Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभाडा बढेको बहानामा यात्रु ठग्दै दोलखा–काठमाडौँ चल्ने सवारीसाधन

भाडा बढेको बहानामा यात्रु ठग्दै दोलखा–काठमाडौँ चल्ने सवारीसाधन


दोलखा । यातायात व्यवसायीको मागअनुसार सरकारले भाडा वृद्धि गरेपछि यातायात व्यवसायीहरुले मनपरी रुपमा भाडा असुली गर्नेगरेको पाइएको छ । सम्बन्धित निकायको अनुगमनको अभावका कारण व्यवसायी तथा सवारीसाधनले दोलखासहित बागमती प्रदेशको अन्तरजिल्ला यातायातमा तोकिएको भन्दा झण्डै दोब्बर भाडा असुल गर्नेगरेको दोलखाबाट काठमाडौँको यात्रामा रहेका यात्रुहरुले दुखेसो गरेका छन् ।

सरकारले गत असोज २९ देखि बागमती प्रदेशभित्र चल्ने लामो तथा छोटो दूरीका सवारीको भाडादर २३ प्रतिशतले वृद्धि गरेको थियो । भाडा वृद्धिपछि यातायात धनी तथा व्यवसायीले भाडा वृद्धि भएको भन्दै यात्रुलाई थर्काएर मनलागी भाडा असुल गर्नेगरेको गौरीशंकर गाउँपालिका झ्याकुबाट काठमाडौँको यात्रामा निस्केका यात्रु ईश्वर बस्नेतले बताए । मुख्यगरी सार्वजनिक यातायातका साधन बस, सुमो र ग्रामीण भेगमा चल्ने बोलेरो गाडीले मनलागि भाडा लिने गरेको गुनासो बढेको जिल्ला ट्राफिक कार्यालय दोलखाले जनाएको छ ।

कतिपय सवारीलाई कारबाही गरेर यात्रुलाई भाडा फिर्ता गरेको जिल्ला ट्राफिक कार्यालय दोलखाका प्रमुख भानुभक्त ढकालले बताए । चाडपर्वको मौका छोपी बढेको भाडाभन्दा बढी भाडा लिने सवारीसाधनलाई चरीकोटमा चेकजाँच गरी कारबाही गर्नेगरेको उनले बताए । यता जिल्लामा रहेका यातायातका टिकट काउन्टरले भने २३ प्रतिशत मात्र भाडा वृद्धि भएको दाबी गरेका छन् । सदरमुकाम चरीकोट रहेको अरनिको पूर्वयातायात प्रालिका काउन्टर प्रमुख रविन चौलागाईले २३ प्रतिशतले मात्र भाडा वृद्धि भएको र सोहीअनुसार टिकट दिने गरेको बताए ।

यसअघि चरीकोटदेखि काठमाडौँको सुपर भाडा चार सय ४७ रुपैयाँ रहेको थियो । भाडा वृद्धिपछि अब पाँच सय ५० रुपैयाँ पुगेको उनले बताए । त्यसैगरी लोकल बसको भाडा यसअघि तीन सय ६० रुपैयाँ तोकेको समितिले २३ प्रतिशत वृद्धि गर्दै अहिले चार सय ४३ रुपैयाँ लिने गरेको जनाएको छ । दोलखादेखि काठमाडौँ चल्ने साना सवारी सुमोलगायतले समेत भाडा वृद्धि गरेका छन् ।

चरीकोटदेखि काठमाडौँको सुमोको भाडा पाँच सय ५० रुपैयाँ रहेकोमा वृद्धि भएर अहिले छ सय ६५ रुपैयाँ पुगेको छ । यद्यपि अहिलो सुमोले एक हजार रुपैयाँ र ठूला बसले आठ सय रुपैयाँ भाडा असुल गर्दै आएका छन् । त्यसैगरी दोलखा हुँदै काठमाडौँ चल्ने रोल्वालिङ यातायात समितिले पनि २३ प्रतिशत नै भाडादर वृद्धि गरेको छ । समितिले सिँगटीदेखि काठमाडौँसम्मको भाडादर पाँच सय २५ रुपैयाँबाट वृद्धि गरेर छ सय ४३ रुपैयाँ पु¥याएको छ । चरीकोटबाट सिँगटीसम्म लोकल बसको भाडादर पहिला एक सय ६५ रुपैयाँ रहेकोेमा वृद्धि भएपछि दुई सय २० रुपैयाँ पुगेको छ । सार्वजनिक बसका कर्मचारीले विभिन्न बहाना बनाएर बसकै भाडा एक हजार रुपैयाँ लिने गरेको मिर्गेबाट काठमाडौँको यात्रामा रहेका यात्रु रमेश तामाङले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया