Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिभिल बैंकद्वारा नगदरहित अभियानको शुभारम्भ

सिभिल बैंकद्वारा नगदरहित अभियानको शुभारम्भ


काठमाडौं ।
‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले नगदरहित अभियानको थालनी गरेको छ । बैंकले सिन्धुलीको सिन्धुली माडीमा आयोजित एक कार्यक्रमबाट सो अभियानको थालनी गरेको हो । प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टेम्पुको भाडा, कमलामाई मन्दिरमा भेटी तथा जुनार खरिदको मूल्य सबै क्यूआर कोडमार्फत भुक्तानी गरी उक्त अभियानको उद्घाटन गरेका हुुन् । सिन्धुली क्षेत्रमा चल्ने ७४ वटा टेम्पु (तीनपाङ्ग्रे सवारी) तथा ३४ वटा अन्य विभिन्न व्यापारीहरूलाई क्यूआर कोड वितरण गरिएको बैंकले जानकारी दिएको छ ।

सो कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी, कार्यकारी निर्देशक भूवन कँडेल, नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय जनकपुरका प्रमुख निर्देशक दुर्गेशगोपाल श्रेष्ठ, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल, डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख भोलाबहादुर विष्ट, वाग्मति प्रदेशका प्रमुख सुरज दाहाल, कमलामाई नगरपालिका मेयर खड्ग खत्री, उ.वा. संघ सिन्धुलीका वरिष्ठ उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, टेम्पु यातायात व्यवसायीहरूलगायत सो क्षेत्रका राजनीतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले हाल विद्यमान कोरोनाको महामारीमा आफूलाई जोगाउन मात्र नभई नोट छपाइ गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसाथ गर्न पनि नगदरहित अभियान अपरिहार्य कुरा भएको बताए । साथै नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्यूआर कोडलाई सर्वव्यापीरूपमा लैजानुपर्ने पनि बताए ।

सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलले आफ्नो स्वागत मन्तव्यमा क्यूआर कोड प्रविधिको प्रक्रिया तथा प्रभावकारिताका बारेमा प्रस्ट्याएका थिए । बैंकले आफ्नो ग्राहकहरूलाई क्यूआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणालीमार्फत विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएकोमा यसरी नै यातायातका अन्य माध्यमहरूमा पनि क्यूआर कोडलाई अझ सशक्त र देशव्यापीरूपमा लैजाने र आगामी दिनहरूमा पनि यस्तै खालको सेवाहरू ल्याउँदै जाने कुरा बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया