Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन

सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन


काठमाडौं । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्वारा ‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारासहित नेपाली ब्राण्डका जुत्ता चप्पलको सामुहिक शोरुम सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन गरिएको छ । सो सामुहिक शोरुमको उद्घाटन बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले गरेका हुन् ।

सो अवसरमा नेपाली जुत्ता उत्पादक उद्योगीहरुको समुहलाई सामुहिक शोरुमको सफलताको शुभकामना व्यक्त गर्दै मन्त्री चित्रकारले नेपाली उत्पादनको प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने र नीतिगत रुपमा सिङ्गो उत्पादन क्षेत्रलाई अगाडी बढाउनका लागि महत्वपूर्ण भूमिका निभाउने बताए । उनले उद्योगमार्फत रोजगारी सिर्जना गरी आर्थिक रुपमा योगदान पुर्याएका जुत्ता उत्पादक उद्योगी व्यवसायीहरुलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्वकार्यकारी सदस्य, वर्तमान कार्यकारी सदस्य तथा फुटवेयर व्यवसायीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यले नेपाली जुत्ता उत्पादक समुहद्वारा सामुहिक शोरुम अवधारण अन्तर्गत खोलिएको यस सातदोबाटो नेपाली जुत्ताघर पाचौं शोरुम हो । यस अघि पोखरा, बुटबल, जनकपुर र न्यूरोडमा चारवटा सामुहिक शोरुमको उद्घाटन भइसकेको छ ।

यस शोरुममा उत्पादक र उपभोक्तबीच प्रत्यक्ष सम्पर्क हुने हुँदा ग्राहकको रुची र चाहना अनुरुपका उत्पादन बजारमा ल्याउन सहज हुने उद्योगीहरुको विश्वास रहेको छ । साथै, विभिन्न व्यापारिकमार्फत बजारमा उत्पादन पठाउँदा वस्तुको मूल्य बृद्धी हुने र यसले उत्पादक र उपभोक्त दुबै पक्ष मारमा पर्ने भएकाले सामुहिक शोरुमको अवधारण अन्तर्गत ग्राहकले कम मूल्यमा गुणस्तरीय सामानहरु प्राप्त गर्ने बताइएको छ ।

सातदोबाटो नेपाली जुत्ता घरमा वि.एफ डियर हिल र वि.एफ स्पोट, रोयल शुज, फस्टवाक शुज, क्रस रोड शुज, डि.जे. शुज, कोसेली छाला जुत्ता, रन शुज र स्मार्ट शुज गरी आठ वटा ब्राण्डका आधुनिक तथा गुणस्तरीय जुत्ता चप्पलहरु आकर्षक छुटमा उपलब्ध रहेका छन ।

कार्यक्रममा उद्योगीहरुको समुहद्वारा आगामी दिनमा देशभरका बिभिन्न स्थानहरुमा नयाँ शोरुमहरु खोल्ने र उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादनहरु उपलब्ध गराउने बताइएको छ । साथै, देशको दिगो आर्थिक विकासका लागि आफ्नै देशको श्रम तथा सिपलाई प्रयोग गरेर देशमा नै रोजगारी सिर्जना गरिरहेका यस्ता प्रकारका उद्योगहरुको विकास विस्तारमा राज्यका तर्फबाट पनि नीतिगत सहयोग हुनु जरुरी रहेको व्यवसायीहरुले बताएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, नेपाली ब्रान्ड

तपाईको प्रतिक्रिया