Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसिस्नेरी र पहलमान भीरको पहिरो रोक्न भूगर्भविद्को टोलीद्वारा अध्ययन

सिस्नेरी र पहलमान भीरको पहिरो रोक्न भूगर्भविद्को टोलीद्वारा अध्ययन


सोलुखुम्बु । सोलुखुम्बुको जिल्लाको सिस्नेरी र पहलमान भीरको पहिरो रोकथामका लागि भूगर्भविद्को टोलीले स्थलगत अध्ययन गरेको छ । यसअघि प्रारम्भिक अध्ययन गरिएको सोलुदुधकुण्ड नगरपालिका ११ तिङलास्थित सिस्नेरी र पहलमान भीरको सोमबार सडक डिभिजन कार्यालयमार्फत खटिएको भूगर्भविद् डाक्टर प्रकाश दास उलकको टोलीले दीर्घकालीन पहिरो नियन्त्रणका विषयमा स्थलगत अध्ययन गरेको हो ।

टोलीले स्लोब स्टेबलाइजेसन, डिटेल इन्जिनियरिङ सर्वे, जियोलोजिकल, इन्भेस्टिकेसन तथा डिजाइनको काम गरेको डा. प्रकाश उलकले जानकारी दिए । पहिरो रोकथामका लागि सो क्षेत्रमा भएको पानीलाई पाइपमार्फत कटान गर्नुपर्ने तथा सडक नजिकै वाल लगाइएसँगै पहिरोको जोखिम कम हुने उनले बताए । यस्तै, सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले अध्ययन टोलीले रिपोर्ट बुझाएलगत्तै पहिरो रोकथामको काम अगाडि बढ्ने बताए ।

जिल्ला सदरमुकाम सल्लेरीलाई जोड्ने एकमात्र सडकअन्तर्गत पर्ने साल्मे–सिस्नेरीमा पहिरो खस्दा बारम्बार सडक अवरुद्ध हुनेगरेको छ । पहलमान भीर र सिस्नेरी पहिरोका कारण बर्खामा सडक अवरुद्ध हुँदा वर्षेनी सयौँ यात्रुले सास्ती खेप्दै आएका छन् । सडक निर्माण गरेको करिब १० वर्ष पूरा भएको छ । सुरूवातीदेखि नै उक्त क्षेत्रमा पहिरो खस्ने गरे पनि दिगो व्यवस्थापनमा ध्यान नपुगेको भन्दै स्थानीयले गुनासो गर्दै आएका छन् ।

विगतका वर्षहरूमा माथिबाट ठूलो पहिरो खस्दा सोही ठाउँमा पटक–पटक सवारीसाधन दुर्घटनामा पर्नुका साथै यात्रुहरू समेत घाइते भएका थिए । उक्त क्षेत्रको पहिरो नियन्त्रणमा आएमा सवारी चलाउन तथा आवतजावतमा सहज हुने भन्दै नागरिकहरूले खुशी व्यक्त गरे । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया