Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकिन दिए बैंकहरूले झण्डै एक खर्ब कर्जा ?

किन दिए बैंकहरूले झण्डै एक खर्ब कर्जा ?

सेयरबजार निरन्तर ओरालो यात्रामा


काठमाडौं । सेयरबजार परिसूचक नेप्से लगातार ओरालो लागेको भए पनि बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितोमा झण्डै एक खर्ब रूपैयाँ कर्जा दिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा कुल ८५ अर्ब ७० करोड १० लाख रूपैयाँ कर्जा दिएका छन् ।

बैंकिङ क्षेत्रले सेयर धितोमा प्रवाह गरेको कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० अर्ब ५१ करोड ४० लाख रूपैयाँले बढी हो । गत आर्थिक वर्षको फागुनसम्म सेयर धितोमा कुल ७५ अर्ब १८ करोड ७० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए । यस वर्ष फागुन मसान्तसम्म बैंकिङ क्षेत्रको कुल निक्षेप ६१ खर्ब ८७ अर्ब ६४ करोड ६० लाख रूपैयाँ छ भने कुल कर्जा ५० खर्ब ८४ अर्ब ९३ करोड ३० लाख रूपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकिङ क्षेत्रको कुल निक्षेप तथा कर्जा रकम क्रमशः ५४ खर्ब १४ अर्ब ६५ करोड ५० लाख र ४८ खर्ब ५१ अर्ब ३३ करोड २० लाख रूपैयाँ थियो ।

वाणिज्य बैंकहरूले सेयर धितोमा चालू आर्थिक वर्षको अवधिमा कुल ६७ अर्ब १२ करोड ७० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरूले प्रवाह गरेको यो कर्जा गत आर्थिकको सोही अवधिको तुलनामा आठ अर्ब ७० करोड रूपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले सेयर धितो शीर्षकमा कुल ५८ अर्ब ४२ करोड २७ लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरूको कुल निक्षेप तथा कर्जा रकम क्रमशः ५४ खर्ब ७१ अर्ब ८४ करोड ५० लाख तथा ४४ खर्ब ९२ अर्ब ८४ करोड ५० लाख रूपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको यस्तो निक्षेप तथा कर्जा रकम क्रमशः ४७ खर्ब ७१ अर्ब २८ करोड ६० लाख तथा ४३ खर्ब एक अर्ब ३९ करोड ७० लाख रूपैयाँ थियो ।

विकास बैंकहरूले भने पछिल्लो अवधिमा सेयर धितो शीर्षकमा कुल १४ अर्ब ९१ करोड ९० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई अर्ब रूपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूले सेयर धितो शीर्षकमा कुल १२ अर्ब ९१ करोड ९० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए । यस अवधिमा विकास बैंकहरूको कुल निक्षेप तथा कर्जा रकम क्रमशः पाँच खर्ब ३४ अर्ब ५४ करोड ८० लाख र चार खर्ब ६७ अर्ब २६ करोड १० लाख रूपैयाँ थियो । चालू आर्थिक वर्षको फागुन मसान्तमा भने विकास बैंकहरूको यस्तो निक्षेप तथा कर्जा रकम क्रमशः पाँच खर्ब ९३ अर्ब ५८ करोड १० लाख र चार खर्ब ९६ अर्ब पाँच करोड ६० लाख रूपैयाँ थियो ।

फाइनान्स कम्पनीहरूले भने चालू आर्थिक वर्षको पछिल्लो अवधिमा सेयर धितो शीर्षकमा कुल तीन अर्ब ३८ करोड २० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ करोड ८० लाख रूपैयाँले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूले सेयर धितो शीर्षकमा कुल तीन अर्ब ८४ करोड रूपैयाँ कर्जा प्रवाह गरेका थिए । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा फाइनान्स कम्पनीहरूको कुल निक्षेप एक खर्ब २२ अर्ब ७१ करोड ९० लाख रूपैयाँ रहेको छ भने कुल कर्जा रकम ९६ अर्ब तीन करोड १० लाख रूपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूको यस्तो निक्षेप तथा कर्जा रकम क्रमशः एक खर्ब आठ अर्ब ८२ करोड र ९२ अर्ब ६७ करोड ५० लाख रूपैयाँ थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया