Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालडुम्जी पर्वको रौनक हुने गुम्बाहरू सुनसान

डुम्जी पर्वको रौनक हुने गुम्बाहरू सुनसान


महेन्द्र शाही
सोलुखुम्बु, असार २
विगतका वर्षहरूमा यतिबेला गुम्बाहरूमा सयौँ लामाहरूको साथमा हजारौँ दर्शनार्थीको भीडका बीच डुम्जी पर्वको रौनक देखिने सोलुखुम्बुका गुम्बाहरू यस वर्ष शान्त छ । वैशाखदेखि सुरु हुने उक्त पर्व यस वर्ष जेठ सकिँदा समेत कोरोना महामारीका कारण अन्यौलमा परेको खुम्बु पासङ ल्हमु गाउँपालिका २ स्थित क्याम्जजुङ गुम्बा व्यवस्थापन समितिका अध्यक्ष पेम्बा नुरु शेर्पाको भनाइ छ । डुम्जीमा सयौँको संख्यामा लामा र हजारौको संख्यामा दर्शनार्थीको उपस्थिति हुने गर्दछ, तर यस वर्ष कोरोना कहरका कारण भीडभाड गर्न नहुने तथा एक आपसमा सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले कार्यक्रम गर्न नसकिएको नाम्चेका लामाकाजी शेर्पा बताए ।

शेर्पा समुदायलगायत बौद्ध धर्मवालम्बीहरूले हरेक वर्ष विश्व शान्तिको कामना गर्दै मनाउने डुम्जी पर्व यसवर्ष के गर्ने भन्नेबारे अझै अन्यौलता छाएको छ । कतिपय गुम्बाहरूले कार्यक्रम नै स्थगित गरिसकेका छन् भने केही अनुकुल परिस्थितिको प्रतिक्षामा छन् । करिब छ सय वर्षदेखि वर्षेनी डुम्जी पर्व मनाउँदै आएको जुनबेँसीस्थित टाँसी थोङमेन महाविहार गुम्बाले पनि यसवर्ष ठूलो कार्यक्रम नगर्ने निधो गरेको छ ।

महामारीका कारण मानिसहरूको जमघट गर्न नमिल्ने भएकाले यस वर्षको कार्यक्रमनै स्थगित गरेको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष दोर्जी जाङ्बु लामाको जानकारी दिए  । सबैतिर महामारीको डर भएकाले पर्वको रौनक कम भएको उनको भनाइ छ । यो पर्व हरेक वर्ष सोलुखुम्बुका विभिन्न गुम्बाहरूमा करिब १ हप्तासँग धुमधामका साथ मनाउने परम्परा छ । बुद्धधर्म मान्ने समुदायले विभिन्न तिथिहरूलाई आधार बनाई धार्मिक विधिअनुसार पाठपूजा गरी धार्मिक विधिले समापन गरिन्छ । आदिम कालदेखि मनाउँदै आएको डुम्जी पर्वमा विभिन्न प्रकारका धार्मिक लामा नाचहरू प्रदर्शन गरिन्छ । तर यो वर्ष यस्तो नाचका रौनक हुने नहुने अन्यौलता बढेको छ ।

लामा नाचसँगै विभिन्न प्रकारका मुखुन्डो लगाई मानव जीवनका विभिन्न घटनाहरूको परिदृश्यहरू झल्काउने नाचहरू पनि देखाउने चलन छ । प्रमुख लामाले तन्त्रिक विधिको मध्यमबाट मानव समुदाय र प्राणीहरूको शान्तिका लागि दानवीया शाक्तिहरूलाई कमजोर बनाउने गर्दछ । धार्मिक पूजापाठको अन्त्यमा धार्मिक गुरूहरूबाट सबैमा दीर्घायुको कामना गर्दै ओङ अभिशेष प्रदान गरिन्छ । डुम्जी पर्वको आन्तिम दिन शेर्पा समुदायले विशेष संस्कृति झल्कने नृत्य र स्याब्रु नाचहरू ज्यादै आकर्षकरूपमा नाच्ने गर्दछ । डुम्जी पर्व सोलुखुम्बुको पंबोचे, थामे, खुम्बु, नावोचे, फोर्चे, रिमेज्युङ, लुक्ला, जुन्बेशी, सकार, किल्खोरदिङ, गोलीलगायतका शेर्पाहरूको बाक्लो बसोबस रहेको स्थानमा मनाउने प्रचलन छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया