Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्राइम कमर्सियल बैंकले समग्र नाइहरूको व्यावसायिक विकासमा सहयोग गर्ने

प्राइम कमर्सियल बैंकले समग्र नाइहरूको व्यावसायिक विकासमा सहयोग गर्ने


काठमाडौं ।
प्राइम कमर्सियल बैंक लिमिटेडले समग्र नाइहरूको व्यावसायिक विकासमा सहयोग गर्ने भएको छ । सहयोगसम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत नारायणदास मानन्धर र युनियनको तर्फबाट केन्द्रीय समितिका अध्यक्ष गजेन्द्र ठाकुरले हस्ताक्षर गरेका हुन् ।

बैंकले अल्पसंख्यक, सामाजिक आर्थिकस्तरले पिछडा वर्ग र पेसाको हिसाबले कपाल काट्ने पुर्ख्यौली पेसा रहेका नेपालका नाइहरूको व्यावसायिक विकासको माध्यमबाट समग्र जीवनस्तरमा सुधार ल्याउन मदत गर्ने उद्देश्यले नाइहरूको छाता संगठन नेपाल नाइ ट्रेड युनियनसँग समझदारीपत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ । हातमा सीप भएका व्यक्तिहरूलाई स्वावलम्बी बनाई उनीहरूको पेसालाई व्यवसायीकरण गर्ने उद्देश्यले उक्त छाता संगठनका सम्पूर्ण बैंकिङ सेवा सुविधा एकै ढोकाबाट उपलब्ध गराउने लक्ष्य लिएको पनि बैंकले लिएको छ ।

यसका अतिरिक्त बैंकले सदस्यहरूलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दै दुर्घटना एवं अस्पताल भर्ना बीमालगायतका सुविधाहरू पनि प्रदान गर्नेछ । समझदारीअनुसार बैंकले युनियनका केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा रहेका ४१ जिल्लाका करिब ३१ हजार नाइ तथा युनियनका कर्मचारीहरूको प्राइम बैंकमा संस्थागत, व्यावसायिक तथा व्यक्तिगत बैंक खाता खोल्ने व्यवस्था गर्ने जानकारी पनि बैंकले दिएको छ ।

व्यक्तिगत खाता सञ्चालन गरेका सदस्यहरूलाई बैंकले पहिलो वर्ष निःशुल्क सेवासहित मोबाइल बैंकिङ, भिसा डेबिट कार्ड, परिवारका दुुई जनासम्मको डिम्याट खाता खोल्ने सेवा उपलब्ध गराउनेछ । सामाजिक सुरक्षातर्फ सम्झौता भएको मितिले दुुई वर्षभित्र व्यक्तिगत खाता खोल्ने सदस्यका लागि पाँच लाखबराबरको दुर्घटना बीमा र २५ हजारबराबरको अस्पताल भर्ना बीमा उपलब्ध गराउनेछ ।

डिजिटल बैंकिङतर्फ व्यवसाय खाता सञ्चालन गरेका सदस्यका लागि क्यूआर कोडको व्यवस्था गर्नेछ र यसमार्फत कारोबार गरेबापत यो सम्झौता मितिले पहिलो तीन महिनासम्मका लागि कारोबारमा प्रोत्साहन स्वरूप बैंकले प्रतिकारोबार पाँच रुपैयाँ थप गरिदिने पनि बैंकले जानकारी दिएका छन् । यसैगरी कर्जा सेवातर्फ एक धितोमा प्रतिऋणी ५० हजारदेखि दुुई लाखसम्म सरल प्रक्रियाबाट सामूहिक लगानी गर्नेछ । साथै, आवश्यकताको आधारमा उपकरण कर्जा, अतिरिक्त उपभोग कर्जा आदि थप गर्न सक्नेछ ।

ठूला कर्जा लगानी सम्बन्धमा सम्भाव्यताको प्राविधिक सहजीकरणसहित कर्जा प्रवाह गर्ने नीति लिएको पनि जानकारी पनि बैंकले दिएको छ । बैंकको दीर्घकालीन लक्ष्यअन्तर्गत चालू आव २०७७/७८ को अन्तिम चौमासिकभित्र व्यक्तिगत, व्यावसायिक तथा युनियनको संस्थागत गरी कम्तीमा दुई हजार सदस्यको खाता खोल्ने, देशभरका पाँच हजार सदस्यहरूमा बैंकिङ तथा बीमा साक्षरता पु-याउने र कम्तीमा तीन सय जना व्यवसायीलाई कोरोना प्रभावित व्यवसाय पुनरुत्थान सहुलियत कर्जा प्रवाह गर्ने लक्ष्य समेत लिएको छ ।

नाइ व्यावसायिक विकास अभियान नामाकरण गरिएको उक्त समझदारीअनुसार युनियनले नाइ व्यवसायलाई कानुनीरूपमा सुरक्षित, व्यावसायिकरूपमा व्यवस्थित र मर्यादित बनाउँदै आफ्ना सदस्य र समुदायको बृहत्तर विकासका लागि नाई सहकारी, नाई उद्योग, नाइ तालिम केन्द्र, नाई कल्याण कोषलगायतका सेवा विस्तार गर्ने लक्ष्य लिएको पनि बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया