Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटानमा त्रिपक्षीय प्रतिस्पर्धा : कांग्रेस एमालेबीच समीकरण, माओवादी एक्लै मैदानमा

टानमा त्रिपक्षीय प्रतिस्पर्धा : कांग्रेस एमालेबीच समीकरण, माओवादी एक्लै मैदानमा


काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ नेतृत्वको लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सोमबार हुनलागेको टानको नयाँ कार्यसमिति चयनको निर्वाचनमा पर्यटन व्यवसायीहरु नीलहरि बास्तोला, कमल सापकोटा र बोधराज भण्डारीले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्षका प्रतिस्पर्धी बास्तोलालाई नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादी समर्थित पर्यटन व्यवसायीले सहयोग गरेका छन् । टानको निर्वाचनमा भने सत्तारुढ दुई दल र प्रमुख प्रतिपक्षी दल निकट व्यवसायीको बीचमा गठबन्धन बनेको हो । अर्को सत्तारुढ दल माओवादी केन्द्रनिकट व्यवसायीले भने छुट्टै उम्मेदवार खडा गरेका छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धन गरेर जान लागेका छन् । तर टानको निर्वाचनमा भने फरक दृश्य देखिएको छ । टानको नेतृत्व हत्याउन कांग्रेस र माओवादी प्रतिस्पर्धामा उत्रेका छन् । अझ रोचक त कांग्रेसलाई प्रमुख प्रतिपक्षी दल एमालेले साथ दिएको छ । टानको नयाँ नेतृत्वको लागि कांग्रेस, एमाले र एकीकृत समाजवादीले भागबन्डा गरेर उम्मेदवार उठाएका छन् ।

बास्तोला प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्ष प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु), सचिवमा होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना, सहकोषाध्यक्षमा छिङदोर्शी शेर्पाले उम्मेद्वारी दिएका छन् । यस्तै सदस्यहरुमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा, हेमबहादुर कार्की तथा महिला सदस्यमा सजना त्रिपाठीले उम्मेदवारी मनोनयन गराएका छन् ।

यसैगरी अध्यक्षका प्रतिस्पर्धी सापकोटालाई भने नेकपा (माओवादी केन्द्र) निकट पर्यटन व्यवसायी संगठनको साथ छ । त्यस्तै सापकोटाको समूहबाट वरिष्ठ उपाध्यक्षमा सरिता लामा, प्रथम उपाध्यक्षमा देवेन्द्र पोखरेल, द्वितीय उपाध्यक्षमा दावा लामा तामाङ, महासचिवमा नरध्वज तामाङ (क्षितिज), कोषाध्यक्षमा प्रमिला देवकोटा पाण्डे, सहकोषाध्यक्षमा रिन्जी जाङ्बु शेर्पा, सचिवमा हरि कडरियाले मनोनयन गराएका छन् । त्यस्तै सदस्यहरुमा दोर्जे तामाङ, विनोद वस्ती, राजेश थपलिया, कान्छा गुरुङ, निर्मला सापकोटा खनाल, कृष्णबहादुर परियार, रामचन्द्र लामिछाने र शरण अधिकारी छन् । बास्तोला र सापकोटाले प्यानलसहित उम्मेदवारी मनोनयन गराए पनि भण्डारी पक्ष समूहले भने अध्यक्ष र उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएको छ । अध्यक्षका प्रत्याशी भण्डारीको स्वतन्त्र समूहमा वरिष्ठ उपाध्यक्षमा गणेश न्यौपानेले उम्मेदवारी दर्ता गराएको टान सचिवालयले जनाएको छ ।

उम्मेदवारी दर्तासँगै उम्मेदवारहरुले आफ्नो आगामी एजेण्डासहित चुनावी प्रचार–प्रसारलाई तीव्रता दिएका छन् । अध्यक्षका प्रत्याशी बास्तोलाले टान व्यवसायमैत्री नभएको गुनासो बढिरहेकोले यसलाई व्यवसायीले खोजेजस्तो बनाउने दाबी गरे । आफ्नै समूहको उम्मेदवार परिचयात्मक कार्यक्रममा उनले टानलाई वास्तविक व्यवसायीको संस्थाका रुपमा स्थापित गर्ने प्रतिबद्धता समेत जनाए । साथै उनले अहिलेसम्म व्यवसायीहरुले टान खोज्नुपर्ने अवस्था रहेको र आगामी दिनमा टानले नै व्यवसायी खोज्ने वातावरण बनाउने दाबी गरे । व्यस्तै यवसायीहरुको सहजीकरणका लागि कर्मचारीसहितको सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिने योजना रहेको उनले जानकारी दिए ।

यस्तै अध्यक्षका प्रत्याशी सापकोटाले टानलाई सुदृढ तुल्याउँदै पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई प्रभावकारी बनाउन नेपाल पर्यटन बोर्डसँगको साझेदारीलाई फराकिलो बनाएर अघि बढ्ने योजना अघि सारेको बताए । तीनवटै तहका सरकारसँग सहकार्य गरेर पर्वतीय पर्यटनको विकासमा जुट्ने बताउँदै उनले एजेन्सीमार्फत पदयात्रामा जानुपर्ने अनिवार्य व्यवस्था मिलाउनाका साथै क्षतिग्रस्त पदयात्रा पुनर्निर्माण तथा नयाँ पदमार्गको पहिचान र प्रवर्द्धनमा जुट्ने उल्लेख गरे ।

स्वतन्त्र समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका भण्डारीले टानलाई राजनीतीकरणबाट मुक्त बनाएर पूर्ण व्यावसायिक बनाउने तथा टान सचिवालयलाई व्यवस्थित बनाएर सदस्य व्यवसायीको हित अनुकूल काम गर्ने बताए । टानको निर्वाचनमा अध्यक्षसहित कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गरिनेछ । एक हजार आठ सय व्यवसायी आबद्ध टानमा निर्वाचनका लागि एक हजार दुई सय ५० मतदाता छन् । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया