Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार सुरु

इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार सुरु

नेपालको लागि बढीमा आठ वाणिज्य बैंकहरु भए पुग्छ : अध्यक्ष पाँडे


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडले एकीकृत कारोबार सुरु गरेका छन् । नेपाल इन्भेष्टन्टले मेगा बैंकलाई मर्जर गरी बुधबारबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नाउँबाट एकीकृत कारोबार सुरु गरेको हो । एकीकृत कारोबारको शुभारम्भ नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले संयुक्तरूपमा गरेका हु्न् ।

समृद्धिको पथमा सँगै अघि बढ्दै भन्ने मूलनाराका साथ एकीकृत कारोबार सुरु गरेको बैंकले एकता र उत्कृष्टतालाई जोड दिएको एकीकृत कारोबारपश्चात् बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बताए । मर्जरको लागि दुई बैंकबीच सेयर स्वाप अनुपात १००ः९० रहेको छ । मर्जरपछि बनेको नयाँ बैंकको अध्यक्षमा साबिक नेपाल इन्भेष्टमेण्ट बैंककै अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहेका छन् । यसैगरी नयाँ सञ्चालक समितिमा दुवै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहने गरी नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट प्रजन्य राजभण्डारी, कवि कुमार टिब्रेवाला र मेगा बैंकको तर्फबाट गोपाल खनाल, मदन कुमार आचार्य र मुक्तिराम पाण्डे रहेका छन् । त्यसैगरी साबिक नेपाल इन्भेष्टमेन्ट बैंकमा स्वतन्त्र सञ्चालकको रुपमा रहेका मञ्जु बस्नेत नै अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालक रहेका छन् ।

बैंकिङ्ग क्षेत्रमा अग्रणी बैंकहरुको रुपमा सबल एवम् सक्षम संस्थाको रूपमा सुपरिचित रहिआएका दुवै बैंक एक आपसमा गाभिएपश्चात् देशकै ठूला वाणिज्य बैंकहरुमध्येको एक हुँदै सम्पूर्ण वित्तीय सूचकहरूमा अग्रता हासिल गर्न सक्षम हुनेछ भन्ने धारणा अध्यक्ष पाँडेले व्यक्त गरे । यसका साथै उनले यो मर्जरले वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गर्नुका साथै नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मजरका लागि प्रेरित गरेको बताए । भूगोल र जनसंख्याको हिसाबमा निकै ठूलो रहेको इन्डियामा ३३ वटा मात्र वाणिज्य बैंक रहेको उदाहरण दिँदै अध्यक्ष पाँडेले नेपालको हकमा पनि बढीमा आठवटा वाणिज्य बैंक भए पुग्ने बताए । ‘अझै पनि धेरै वटा बैंकहरु मर्जरको प्रक्रियामा रहेका छन्, यसले गर्दा नेपालमा पनि वाणिज्य बैंकहरुको संख्या सात, आठ वटामा झर्न सक्छ’, उनले भने, ‘मर्जरपश्चात् बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सबै दृष्टिकोणले उत्कृष्ट रहेको भन्दै मर्जरपश्चात् अब बैंकको उद्देश्य भनेको टप वानदेखि थ्री पोजिसनमा रहनु हो ।’

यसैगरी, मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले यो मर्जर देशको बैंक क्षेत्र र अर्थतन्त्रका लागि सुखद र सकारात्मक कदम भएको बताए । मर्जरपछि दुवै बैंकको नाम र कामअनुसारको गरिमालाई उच्च कायम राख्न दुवै बैंकमा रहेका असल परम्परा, संस्कार, ग्राहकहरुको सेवा, कर्मचारी व्यवस्थापनजस्ता सकारात्मक पक्षहरुलाई अंगीकार गर्नुका साथै सेयरधनीहरुको प्रतिफलमा न्यायोचित वृद्धि र निरन्तरता दिँदै जाने विश्वास व्यक्त गरे । यस रुपान्तरणकारी प्रयासमा हौसला दिने तथा साथ एवं सहयोग पु¥याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक दुवै बैंकका सञ्चालक समिति, मर्जर समिति, कर्मचारी वर्गलगायत सम्बन्धित सम्पूर्ण क्षेत्र तथा शुभेच्छुकहरुप्रति दुवै बैंकका अध्यक्षहरुले संयुक्तरुपमा आभार व्यक्त गरे । मर्जरपश्चात् बैंकको कुल चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ भने कुल पुँजी ५८ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।

यसैगरी बैंकको कुल सम्पत्ति चार खर्ब ७१ अर्ब, कुल निक्षेप तीन खर्ब ६० अर्ब दुई करोड तथा कुल कर्जा लगानी तीन खर्ब २९ अर्ब छ करोड रुपैयाँ पुगेको छ । कुल ३० लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक देशकै ठूला वाणिज्य बैंकहरुमध्येको एक अग्रणी बैंक बनेको छ । मर्जरपछि बैंकको शाखा संख्या दुई सय ९६ वटा पुगेको छ भने एक्सटेन्सन काउन्टर ४९ शाखारहित बैंकिङ्ग सेवा एक सय नौ तथा एटीएम सञ्जाल दुई सय ७९ वटा पुगेको छ । निकटतम भविष्यमा थप शाखा सञ्जाल विस्तार गरी देशका ७५ वटै जिल्लाहरुलाई समेटेर हरेक नेपालीलाई वित्तीय पहुँच सुनिश्चित गरिने प्रतिबद्धता बैंकले जनाएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया