Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा संसारकै धनीसँग प्रतिस्पर्धा गर्दै एसियाकै धनाढ्य

भारतमा संसारकै धनीसँग प्रतिस्पर्धा गर्दै एसियाकै धनाढ्य


नयाँ दिल्ली, पुस १८
एसियाकै धनाढ्य भारतीय व्यवसायी मुकेश अम्बानीले संसारकै धनी जेफ बेजोसको खुद्रा बिक्रेता अमेजनसँग भारतमा प्रतिस्पर्धा गर्न सेवा सुरु गरेका छन् । बीबीसीका अनुसार अम्बानीको रिलायन्स इन्डस्ट्रिजले उपभोक्ता तथा ग्राहकलाई अनलाइनबाटै किराना सामग्री बिक्रीमा सेवा दिन लागेको हो । यसका लागि कम्पनीले ग्राहकलाई साइन अप गरी सामानको अर्डर दिन आग्रह गरेको छ । कम्पनीले विशाल मोबाइल प्रयोगकर्ता रहेको भारतमा नयाँ व्यवसाय सुरु गरेको हो ।

रिलायन्सको आगमनले भारतीय बजारमा हाल रहेका अनलाइन रिटेल कम्पनीलाई नयाँ चुनौती दिने आँकलन गरिएको छ । अम्बानीको दुईवटा सब्सिडरी कम्पनी रिलायन्स रिटेल र रिलायन्स जिओले संयुक्त उपक्रममा जियोमार्ट सुरु गरेका हुन् । हाललाई यो सफ्टलन्च गरिएको कम्पनीले जनाएको छ । जियोमार्टले निःशुल्क र द्रुतगतिको सेवा दिने प्रतिबद्धता जनाएको छ । यसका लागि कम्पनीले किराना सामानको सूची तयार गरिसकेको छ ।

उक्त सूचीमा ५० हजार वस्तु समावेश छन् । अरु कम्पनीले भन्दा भिन्न तरिकाले जियोमार्टले आफ्ना स्थानीय स्टोरहरुबाट ग्राहकलाई सेवा दिनेछ । यसका लागि मोबाइल एप्लिकेसन सञ्चालन गर्नेछ । भारतमा अनलाइन बजार सुरुवाती चरणमा छ । मौजुदा बजारमा वर्षेनी ८७ करोड अमेरिकी डलरको कारोबार भइरहेको छ । यो भनेको कुल जनसंख्याको शून्य दशमलव १५ प्रतिशतले मात्रै यस्तो सेवा प्रयोग गर्ने गरेका छन् । तर विश्लेषकहरुको अनुमानमा सन् २०२३ सम्ममा झण्डै १४ अर्ब डलरको अनलाइन किनमेल हुनसक्नेछ । अहिले भारतमा बेजोसको अमेजन र वालमार्टको फ्लिपकार्टले बजारमा कब्जा जमाएको छ ।

गत वर्ष दुवै कम्पनी सरकारी नयाँ कानुनको चेपुवामा परेका थिए । भारतले गत वर्ष विदेशी कम्पनीलाई आफ्नै सब्सिडरीबाट सामान बेच्न रोकेको थियो । यसले भारतीय कम्पनीलाई फाइदा पुगेको थियो । उक्त नियम भारतीय कम्पनीको हकमा लागू नहुने भएकाले विदेशी कम्पनीले ठूलै चुनौतीको सामना गरिरहेका छन् ।

अम्बानी रिलायन्स इन्डस्ट्रिजका प्रमुख हुन् भने उनको सम्पत्ति ६० अर्ब डलरभन्दा धेरै छ । अम्बानीको मुख्य व्यवसाय तेल प्रशोधन हो । यसबाहेक अम्बानीले खुद्रा व्यवसाय र दूरसञ्चार सेवामा समेत हात हालेको छ । भारतमा रिलायन्सको आफ्नै स्टोरहरु रहेका छन् । उसले ह्युगो बोस र बर्बरी जस्ता विश्व ब्रान्ड पनि सञ्चालन गरिरहेको छ । सन् २०१९ मा कम्पनीले बेलायती टोय शप हाम्लेज पनि खरिद गरेको थियो । त्यस्तै रिलायन्स जियो भारतकै दोस्रो ठूलो टेलिकम सञ्चालक हो । यसका ३६ करोडभन्दा बढी उपभोक्ता छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

ताजा अपडेट