Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपर्साको राष्ट्रिय वन क्षेत्रमा काठ तस्करी बढ्यो

पर्साको राष्ट्रिय वन क्षेत्रमा काठ तस्करी बढ्यो


सन्तोष पौडेल
वीरगञ्ज, पुस २२
चिसोको कारण वनगस्ती कम भएको र विभिन्न सुरक्षा निकायले पनि काठ तस्करी नियन्त्रणमा चासो नदेखाएको कारण अहिले पर्साको उत्तरी क्षेत्रको राष्ट्रिय वनमा रूखको फँडानी बढेको छ । चिसोको कारण घरायसी प्रयोगको लागि दाउरा र काठ तस्करहरूले व्यापारका लागि रूख कटान गर्ने क्रम बढेको छ ।

पर्सा जिल्लामा ११ हजार पाँच सय ७५ हेक्टर वनक्षेत्र छ । यो वन क्षेत्र वार्षिकरूपमा दुई प्रतिशतले अतिक्रमण र फँडानीको शिकार हुँदै छ । सबडिभिजन वन कार्यालय, बढनिहारका सहायक वन अधिकृत शशिकान्त तिवारीले वार्षिक दुई प्रतिशतले वन क्षेत्र अतिक्रमण र फँडानीको शिकार भइरहेको बताए । उनले हालका दिनमा पर्याप्त कर्मचारी नहुँदा पनि वन फँडानी नियन्त्रण गर्न समस्या परेको बताए । उनले माओवादी जनयुद्धकाल र मधेस आन्दोलनताका पर्साको वन व्यापकरूपमा फँडानी भएको र सोको तुलना अहिले निकै नियन्त्रणमा आइसकेको बताए ।

तिवारीले यस्तो दाबी गरे पनि पर्सा जिल्लाको वनको अवस्था भने निकै कहालीलाग्दो छ । पर्साको उत्तरी क्षेत्रमा वनसँग जोडिएका दुईवटा साझेदारी वन उपभोक्ता समिति र ६ वटा सबडिभिजन वन कार्यालय तथा इप्रका, प्रहरी चौकी र सशस्त्र प्रहरी बेस छन् । तर उनीहरूको नाकमुनिबाट ठूलो परिमाणमा काठ तस्करी भइरहेको छ । राति काठ तस्करहरूले जङ्गल फँडानी गरेर काठ भित्र्याउने र नजिकको समिल तथा सीमापार भारतसम्म पु-याउँदै आएका छन् । जङ्गल क्षेत्रबाट काँधमा, मोटरसाइकल, साइकल, ट्याक्टरमा गोलिया काठहरू बोकेर ल्याउने गरिन्छ । अहिलेसम्म वन तथा सुरक्षाकर्मीहरूले एक जना पनि काठ तस्करलाई पक्राउ गर्न सकेका छैनन् ।

वार्षिकरूपमा आधा दर्जन काठ तस्कर पनि समातिँदैनन् । काठसँगै समातिनेमा खासगरी भरियाहरू पर्दछन् । वन कर्मचारी र सुरक्षाकर्मीसँग काठ तस्करहरूको फेहरिस्त छ । तर, उनीहरू अहिलेसम्म समातिएका छैनन् । केही काठ तस्कर समातिए पनि कानुनको सहारामा वन कार्यालयबाटै छुट्छन् ।

हालै मात्र एउटा समिल सञ्चालक रङ्गेहात काठ तस्करी गर्दा पक्राउ परे पनि उनलाई जनप्रतिनिधिको सिफारिसमा तारिखमा छाडिएको छ ।पर्सा जिल्लामा ६ वटा सबडिभिजन वन कार्यालय छन् । यी प्रत्येक कार्यालयमा एक जना सहायक वन अधिकृत, एकजना रेन्जर र ८ जना वनरक्षक गरी १० जनाको दरबन्दी तोकिएको छ । तर, कुनै पनि सबडिभिजन वन कार्यालयमा दरबन्दीअनुसारका कर्मचारी छैनन् । कर्मचारी अभावमा पनि वन फँडानी आशाप्रदरूपमा नियन्त्रणमा आउन नसकेको सबअ तिवारी बताउँछन् ।

यसैगरी, तिवारीले आर्थिक प्रलोभनमा वन कर्मचारीहरू नपरेको दाबी गर्छन् । उनले वन कर्मचारी र काठ तस्करबीचको सहकार्य प्रमाणित भए सम्बन्धित कर्मचारीलाई कारबाही गर्ने बताए । उनले सुरक्षाकर्मीको अभावमा वन सुरक्षा प्रभावकारी नभएको बताएका छन् । मूल काठ तस्कर तारिखमा छाडिने र भरियाहरू सजायको भागिदार हुने गरेकाले पनि काठ तस्करीमा नियन्त्रण हुन नसकेको हो । तस्करहरूको मनोबल बढेर अहिले खुलेआम तस्करी भइरहेको छ । सबैया साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष लखनलाल साहले वन र समितिको गस्ती टोलीलाई देखेर तस्करहरू भाग्ने गरेको र काठ तथा साइकल, मोटरसाइकल मात्र बरामद हुनेगरेको बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया