Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालस्वदेशी वस्तुको उपयोगसम्बन्धी निर्देशिकाको प्रभावकारी कार्यान्वयनमा पहल गरिने

स्वदेशी वस्तुको उपयोगसम्बन्धी निर्देशिकाको प्रभावकारी कार्यान्वयनमा पहल गरिने


काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले लामो समयदेखि अन्योलमा रहेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने भएको छ ।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले नेपालका लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धनका लागि सरकारले ल्याएको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने विषय कागजमै सीमित रहेको बताए । महासंघको हालै चयन भएको नयाँ कार्यसमितिले बुधबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सिंहले निर्देशिकाको अक्षरश पालना गराउन सरकार र सरोकारवाला निकायसँग छलफल शुरु गर्ने जानकारी दिए । स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनको उपयोग गरी परम्परागत कृषि, रेमिट्यान्स र आयातमा आधारित अर्थतन्त्रलाई औद्योगीकरणमा उन्मुख गराउने उद्देश्यले सरकारले ल्याएको उक्त रणनीति कार्यान्वयन गराउन सके अर्थतन्त्रमा लघु, घरेलु तथा साना उद्योगको योगदान ह्वात्तै बढ्ने अध्यक्ष सिंहको भनाइ थियो ।

मुलुकभर सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरुको स्तरोन्नति, पुनरुत्थान र विस्तारका कार्यक्रमहरु सञ्चालन गर्न पहल गर्ने र उद्यमीको क्षमता अभिवृद्धि गरी गुणस्तरीय वस्तु उत्पादन र उत्पादकत्व बढाउने कार्यक्रम सञ्चालनमा सहयोग र समन्वय गर्ने योजना रहेको पनि अध्यक्ष सिंहले बताए । स्थानीय निकायहरुमार्फत महासंघका पालिका, जिल्ला तथा प्रदेश संघहरुमा कार्यक्रमहरु ल्याउने प्रयास गर्ने उनको भनाइ छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भएको स्थानीय राजस्व परामर्श समितिमा महासंघको हरेक स्थानीय तहको प्रतिनिधित्वको सुनिश्चितता गर्ने पनि उनले बताए । नेपाल सरकारसँगको सहकार्यलाई थप मजबुत बनाउँदै लघु घरेलु तथा साना उद्योगको प्रवर्द्धन र विकासमा सहयोग र सहकार्य गर्न चाहने सम्भावित दातृनिकायहरुको पहिचान गरी कार्यक्रम सञ्चालन गर्न पहल गर्ने नयाँ कार्यसमितिको योजना रहेको उनले जानकारी दिए ।

नेपालका लघु, घरेलु तथा साना उद्योगहरुको विद्युतीय तथ्याङ्क अद्यावधिक गर्नुका साथै विद्यमान नीति, ऐन तथा कार्यविधिहरुलाई लघु, घरेलु तथा साना उद्योगमैत्री बनाउन पहल र प्रयत्न गर्ने महासंघको योजना रहेको छ । कोरोनाका कारणले स्थगित भएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव आयोजना गरी स्वदेशी उत्पादनको बजार प्रवर्द्धन र विकास गर्न सहयोग गर्ने, लघु, घरेलु तथा साना उद्यमीहरुलाई आवश्यकताअनुसार साना उद्योगको विकास र प्रवर्द्धनका लागि पर्याप्त कार्यक्रमहरु उपलब्ध गराउन पहल गर्ने महासंघको योजना रहेको अध्यक्ष सिंहले सुनाए । सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सहजीकरण गर्ने पनि महासंघको योजना छ ।

औद्योगीकरणमार्फत मुलुकलाई आर्थिक रुपमा समृद्ध र आत्मनिर्भर बनाउन उद्यमी व्यवसायीहरु क्रियाशील रहेको उनले बताए । नेपालजस्तो कम विकसित मुलुकको आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योग व्यवसायले अहम् भूमिका निर्वाह गर्दै आएको उनको भनाइ छ । उनका अनुसार नेपालमा सञ्चालित सम्पूर्ण उद्योगहरुको ९५ प्रतिशत लघु, घरेलु तथा साना उद्योगले ओगटेको छ भने मुलुकको निर्यातको ६० प्रतिशतभन्दा बढी योगदान पु-याइरहेको छ । यति हुँदाहुँदै पनि यो क्षेत्र अझै पनि उपेक्षित रहिआएको उनले बताए ।

उद्योग विभागको पछिल्लो आँकडाअनुसार आर्थिक वर्ष २०७७/०७८ सम्ममा मुलुकभर कुल छ लाख दुई हजार नौ सय २१ लघु, घरेलु तथा साना उद्योग दर्ता भएका छन् । यसमध्ये चार लाख ५७ हजार छ सय ४३ उद्योगहरु दर्ता कायम भई सञ्चालनमा छन् । ती उद्योगहरुमा प्रस्तावित कुल पुँजी लगानी ८० हजार एक सय ८९ दशमलव तीन करोड रुपैयाँ छ भने प्रस्तावित रोजगारी ३२ लाख ८९ हजार पाँच सय १६ जना रहेको तथ्याङ्कबाट देखिएको छ भने परम्परागत रुपमा यत्रतत्र छरिएर रहेका असंगठित उद्यम व्यवसायहरुको संख्या समेत ठूलो रहेको छ ।

पत्रकार सम्मेलनमा महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरी, पूर्वअध्यक्ष सुरेश प्रधान, वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्ष हरिहर थापा, महिला उद्यमी समितिका अध्यक्ष रोशनी उपाध्यायलगायतले महासंघका भावी योजनाबारे जानकारी दिएका थिए । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया