वीरगञ्जमा नक्कली सुर्ती उत्पादनमा वृद्धि
वीरगञ्ज, पुस १८
सूर्य नेपाल प्रालि, बारा, सिमराबाट उत्पादित चुरोटको नाममा नक्कली सूर्य, पाइलट, खुकुरी, शिखर चुरोट जनकपुर, रौतहट र बारापछि अहिले पर्सामा पनि भेटिन थालेको छ । जनकपुरबाट सुरू भएको नक्कली चुरोटको बिक्री वितरण रौतहट, बारापछि पर्सामा पनि सुरू भएको स्रोतले जनाएको छ । जनकपुर, रौतहट र बारामा सूर्य नेपालको उत्पादन पाइलट, खुकुरी, शिखरको नक्कली चुरोट फेला परेको थियो भने वीरगञ्ज महानगरपालिकामा नक्कली सूर्य चुरोट नै फेला परेको छ ।
जनकपुरमा सूर्य नेपालबाट उत्पादित चुरोटको माग घटेपछि सूर्य नेपालले यसबारे सोधखोज गर्दा नक्कली चुरोट सीमावर्ती क्षेत्रमा भेटिएको तथ्य फेला पारेको थियो । नेपाली सूर्य चुरोटको जस्तै नाम भएको ‘रेड सूर्य’ भन्दै अवैध चुरोट बिक्री गरिरहेको अवस्थामा एक जनालाई प्रहरीले बुधबार वीरगञ्जमा पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति पसलमा काम गर्ने कामदार रहेको र आन्तरिक राजस्व कार्यालयले थालेको अनुगमनको क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ । आन्तरिक राजस्व कार्यालय पर्साले अनुसन्धानको क्रम चलिरहेको भन्दै पक्राउ पर्नेको नाम खुलाउन चाहेन ।
वीरगञ्ज–१५ नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको पश्चिमपट्टि सञ्चालित अफिया जेनरल स्टोरबाट नक्कली चुरोट बिक्री गर्न राखिएको अवस्थामा बरामद भएपछि पसलमा काम गर्ने युवकलाई संयुक्त अनुगमन टोलीले पक्राउ गरेको आन्तरिक राजस्व कार्यालय पर्साका प्रमुख कर अधिकृत सुनीलकुमार यादवले बताए । कार्यालयले सो पसलका सञ्चालकलाई पनि तीन दिनभित्र हाजिर हुने गरी पत्राचार गरेको कर अधिकृत नेत्र घिमिरेले जानकारी गराएका छन् ।
नक्कली सूर्य चुरोटको प्रत्येक खिल्लीमा लेखिएको ‘सूर्य’ अक्षर तुलनात्मकरूपमा ठूलो हुनुका साथै फिल्टरमा रहेको डट मार्क कम रहेको, अन्तःशुल्कको स्टिकर नरहेको र लोगोसमेत फरक परेको पाइएकोले सूर्यको नक्कली चुरोट हो भन्ने पुष्टि भएको आन्तरिक राजस्व कार्यालय सिमराका प्रमुख कर अधिकृत तुलसीप्रसाद चौलागाईंले स्पष्ट पारे । नेपाली बजारमा भित्रिएको अवैध चुरोट तथा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नियमितरूपमा अनुगमन गरी त्यस्ता व्यवसायीलाई अनुसन्धानको दायरामा ल्याइने आन्तरिक राजस्व कार्यालय वीरगञ्जले जनाएको छ । बजारमा नक्कली सूर्य चुरोटको बिगबिगी भएको खबर पैmलिएपछि आन्तरिक राजस्व सिमरा र वीरगञ्जको संयुक्त टोलीले अनुगमनलाई तीव्रता दिएको छ ।
भारत, मोतीहारी, मुजफ्फरपुरमा रहेका साना चुरोट उद्योगहरूले सूर्य नेपालमा उत्पादित चुरोटहरूको नक्कली उत्पादन सीमावर्ती बजारमा पठाउने गरेको पाइएको छ । हालसम्म दशौँ करोड रूपैयाँको नक्कली चुरोट नेपाल भित्रिसकेको र सोमध्ये थोरै मात्र बरामद गर्न सकिएको छ । सूर्य नेपालले यस सम्बन्धमा सीमावर्ती क्षेत्रका प्रहरी प्रशासन र भन्सारलाई निगरानी बढाउन आग्रह गरेको सूर्य नेपालका बजार व्यवस्थापक केशव प्रधानले बताए । वीरगञ्जमा सूर्य नेपालको उत्पादन सूर्य चुरोट बिक्रेताको बक्साबाटै बिक्री भइरहेको तथ्य पनि खुलेको छ । वीरगञ्जमा भएका बिक्रेताले नक्कली चुरोट बिक्री गरिरहेको सन्दर्भमा सूर्य नेपालले छानबिन सुरू गरेको छ । सूर्य नेपालका बजार व्यवस्थापक प्रधानले नक्कली चुरोट भित्रिनेक्रम जारी रहेको र सो नरोके राजस्वमा असर पर्ने बताए । सूर्य नेपाल, नेपालका दश ठूला करदातामध्ये एक हो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
- उद्योग व्यवसाय फस्टाउन सकेमात्र श्रमिक अधिकार स्थापित हुन्छ
- लेखापालहरुका किसिम किसिमका नियम !
- बालबालिकाका लागि वैशाख ३१ मा ‘बृहत खोज र खोप अभियान’
- श्रमिक दिवस: हरवाचरवालगायत कृषि मजदुरका समस्या समाधानका लागि आग्रह
- उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू
- नारायणगढ–बुटवल सडक: पाँच वर्षमा पचास प्रतिशत काम पूरा
- श्रमिक दिवसको अवसरमा अध्यक्ष ओलीद्वारा शुभकामना व्यक्त
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया