Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकार्यकारिणी समिति सदस्य गैरेको सम्झनामा महासंघको शोकसभा

कार्यकारिणी समिति सदस्य गैरेको सम्झनामा महासंघको शोकसभा


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघले कार्यकारिणी समिति सदस्य एवं वैदेशिक रोजगार फोरमका सभापति विष्णुप्रसाद गैरेको सम्झनामा शोकसभा आयोजना गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा गैरेको सम्झनामा भर्चुअल माध्यमबाट मंगलबार शोकसभा सम्पन्न गरिएको हो । सभाले शोक प्रस्ताव पारित गरेको छ ।

सभामा महासंघका अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्रलाई नै थेगिरहेको वैदेशिक रोजगार व्यवसायलाई के कसरी मर्यादित र व्यवस्थित बनाई सीपयुक्त जनशक्ति पठाउन सकिन्छ भन्ने अभियानमा निरन्तर खटिएका गैरेको निधनबाट महासंघ र देशलाई नै क्षति पुगेको बताए । कोभिड महामारीका कारण धेरैको निधन भएको भन्दै अध्यक्ष गोल्छाले महासंघ र यसको सञ्जालमार्फत आम सर्वसाधारणको जीवनरक्षा र स्वास्थ्य समस्यामा परेकाहरूको सहयोगका लागि अग्रभागमा रहेर सेवा गरिरहेको बताए ।

सभामा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष (वस्तुगत) अन्जन श्रेष्ठले महासंघको वैदेशिक रोजगार फोरमका सभापति गैरेको निधनबाट उद्योग व्यवसाय, सामाजिक, खेलकुद, वैदेशिक व्यवसाय क्षेत्रलाई ठूलो क्षति पुग्न गएको र उनको अभाव सधै खड्किरहने बताए । सभामा स्वर्गीय गैरेको सम्झनामा एक मिनेट मौनधारण समेत गरिएको थियो । शोकसभामा महासंघका पदाधिकारीहरू, कार्यकारिणी समितिका सदस्यहरू, महासंघका सचिवालयका कर्मचारीहरूको उपस्थिति थियो । कोभिड १९ संक्रमणका कारण केही सातादेखि अस्पतालमा उपचाररत गैरेको गत बिहीबार निधन भएको थियो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका वर्तमान अध्यक्ष गैरे नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसाय एसोसिएसनका पूर्वअध्यक्ष र अक्सोन इन्टरनेशनल प्रालिका सञ्चालक समेत हुन् । वैदेशिक व्यवसायलाई व्यवस्थित, मर्यादित बनाई सीपयुक्त जनशक्ति पठाउने कार्यमा महासंघका तर्फबाट पनि केही योगदान पु¥याउन सकियोस् भनेर महासंघले पहिलोपटक वैदेशिक रोजगार फोरमको गठन गरी त्यसको सभापतिको जिम्मेवारी गैरेलाई दिएको थियो ।

महासंघका अनुसार यस अवधिमा वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सीपयुक्त श्रमिक पठाउने कार्यमा सहजीकरण गर्ने र ऐन, नियम र कार्यविधिमा गर्नुपर्ने सुधार विषयमा सुझाव तयार गर्ने र कोभिडका कारण विदेशमा रोजगारी गुमाई स्वदेश फर्किन चाहनेहरूलाई सहयोग गर्ने कार्यमा समेत उनी निरन्तर लागिरहेका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया