Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगआर्थिक समृद्धिमा पुष्प व्यवसाय

आर्थिक समृद्धिमा पुष्प व्यवसाय


काठमाडौं । नेपालमा व्यावसायिक पुष्प खेतीको इतिहास लामो छैन । यसरी अढाइ दशकयता नेपाली कृषकले पनि व्यावसायिक पुष्पखेती गरेर आम्दानीको स्रोत बनाउन थालेका छन् । फलतः देशमा पुष्पको खेती विसं. २०११ सालतिर नेपालमा पहिलो पटक नेपाल प्राइभेट नर्सरीको स्थापना भएको थियो । त्यसबेला लाजिम्पाटमा तरीभाई महर्जनले सुरु गरेको उक्त नर्सरीबाट नेपालमा पुष्पको खेती र व्यापार सुरु भएको मानिन्छ । पछिल्लो १० वर्षयता नेपालका बासिन्दामा पुष्पप्रति आर्कषण बढ्दै गएको छ । यसरी एउटै आयातकर्ताले वार्षिक डेढ करोड मूल्यबराबरको बीउ र बेर्ना आयात गर्न थालेका नेपालमा पुष्पको इतिहास करिब ६८ वर्ष पुरानो छ । मूलतः देशमा कम्तीमा पाँच सय प्रजातिका पुष्पको व्यावसायिक खेती हुनेगरेको छ । जुन पुष्प उत्पादक तथा व्यवसायीको छाता संगठन फ्लोरिकल्चर एसोसिएसनले उपभोक्ताको मागअनुसार वर्षेनी थप प्रजातिका पुष्पको व्यावसायिक उत्पादन गरिँदै आएको जनाएको छ । यसर्थ राष्ट्रिय तथ्यांक विभागले आर्थिक वर्ष २०७२/०७३ मा गरेको पुष्प खेतीसम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार नेपालको पाँच जिल्ला भक्तपुर, मोरङ, कास्की, ललितपुर, काठमाडौंमा सबैभन्दा बढी पुष्पखेती हुन्छ । यसर्थ नेपाल सरकारको कृषि तथा पशुपन्छी गणना तथा सर्वेक्षण शाखाका अनुसार काठमाडौंमा दुई सय ८३, ललितपुरमा ४०, मोरङमा २३, कास्कीमा २२ र भक्तपुरमा २० वटा व्यावसायिक फार्मबाट पुष्प उत्पादन हुँदै आएको छन् ।

हाम्रो देशको कुरा गर्दा पुष्पले घर सजाउन चाहने पारखीहरूका लागि मेला तथा प्रदर्शनीले महत्वपूर्ण सहयोग पुगेको सम्बन्धित क्षेत्रका विज्ञहरूको भनाइ रहेको पाइन्छ । यसको खेतीको विस्तार पनि क्रमशः बढ्दै गएको छ । अतः पुष्पखेतीलाई हेर्ने हो भने देशको ४८ जिल्लामा लगभग सात सय ५० पुष्प व्यवसाय विस्तार भइसकेको छ भने एक सय ७५ हेक्टर क्षेत्रफलमा गरिएको अनुमान छ । यसले ४३ हजार पाँच सयभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी उपलब्ध गराएको जनाइएको छ । यो आर्थिक वर्षमा करिब तीन अर्ब रुपैयाँको पुष्पको कारोबार हुने अनुमान एसोसिएसनको छ । नेपाली बजारलाई ढाकिरहेको भारतीय फूललाई प्रतिस्थापन गर्ने हो भने वार्षिक १० अर्बको कारोबार हुने देखिए पनि सरकारी बेवास्ताले नेपाली पुष्प व्यवसायी खुम्चिनु परेको छ । मुलुक अझै पनि पुष्पमा आत्मनिर्भर हुन सकेको छैन । मुलुकलाई पुष्पमा आत्मनिर्भर बनाउँदै छिमेकी मुलुकमा निर्यात गर्न सक्षम बनाउन पुष्प व्यापार मेला आयोजना बेला बेलामा गरिएको हो । यसमा राष्ट्रिय तथ्यांक विभागले नेपालमा सबै प्रकारका पुष्प र बीउ गरी वार्षिक ६७ अर्बको कारोबार हुने जानकारी दिएको छ । फ्यानले भने वार्षिक दुई अर्ब २५ करोड २४ लाख रुपैयाँबराबरको मात्रै कारोबार हुनेगरेको जनाएको छ ।

यसै सिलसिलामा मुलुकमा वार्षिक १० देखि १२ करोड रुपैयाँको पुष्पको बीउ आयात हुन्छ । यसरी नै व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार अघिल्लो आर्थिक वर्ष ११ करोडको बीउ, बेर्ना, माउ बोट र पुष्प आयात भएको थियो । यसको साथै मालाका लागि उत्पादन हुने सयपत्रीको बीउ सीमित परिमाणमा नेपालमा उत्पादन भए पनि गार्डेन जातको सयपत्रीको बीउ भने आयात हुनेगरेको छ । अहिले पनि भारतीय फूलले नेपालमा ७० प्रतिशत बजार ओगटेको अवस्था छ । यसको अर्थ नेपाली पुष्प व्यवसायी आत्मनिर्भर छैनौँ भन्ने बुझिन्छ । जुन भारतबाट फूल आयात नै नगर्ने भन्ने होइन । जुन स्वदेशमा पनि फूलको लागि मल, बीउ, औजार ल्याउने हो तर खुला सिमानाको फाइदा उठाउन दिनु हुँदैन भन्ने हो । नेपाल सरकारले नेपाली पुष्प व्यवसायीलाई सहयोग गर्न कन्जुस्याइँ गर्दा वार्षिक अर्बौँ रुपैयाँ फूल खरिदका नाममा विदेशिने गरेको तथ्यांक छ ।

हाम्रो देशको कुरा गर्ने हो भने पुष्पखेतीले यहाँको माग धान्दैन । आर्थिक वर्ष २०७४/०७५ मा ११ करोड रुपैयाँबराबरको पुष्प तथा पुष्पका वस्तु आयात भयो । यसमा निर्यात दुई करोड ३७ लाख रुपैयाँ मात्र भयो । गत आर्थिक वर्षको तथ्यांकलाई आधार मान्दा दुई अर्ब रुपैयाँभन्दा बढीको पुष्प नेपालमै उत्पादन हुँदोरहेछ । यसर्थ बढी माग हुने समयमा खास प्रकारको पुष्प आयात हुन्छ । फलतः तिहारमा सयपत्री, भ्यालेन्टाइन डेमा गुलाव, सरस्वती पूजामा कमलजस्ता पुष्पको माग बढी हुन्छ र आयात हुन्छ । यसका लागि उन्नत बीउ प्रायः आयातमै निर्भर छ । यसर्थ बढ्दो मागले व्यवसायको सम्भावना पनि बढाएको छ । यसमा आर्थिक वर्ष २०७४/०७५ मा दुई अर्ब २५ दशमलव २४ करोडभन्दा बढीको कारोबार भएको थियो भने २ दशमलव ३७ करोडबराबरको पुष्प निर्यात गरिएको थियो । सोही वर्ष ११ करोडबराबरको पुष्प तथा पुष्पजन्य वस्तुको आयात भएकोे छ । यसरी पुष्प व्यवसायको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशत छ । विगत २२ वर्षदेखि यही सिजनमा हरेक वर्ष फ्लोरीकल्चर एसोसिएसन नेपालको अगुवाइमा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाको सहयोगमा पुष्प मेला आयोजना हुँदै आएको थियो ।

समग्रमा भन्नुपर्दा फ्लोरिकल्चर एसोसिएसन नेपालले स्थापनाकालदेखि नै आइपरेका विभिन्न चुनौती तथा समस्याहरूलाई चिर्दै सम्भावनालाई खोज्दै पुष्प व्यवसायको समग्र विकास, विस्तार तथा प्रवर्द्धन गर्न लागिपरेको एसोसिएसनका अध्यक्षले उल्लेख गरे । यस व्यवसायको सम्भावना धेरै भएर पनि पुष्प उत्पादनको क्षेत्रफल भने साह्रै थोरै छ । यसरी उत्पादनको उन्नत प्रविधिमा ज्ञानको कमी छ । यसमा पनि पुष्प बढी माग हुने सहरी क्षेत्रमा जमिन पाउन कठिन छ । तसर्थ यसमा पनि भण्डारणको समस्या छ । यसरी कृषकले सरकारबाट प्राप्त गर्ने ऋण, अनुदानलगायतको प्रक्रिया पनि धेरै झन्झटिलो छ । तसर्थ पुष्प व्यवसाय जोखिमपूर्ण पनि छ । यसमा निश्चित समयमा उत्पादन गरेर बजार पु-याउनु पनि धेरै कठिन छ ।

हाम्रो देशमा करिब साढे छ दशकबाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय काठमाडौंमा मात्र केन्द्रीकृत नभएर धनगढी, पोखरा, नारायणघाट, हेटौँडा, बुटवल, विराटनगर, धरान, झापालगायतका सहरहरूमा फैलिँदो स्थितिमा रहेको एकातिर छ भने नेपाली पुष्पको बजार अमेरिका र जापानमा समेत लोकप्रिय र माग क्रमशः वृद्धि हुँदै गएको छ । यो खेती निरन्तर रूपमा बढ्दै गए पनि पुष्पखेतीको स्थान छनोट र मौसमअनुसारको निर्यातलाई प्रवर्द्धन गर्न सकेमा नेपली पुष्प युरोप र अमेरिका मात्र नभई खाडी मुलुकहरूमा पनि निर्यात गर्न सकिने प्रबल सम्भावना रहेको छ । त्यस्तै गरी जापान र अमेरिकामा मौसमी पुष्प, आलङ्कारिक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरीलगायतका पुष्प निर्यात हुँदै आएका छन् । देशमा खेर गइरहेको बाँझो जग्गालाई उपयोगमा लिन सकिने र कम लगानीमा धेरै आम्दानी लिन सकिने भएकाले पनि नेपाली पुष्प खेती र व्यवसायको लोकप्रियता बढ्दै गएको छ । यसमा सरकारले अलिकति प्राथमिकता दिने हो भने हामी आफ्नै उत्पादनबाट स्वदेशी बजारको मागलाई पूरा गर्न सकिन्छ ।

यसरी १५ वर्षअघि नेपालको फूलको माग पूर्ति गर्न कुल मागको ८० प्रतिशत आयात गर्नुपर्ने अवस्था थियो, तर अहिले २० प्रतिशत मात्र आयात गरे पुग्ने अवस्था छ, हाल देशमा छिमेकी देश भारत तथा अन्य देशबाट कुल पुष्पको मागको २० प्रतिशत आयात हुनेगरेको छ भने हाम्रो देशको उत्पादनले भने ८० प्रतिशतको मागलाई मात्र धानेको छ । यसरी फूलमा आयात प्रतिस्थापनाको मात्रै होइन निर्यातको पर्याप्त सम्भावना पनि रहेको छ । अन्त्यमा के भन्न सकिन्छ भने उत्पादनमा आधुनिक प्रविधि र व्यवसायीलाई तालिमका लागि सरकारी निकायकले कार्य गर्नसक्ने हो भने पुष्प व्यवसाय स्वरोजगारी, रोजगारी र आम्दानीको राम्रो स्रोत हुनेछ । यसबाट हाम्रो देशले आयात गर्दा हुने ठूलो धनराशि बचत हुने कुरामा कसैको पनि दुईमत नहोला ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया