बिरामीलाई खाना खुवाउन नेपालगञ्ज उपमहानगरले मासिक एक लाख ५० हजार सहयोग गर्ने
बाँके ।
भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कोभिड संक्रमित र अन्य बिरामीका कुरुवालाई लक्षित गर्दै सञ्चालित अञ्जनी माता रसोइलाई नेपालगञ्ज उपमहानगरपालिकाले मासिक एक लाख ५० हजार रुपैयाँ सहयोग गर्नेभएको छ । विगतमा अस्पतालमा उपचाररत विपन्न बिरामी र कुरुवाहरूलाई २० रुपैयाँमा प्रतिछाक बिहानको खाना खुवाइरहेको रसोइलाई उपमहानगरपालिकाले यसअघि मासिक ५० हजार रुपैयाँ सहयोग गरिरहेको छ ।
पछिल्लो समय कोभिडका बिरामीको संख्या बढेपछि रसोइले प्रतिछाक ८० रुपैयाँमा साँझको खाना खुवाइरहेको छ । रसोइले साँझको खाना खुवाउन आर्थिक अभाव भएको भन्दै उपमहानगरपालिकामा अनुरोध गरेपछि सोमबार बसेको कार्यपालिका बैठकले मासिक एक लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । नगरप्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि नगरभित्र उपचार तथा अन्य सेवा प्रभावकारीरूपमा अघि बढाउन पहल गर्ने पनि निर्णय गरेको छ ।
नगरक्षेत्रभित्र कोभिड बिरामीको सहजताका लागि एउटा एम्बुलेन्स सञ्चालनमा रहेको बैठकले अर्को एउटा एम्बुलेन्स समेत थप गर्ने निर्णय गरेको उपप्रमुख उमा थापामगरले जानकारी दिइन् । यसैगरी नगरभित्र होम आइसोलेसनमा बसेका बिरामीहरूलाई वडाका स्वास्थ्य फोकल पर्सनहरूले नियमित फोन सम्पर्क गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिई आवश्यक परामर्श दिने निर्णय बैठकले गरेको छ । भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा बाल मन्दिरमा तत्काल आइसोलेसन सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।
उपमहागनरपालिकाबाट भेरीमा १५ स्वास्थ्यकर्मी पनि खटाइने
कोरोना रोकथाम तथा नियन्त्रणलाई प्रभावकारीरूपमा अघि बढाउन नेपालगञ्ज उपमहानगरपालिकाले स्वास्थ्यकर्मीहरू करारमा भर्ना गरेर विभिन्न स्थानमा खटाएको जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले स्वास्थ्य सहायक, स्टाफ नर्स, पारामेडिक्स र नर्सिङ गरी ४१ जना स्वास्थ्यकर्मी भर्ना गरिएको जानकारी दिए ।
नेपालगञ्ज उपमहानगरपालिकाले भर्ना लिएकामध्ये १५ जनालाई भेरी अस्पताल नेपालगञ्जमा खटाइएको चन्दले बताए । यसैगरी सीमा नाका जमुनहास्थित सञ्चालनमा रहेको हेल्थडेस्कमा १३ जना स्वास्थ्यकर्मीलाई खटाइएको छ । साथै नेपालगञ्ज विमानस्थलमा रहेको हेल्थडेस्क, विभिन्न आइसोलेसन केन्द्र र वडास्थित स्वास्थ्य संस्थाहरूमा नयाँ स्वास्थ्यकर्मीहरू परिचालन गरिएको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए ।
यसैबीच भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि स्वास्थ्य मन्त्रालयले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पठाएको चिकित्सकसतिहको टोलीले समेत भेरी अस्पतालमा काम सुरु गरिसकेको भेरी प्रादेशिक अस्पतालको कोभिड फोकल पर्सन डा. सकेत रिसालले बताए ।
भेरीमा कोरोना बिरामीको चाप बढ्दै गएपछि त्यहाँ कार्यरत ९५ जना स्वास्थ्यकर्मी समेत संक्रमित भएका छन् । कर्मचारीको अभाव भएपछि संक्रमित भएका ९५ मध्ये १० जना स्वास्थ्यकर्मी पनि बाध्यताले संक्रमित अवस्थामा नै काम गरिरहेको तथा जुम्लाको टोली आएपछि काम गर्न केही मात्रामा सहज भएको कोभिड फोकल पर्सन रिसालले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अग्नीपीडितलाई लहान नगरपालिकाको सहयोग
- दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम ड्रिलिङ सुरु
- धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन
- नीति तथा कार्यक्रमको लागि बिज्ञ समुह संग छलफल गर्दै मन्त्री श्रेष्ठ
- नेवार र तामाङ भाषा बागमती प्रदेशभित्र सरकारी कामकाजमा
- नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक नयाँबानेश्वरमा
- संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
- जापानी विदेशमन्त्री योको कामिकावाको भ्रमण कोशेढुंगा बनोस्
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया