Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकिसानहरू व्यावसायिक बाख्रापालनतर्फ

किसानहरू व्यावसायिक बाख्रापालनतर्फ


सोलुखुम्बु । सोलुखुम्बुका किसानहरू पछिल्लो सयम व्यावसायिक बाख्रापालनमा आकर्षित भएका छन् । परम्परागत कृषि पद्धतिबाट कम आम्दानी भएपछि यहाँका किसानहरू आधुनिक बाख्रा पालनमा लागेका हुन् । परम्परागत शैलीमा बाख्रा पाल्दै आएका ओखलढुंगाको चम्पादेवी गाउँपालिका १ पलापु डाँडागाउँका गोपाल श्रेष्ठले अहिले बाख्रा पाल्ने खोरको व्यापक सुधार गरेका छन् ।

श्रेष्ठले अहिले ४० वटा बाख्रा पालेका छन् । सोही स्थानका घनबहादुर श्रेष्ठले पनि बाख्राका लागि आधुनिक खोर बनाएका छन् । आधुनिक खोरमा बाख्रालाई घाँस–पानी दिन सहज, घाम पानीबाट ओतको राम्रो व्यवस्था र सरसफाइका लागि सजिलो हुने गरेको उनीहरूको अनुभव छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ ओखलढुंगामार्फत जिल्लाको तीन स्थानीय तहमा बाख्रा जोन कार्यक्रम सञ्चालन गरेको छ । जिल्लाको मानेभञ्ज्याङ, सुनकोशी र चम्पादेवी गाउँपालिकाको केही वडामा कार्यक्रम लागू गरिएको छ । बाख्रा जोनमा करिब १५० व्यावसायिक किसान आबद्ध छन् ।

आर्थिक वर्ष २०७९/०८० मा परियोजनामार्फत जिल्लामा २५ वटा बाख्रापालक किसानले अनुदान लिएका छन् । कार्यक्रममार्फत बाख्रापालक किसानलाई खोर सुधार, नस्ल सुधार, रोग व्यवस्थापन र बजारीकरणका लागि तालिम तथा अनुदान सहयोग गर्ने गरिएको परियोजना प्रमुख वरिष्ठ कृषि अधिकृत कृष्णप्रसाद पौडेलले बताए । बाख्राको आधुनिक खोर निर्माण गर्न किसानलाई एक लाख २८ हजारका दरले अनुदान उपलब्ध गराइएको प्रमुख पौडेलको भनाइ छ । यस्तै, चम्पादेवी गाउँपालिका–१ पलापुका अनुदान प्राप्त गर्ने तीनजना किसानले बनाएको खोरको अनुगमनसमेत गरिएको पालिकाले जनाएको छ ।

जिल्ला समन्वय समिति उप–प्रमुख तारादेवी कार्की, भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा सुशीलकुमार अधिकारी, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख भुपेन्द्रबहादुर मल्ल, कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ गणेश अधिकारी र घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिलगायतको समूहले अनुगमन गरेको कार्यालयले जनाएको छ । परियोजनामार्फत ओखलढुंगामा बाख्रा, आलु र सोलुखुम्बुमा स्याउ, ओखर, किबी जोन कार्यक्रम सञ्चालन भएका छन् । केही वर्षभित्र ओखलढुंगा मासुमा आत्मनिर्भर बन्ने बताइएको छ ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया