Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालहोटलका मजदुर कर्मचारीले न्यूनतम सुविधा पाउने

होटलका मजदुर कर्मचारीले न्यूनतम सुविधा पाउने


काठमाडौं, साउन ५
होटल क्षेत्रमा आबद्ध मजदुर कर्मचारीले बन्दाबन्दी अवधिको न्यूनतम तलब सुविधा पाउने भएका छन् । होटल एसोसिएसन अफ नेपाल (हान) र पर्यटन तथा होटल क्षेत्रमा क्रियाशील मुख्य तीन ट्रेड युनियनबीच सम्झौता भएसँगै लामो समयदेखिको विवाद समाधान भएको हो । कोभिड १९ महामारीबाट सिर्जित अवस्था आगामी डिसेम्बर ३१ सम्म रहने आकलन गरी अप्रिल १३ देखि डिसेम्बर ३१ सम्मको अवधिका लागि सम्झौता भएको हानले जनाएको छ ।

नयाँ सम्झौताअनुसार अब होटलमा कार्यरत मजदुरले होटलको स्तरअनुसार न्यूनतम सेवा सुविधा पाउनेछन् । दुई सय बढी कोठा भएका होटलमा कार्यरत श्रमिक कर्मचारीले मासिक १० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै दुई सयभन्दा कम कोठा भएका पाँचतारे होटलका श्रमिक कर्मचारीले नौ हजार पाउनेछन् । त्यस्तै एक सयभन्दा बढी कोठा भएको चारतारे होटलमा कार्यरत मजदुरले आठ हजार चार सय ५५ पाउनेछन् ।

एक सयभन्दा कम कोठा भएका चारतारे होटलका कर्मचारीले महिनामा आठ हजार पाउनेछन् भने तीनतारे होटल वा सोहीसरहका रिसोर्टका मजदुरले पाँच हजार पाउने जनाइएको छ । यस्तै दुईतारे होटलले महिनामा प्रतिमजदुर चार हजार तीन सय तथा एकतारे वा अन्य पर्यटकस्तरीय होटलमा आपसी सम्झौताका आधारमा सुविधा उपलब्ध हुने भनिएको छ ।

होटल व्यवसायी र मजदुर संगठनबीच विभिन्न चरणमा बैठक भई ‘बाँचौँ र बचाऔँ’ को नीति अख्तियार गरी सहकार्य गर्ने सहमति गरिएको हानले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सम्झौताले दुःखका बेलामा पारिवारिक एकतासमेत प्रदर्शित भएको हानको ठम्याइ छ । साथै हानले शुक्रबार नेपाल राष्ट्र बैंकबाट जारी मौद्रिक नीतिले पनि यस उद्योगका धेरै विषय तथा समस्या सम्बोधन भएको र यस उद्योगमा उक्त नीतिबाट ठूलो टेवा पुग्ने विश्वास लिएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया