Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनुवाकोट र धादिङका केही भाग काठमाडौंमा गाभ्न दवाव

नुवाकोट र धादिङका केही भाग काठमाडौंमा गाभ्न दवाव


काठमाडौं ।
उपत्यकाको फोहोर सिसडोलमा लगेर फालिने गरेकोले त्यस क्षेत्रका स्थानीयले विगत १५ वर्षदेखि समस्या झेल्दै आएका छन् । फोहोर र दुर्गन्धले आजित भएका स्थानीय सिसडोलवासीले काठमाडौँको फोहोर अब काठमाडौँमै व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेका छन् ।

सिसडोल–वञ्चरेडाँडा फोहोरमैला व्यवस्थापन सरोकार समितिले राजधानीमा एक कार्यक्रमको आयोजना गरी उपत्यकाको फोहरले सिसडोल आसपासका बस्तीहरूमा निरन्तर आतङ्क मच्चाउँदै आइरहेकाले समस्या हल गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्बाट वा मुख्य सचिव र सम्बन्धित मन्त्रालयका सचिवहरू, विषयगत समितिहरू र उपत्यका नगर फोरमसहित सरोकारवालाहरूको प्रतिनिधिको उपस्थितिमा संयुक्त बैठक बसी तत्काल स्थानीयवासीहरूको माग सम्बोधन गर्न आग्रह गरेको छ ।

१५ दिनभित्र आफूहरूको माग पूरा नगरे फोहोरमैला व्यवस्थापनलाई रोक्ने समेत समितिले चेतावनी दिएको छ । समितिले सरकारसँग ११ बुँदे माग राख्दै आफ्ना मागहरू १५ दिनभित्र पूरा नगरे फोहोर ल्याउने कार्य रोक्ने चेतावनी दिएको हो ।

समितिले सिसडोल, वन्चरेडाँडा आसपासका अति प्रभावित वडाहरू काठमाडौँ जिल्लामा समायोजन गर्नुपर्ने, प्रभावित क्षेत्र आसपासको जग्गा अधिकरण गर्ने, फोहरमैला व्यवस्थापन समिति निर्माण गर्ने, अल्पकालीन डम्पिङसाइट सिसडोल बनाउने, दीर्घकालीन डम्पिङसाइट वन्चरेडाँडामा बनाउने, वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन, फोहरमैला व्यवस्थापन ऐनसम्बन्धी, निर्माणाधीन बन्चरेडाँडा आयोजनामा भएको लापरबाहीसम्बन्धी, स्वास्थ्य र शिक्षासम्बन्धी, कृषि पशु र खानेपानीसम्बन्धी र यातायात (सडक) र रोजगारको प्रबन्धसम्बन्धी मागहरू पूरा गर्न नेपाल सरकारबाट निर्णय हुनुपर्ने ११ बुँदे माग समितिले राखेको छ ।

त्यस्तै फोहरको व्यवस्थापनको जिम्मा काठमाडौँलाई दिएर ककनी १,२,३ धुनवेशी नगरपालिका १ लाई वा सिसडोलका आसपासको भुगोल बस्ती काठमाडौँ जिल्लामा समायोजन गरेर व्यवस्थापन गर्न समेत समितिले आग्रह गरेको छ । समितिका संयोजक नवराज ढुंगानाले पटक–पटक जायज माग उठाउँदा पनि सरकारले आश्वासन मात्र दिएको भन्दै यसपटक १५ दिनभित्र पूरा नगरे फोहोर ल्याउन ठप्प पार्ने चेतावनी दिए । उनले सिलडोलमा अब कि त फोहोर बस्ने कि त मान्छे बस्ने गरी टुंगो लगाउन सरकारसँग माग गरे ।

‘भौतिक वातावरण प्रदूषित स्थानमा मान्छे र फोहर किन सँगै राखियो ?’ ढुंगानाले प्रश्न गरे । फोहोरको अन्यत्र व्यवस्थापन गर्न या सिलडोलवासीलाई उपयुक्त स्थानमा ससम्मान व्यवस्थापन गर्न माग गरे । ‘सरकार गैरजिम्मेवार भएको छ, त्यसमा करोडौँको भ्रष्टाचार हुन्छ ।’ उनले भने– ‘कुनै पनि हालतमा अब हाम्रो ठाउँमा फोहर व्यवस्थापन गर्नै दिँदैनौं र अब काठमाडौँको फोहर काठमाडौँमा नै व्यवस्थापन गर्नुपर्छ ।’

कार्यक्रममा बोल्दै सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले फोहोरमैलाको व्यवस्थापनको लागि नयाँ प्रविधिको मेसिन राख्नुपर्नेमा जोड दिए । फोहोरमैला व्यवस्थापन सधै गम्भीर विषय बन्दै आएकाले यसको दिगो समाधानमा जोड दिए । उनले भने– ‘प्रविधिमार्फत फोहोरको समाधान हुन्छ । फोहोरमैलाको व्यवस्थापनको जिम्मेवारी सरकारको होइन काठमाडौँ महानगरपालिका हो ।’

नेपाली कांग्रेस नुवाकोटका नेता रमेश महतले काठमाडौँबाट प्रहरी लगेर जबर्जस्त फोहोर फालिने गरेको आरोप लगाए । उनले जनतामाथि जोडजर्बजस्ती सह्य नहुने बताए । महतले भने,– ‘सरकारले त्यसको वैकल्पिक व्यवस्थापन गरेर कर उठाएर यसको उचित व्यवस्थान गर्नुपर्छ ।’ समितिले १५ वर्षसम्म पनि फोहरको पहाड बनाई गाउँबस्ती नै दूषित, वातावरण दूषित, मानव स्वास्थ्य दूषित, जग्गाजमीन दूषित, खोला दूषित यो फोहरको डाँडाबाट जनताले रोग र दुर्गन्ध भोगिरहेको भन्दै सरकारसँग प्रश्न गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया