत्रमा लगानी योग्य आयोजना समावेश गरी आयोजना बैंक तयार गर्नु, विश्वव्यापीकरणसँगै अन्तर्राष्ट्रियस्तरमा आफ्नो आफ्नो प्रतिस्पर्धा बढाउनु, व्यापारलाई लगानीसँग आबद्ध गर्नु, परिवहन सुविधाको सीमित उपलब्धता हुनु, सूचना प्रविधिमा आएको तीव्र विकास र परिवर्तनसँगै अद्यावधिक हुनु, समयअनुकूल प्रविधिमा फड्को मार्नु बौद्धिक सम्पत्तिको संरक्षण र प्रवद्र्धन गर्नु, अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेगरी सुविधासम्पन्न प्रयोगशालाको निर्माण र एक्रिडेसन, आधुनिक र सुविधासम्पन्न पूर्वाधार विकास गर्नु, उदीयमान दुई ठूला अर्थतन्त्रमा आफ्नो बजार विस्तार गर्नु, दक्ष जनशक्ति उपलब्ध गराउनु, लगानीको लागि पुँजीको सुनिश्चितता हुनु, औद्योगिक श्रम सम्बन्धलाई व्यवस्थापन गर्नुपर्ने अवस्था छ भने अर्कोतर्फ प्रतिकूल वातावरणमा पनि लगानी गर्नुपर्ने आवश्यकता छ ।

लगानीको सन्दर्भमा राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको १५औँ योजनमा लगानी परिचालनमार्फत प्रतिस्पर्धी एवं गतिशील राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने सोच हरेक क्षेत्रमा वैदेशिक लगानीको आर्कषण र अभिवृद्धि गरी उत्पादन, उत्पादकत्व, प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने लक्ष्य राखिएको छ । त्यसैगरी, योजनाले नेपालमा हुने स्वदेशी तथा विदेशी लगानीलाई उच्च र दिगो विकास गर्ने, बाह्य लगानीको माध्यमबाट पुँजी, प्रविधि, प्राविधिक सीप तथा व्यवस्थापकीय कौशल भित्र्याउने र उपभोक्ता नआएमा प्राकृतिक स्रोतको उपयोग र पूर्वाधार विकास गर्ने उद्देश्य राखिएको छ भने सोच, लक्ष्य तथा उद्देश्यहरू पूरा गर्ने सन्दर्भमा वैदेशिक लगानी आर्षिक गर्न आवश्यक कानुनी संरचनागत र प्रक्रियागत सुधार र सरलीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्ने, तुलनात्मक लाभ, उत्पादनमूलक तथा रोजगारमूलक क्षेत्रमा लगानी आर्कषित गर्ने, स्थानीय स्रोत साधन र सीपको उपयोग तथा प्रादेशिक सन्तुलन कायम हुनेगरी प्रथामिकताका क्षेत्रमा वैदेशिक लगानी परिचालन गर्ने विदेशी लगानी परिचालनको लागि आर्थिक कूटनीतिलाई उपयोग गर्ने, लगानीको प्रवेश, अनुमति, सञ्चालन बहिर्गमन सम्मका सेवा र सुविधा सरल र सहज तरिकाले एकै स्थानबाट उपलब्ध गराउनेजस्ता रणनीतिहरू अवलम्बन गरिए पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा लगानीको अवस्था ज्युँको त्युँ रहेको छ ।

बचत आम्दानीबाट खर्च घटाएर आउने अंश हो । एकातिर बचत आफैंमा संरचित गरेर राखेको लागानी हो भने आर्केतिर बचत गर्नु आम्दानी गर्नु पनि हो । मानिसले परिस्थितिअनुसार बचत गर्न सिक्नुपर्दछ भने बतको नाममा शरीरलाई दर्बाद गराउनु पनि उपयुक्त होइन । बचत गर्ने सन्दर्भमा नेपाली समाजको प्रवृत्ति हेर्ने हो भने प्रतिफलविहीन क्षेत्रमा लगानी गर्ने, उपयोगविहीन संरचनाहरू निर्माण गर्ने, भविश्यको लागि, छोराछोरीको लागि भनेर खाईनखाई बचत गर्ने, पैसा जोगाउने नाममा खानपानमा ध्यान नदिने, स्वास्थ्यमा ख्याल नगर्ने र देखासिकी गर्ने प्रवृति बढ्दै गएको छ । जब समस्यामा काम लाग्दैन भने त्यस्तो बचतको कुनै अर्थ छैन त्यसैले बचत समय सन्दर्भ र परिस्थितिअनुसार गर्नुपर्दछ । पछिल्लो समयमा सहकारी संस्थाहरूमा रहेको बचतमा ठगी हुने क्रम बढेकोले यस्ता क्षेत्रहरूमा बचत नगर्नु नै उचित हुन्छ । मनिसले कुन समयमा कुन कुराको बचत गर्दा उपयुक्त हुने हो त्यसतर्फ ध्यान दिनु जरूरी छ ।

तथ्याङ्कगत रूपमा हेर्ने हो भने आर्थिक सर्वेक्षण आर्थिक वर्ष २०७८/२०७९अनुसार २०७७/२०७८ मा कुल गार्हस्थ्य उत्पादनसँग कुल गार्हस्थ्य बचतको अनुपात ७ दशमलव ७ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७८ २०७९ मा यस्तो अनुपात १ दशमलव ६ प्रतिशत विन्दुले वृद्धि भई ९ दशमलव ३ प्रतिशत हुने अनुमान छ । विगत दश वर्षको कुल गार्हस्थ्य उत्पादनसँग कुल गार्हस्थ्य बचतको अनुपात औसत ९ दशमलव ५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७८/२०७९ मा कुल गार्हस्थ्य उत्पादनसँग कुल राष्ट्रिय बचतको अनुपात ३२ दशमलव शून्य प्रतिशत रहने अनुमान छ । आर्थिक वर्ष २०७७/२०७८ मा यस्तो अनुपात ३३ दशमलव ३ प्रतिशत रहेको थियो । पछिल्लो दश वर्षमा कुल गार्हस्थ्य उत्पादनसँग कुल गार्हस्थ्य बचत र कुल राष्ट्रिय बचतको औसत अनुपात क्रमशः ९ दशमलव ५ प्रतिशत र ३६ दशमलव ८ प्रतिशत रहेको छ । खासगरी आर्थिक वर्ष २०७५/७६ पछि कुल राष्ट्रिय बचत घट्दो प्रवृतिमा देखिन्छ । तर लगानीतर्फ हेर्ने हो भने आर्थिक वर्ष २०७६/२०७७ मा कुल लगानी २५ दशमलव ९ प्रतिशतले संकुचन भएकोमा पछिल्लो दुई वर्षमा यस्तो लगानी बढेको छ । आर्थिक वर्ष २०७७/२०७८ मा २९ प्रतिशतले वृद्धि भएको यस्तो लगानी चालू आर्थिक वर्षमा १८ दशमलव १ प्रतिशतले वृद्धि भई १८ खर्ब सात अर्ब २९ करोड पुग्ने अनुमान छ । आर्थिक वर्ष २०७७/२०७८ मा कुल गार्हस्थ्य उत्पादनसँग कुल लगानीको अनुपात ३५ दशमलव ८ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७८/२०७९ मा यस्तो अनुपातमा वृद्धि भई ३७ दशमलव ३ प्रतिशत पुग्ने अनुमान छ ।

आर्थिक वर्ष २०७८/२०७९ मा कुल गार्हस्थ्य उत्पादनसँग कुल स्थिर पँुजी निर्माणको अनुपात आर्थिक वर्ष आर्थिक वर्ष २०७६/२०७७ को २९ दशमलव ९ प्रतिशतबाट घटेर २९ दशमलव ४ प्रतिशत रहने अनुमान छ । विगत १० वर्षको कुल गार्हस्थ्य उत्पादनसँग कुल लगानी र स्थिर पुँजी निर्माणको औसत अनुपात क्रमशः ३४ दशमलव २ प्रतिशत र २९ दशमलव ३ प्रतिशत रहेको छ । निष्कर्षमा, आर्थिक सुधारको लागि बचत र लगानी दुवै आवश्यक छ तर बचत र लगानी समय, सन्दर्भ र परिस्थितिअनुसार गर्नुपर्ने हुन्छ । आर्थिक सुधार बचतले मात्रै हुने पनि होइन भने लगानीले मात्रै हुने पनि होइन । डाँडापाखामा ठूला–ठूला घरहरू बनाउँदै लगानी गर्दैमा आर्थिक सुधार आउँदैन । लगानी गर्दा प्रतिफल आउँछ वा आउँदैन भन्ने कुरा बुझ्नु जरुरी छ भने अर्कोतर्फ लगानी बचत गर्दा कस्तो क्षेत्रको केको लागि बचत गर्ने हो, त्यो सान्दर्भिक तथा परिस्थितिअनुकूल छ वा छैन भन्ने कुरामा ध्यान दिनु जरुरी छ । बचत, लगानी र आर्थिक उन्नतिको सन्दर्भमा परिवारका हरेक सदस्य, समाजका हरेक परिवार राष्ट्रका सबै नागरिक र राज्यले समेत सोच्ने समय आएको छ । सबै चनाखो हुनु आवश्यक छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया