Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंकद्वारा अयोग्यलाई पहुँचको आधारमा अर्बौं कर्जा

कुमारी बैंकद्वारा अयोग्यलाई पहुँचको आधारमा अर्बौं कर्जा

खराब कर्जा बढ्दो/लाभांश क्षमता शून्य


काठमाडौं । वित्तीय सबलताको लागि भन्दै आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई गाभेर बनेको कुमारी बैंक सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमध्ये प्रतिसेयर आम्दानीका हिसाबमा उल्टोबाट पहिलो बनेको छ । वाणिज्य बैंकहरूमध्ये सबैजसोको प्रतिसेयर आम्दानी बढेको भए पनि कुमारीको निरन्तर घट्दै जाँदा अन्य बैंकहरूको तुलनामा उल्टोबाट पहिलो बनेको हो ।

बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोेस्रो त्रैमासिक प्रतिवेदनमा प्रतिसेयर आम्दानी घटेको छ । गत आर्थिक वर्षको दोसो त्रैमासमा प्रतिसेयर आम्दानी ११ रूपैयाँ ६७ पैसा रहेकोमा अहिले बैंकको प्रतिसेयर आम्दानी घटेर छ रूपैयाँ ६१ पैसामा खुम्चिएको छ । प्रतिसेयर आम्दानी घटेकै कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कुमारी बैंकको सेयरमूल्य प्रतिकित्ता एक सय ४७ रूपैयाँ ९० पैसामा कायम भएको छ । सञ्चालन एवं व्यवस्थापकीय कमजोरीका कारण पछिल्लो समय बैंकको खराब कर्जा बढ्दैे गएको छ भने लाभांश क्षमता शून्य छ ।

कुमारी बैंक, काष्ठमण्डप डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल फाइनान्स, महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक, देव विकास र क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी)लाई गाभेर बनेको बैंक हो । यति धेरै बैंक तथा वित्तीय संस्थालाई गाभेर बनेको यो बैंक पछिल्लो समय कमजोर बन्दै गएको छ । कुमारी बैंक कमजोर भएको पुष्टि नेपाल राष्ट्र बैंकको तथ्यांंकबाट पनि भएको छ । राष्ट्र बैंकका अनुसार कुनै पनि बैंकहरूमा जोखिम सम्पत्तिको तुलनामा प्राथमिक पुँजी अनुपात आठ दशमलव पाँच प्रतिशत हुनुपर्छ । तर, कुमारी बैंकमा यस्तो अनुपात आठ दशमलव शून्य तीन प्रतिशत मात्र छ । यसैगरी बैंकको कुल पुुँजीकोष अनुपात १२ दशमलव शून्य आठ प्रतिशत छ । कुनै एउटा त्रैमासिक अवधिमा मात्र पनि जोखिम भारित सम्पत्तिको तुलनामा प्राथमिक पुँजी कोष पर्याप्तता अनुपात तोकिएको भन्दा कम भएमा बैंकहरूले लाभांश नपाउने व्यवस्था छ । त्यसैले प्राथमिक पुँजी अनुपात कम भएकै कारण कुमारीले चालू आर्थिक वर्षमा जति नै धेरै नाफा कमाए पनि आफ्ना सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण गर्न पाउने छैन । जसको अर्थ आर्थिक वर्ष २०८०/०८१ मा कुमारी बैंकका सेयरधनीको हात खाली हुनेछ ।

सेयरधनीहरू लाभांशको आशामा रित्तो हात थापेर बसिरहंँदा बैंकले भने व्यक्तिगत पहुँच, भनसुन र स्वार्थमा लिप्त भएर अयोग्य व्यक्तिलाई क्षमताभन्दा निकै ठूलो परिमाणमा कर्जा दिएको पाइएको छ । बैंकले महोत्तरी भंगाहाका दिनेशकुमार महतोलाई भनसुन र स्वार्थमा बाझिएर एक अर्ब ८० करोड रूपैयाँबराबर कर्जा दिएको देखिएको छ । बैंकले महतो सञ्चालक रहेको नाममात्रको कम्पनी अप्फा वायर, करिस्मा इलेक्ट्रोनिक्स, तीनकुने हाडवेयर र एभरेस्ट वायर इन्डस्ट्रिजको नाममा कर्जा दिएको हो । स्रोतका अनुसार यी कम्पनीहरू बैंकसँग कर्जा लिनको लागि मात्र सञ्चालनमा ल्याइएका हुन् । जसको कारोबार अस्वाभाविक देखिएको छ ।

बैंक स्रोतका अनुसार महतोलाई दिएको उक्त कर्जाबाट बैंकले पछिल्लो डेढ वर्षदेखि साँवाब्याजको किस्ता उठाउन सकेको छैन । कर्जा प्रवाहमा देखिएको कैफियतका बारेमा राष्ट्र बैकले कारबाही गर्नसक्ने सम्भावना बढेर गएपछि बैंकले यही फागुन २१ गते ऋणी दिनेशकुमार महतो र महतोसँग सम्बन्धित कम्पनीहरूको नाममा बैंकमा धितो कायम रहेको सम्पत्ति लिकाम गर्नको लागि भन्दै १५ दिने सूचना जारी गरेको छ । सूचनाअनुसार महतोको नाममा बैंकमा धितो कायम रहेको सम्पत्ति चैतको पहिलो हप्तातिर लिलाम हुनेछ । तर, महतोको नाममा धितो रहेको सम्पत्ति लिलाम गरेपछि पनि बैंकको पूरै कर्जा भने उठ्न नसक्ने स्रोतको दाबी छ ।

‘बैंकले सुरुवाती समयमा नै भनसुन र प्रलोभनमा परेर कमजोर धितोमा क्षमताभन्दा बढी कर्जा दिएको छ, अनि कसरी धितो लिलाम गरेको आधारमा कर्जाको सावाँब्याज उठ्छ’, बैंक भन्छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया