Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमेडिसिटी अस्पतालको लापरबाहीले सामान्य बिरामीको मृत्यु, चिकित्सकलाई उन्मुक्ति

मेडिसिटी अस्पतालको लापरबाहीले सामान्य बिरामीको मृत्यु, चिकित्सकलाई उन्मुक्ति


काठमाडौं । नेपाल मेडिसिटी अस्पतालको लापरबाहीले सामान्य बिरामीको ज्यान गएको छ । एनआरएनएका संस्थापक उपेन्द्र महतोको समूहद्वारा सञ्चालित उक्त अस्पतालको लापरबाहीले पोखराका योगेन्द्र बस्नेतको मृत्यु भएको हो ।

गत जेठ १७ गते सामान्य स्वास्थ्य जाँच गर्न अस्पताल पुगेका बस्नेतलाई चिकित्सकले पित्तथैलीको अपरेसन गर्नुपर्ने बताएपछि २२ गते ल्याप्रोस्कोपी विधिद्वारा शल्यक्रिया गरिएको थियो । तर, उपचारकै क्रममा उनको जेठ २५ गते मृत्यु भएको हो । बिरामी डाक्टरको निगरानीमा हुनेपर्नेमा डाक्टर नै नगएका कारण बस्नेतको निधन भएको पीडित परिवारको दाबी छ । परिवारका अनुसार बस्नेतलाई डा. सुनिल शर्माले पित्तथैलीको शल्यक्रिया गर्नुपर्ने सल्लाह दिएका थिए ।

शर्माको सल्लाहअनुसार नै शल्यक्रिया गरी सामान्य शय्यामा सारिएको थियो । तर, २४ गते बेलुका बिरामीले अपरेसन गरेको भागमा दुखेको भन्दै नर्सलाई खबर गरेका थिए । नर्सले जाँच गर्दा रक्तचाप सामान्य देखिएको बताएको र रक्तचाप सामान्य देखिएपछि ट्वाइलेट गएका बिरामी योगेन्द्र त्यही ढलेका थिए । ढलेपछि योगेन्द्रको मुख बांगिएको थियो । बिरामीका छोरा समिरका अनुसार बिरामी ढलेपछि आएको चिकित्सकको टोली सामान्य अवस्था भएको भन्दै बाहिरिएको थियो । सोही रातको ३ बजे बिरामी अचेत भएको र मेडिकल अफिसर आएर कृत्रिम श्वास दिई आईसीयूमा लगिएको थियो । आईसीयूमा लैजानुपर्ने अवस्था आएपछि मात्रै अस्पतालाका चिकित्सकले भिडियो एक्सरे गरी अप्रेसन गरेकै ठाउँमा आन्तरिक रक्तश्राव भएको भन्दै पुनः अपरेसन गर्नुपर्ने बताएका थिए ।

दोहो¥याएर गरेको अपरेसनपछि पनि रक्तश्राव नरोकिएको र ‘मल्टी अर्गान फेल’ भएकाले बिरामीलाई भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमै राखिएको अवस्थामा बिरामीको जेठ २५ गते मृत्यु भएको थियो । मृत्यु हुनुको मुख्य कारण चिकित्सकको गम्भीर लापरबाही भएको भन्दै परिवारले असार ६ गते अस्पतालमा निवेदन दिएको थियो । अस्पतालले पीडितको मागअनुसार डा. जयन्द्र बज्राचार्यको नेतृत्वमा छानबिन समिति बनाई सोही समितिको प्रतिवेदनका आधारमा अस्पतालले उपचारमा नजाने चिकित्सक राजीव मिश्रसहित अन्य दुई जनालाई निलम्बन गरेको छ । अस्पतालले बिरामीको उपचारमा लापरबाही गर्ने चिकित्सकमाथि कारबाही गरी कानुनी दायरामा ल्याउनुपर्नेमा निलम्बन मात्रै गरेर गल्ती ढाकछोप गर्न खोजिरहेको परिवरको आरोप छ । जुन घटना अहिले नियमन निकाय नेपाल मेडिकल काउन्सिलमा समेत पुगिसकेको छ ।

अस्पतालका अनुसार उपचारमा संलग्न मुख्य चिकित्सक डा. सुनिल शर्मालाई जेठ २४ गते राति डा. राजिव मिश्रले बिरामीको जाँच नै नगरी स्वास्थ्य अवस्था ठीक भएको गलत जानकारी गराएका थिए । यसरी बिरामीलाई निगरानीमा राखेर हेर्नुपर्ने चिकित्सकले नै अस्पताल नै नगई सिनियरलाई गलत रिपोर्टिङ गरेका कारण सामान्य अवस्थामा रहेका बिरामीले ज्यान गुमाउनुपरेको आफन्तको भनाइ छ । पीडित परिवारले जेठ २४ गते बेलुका ६ बजेबाट उपचारका लागि कुन–कुन चिकित्सक उपस्थित भए र के–के उपचार विधि अपनाइयो भन्ने सत्यतथ्य छानबिन गरेर कारबाही गर्न मेडिकल काउन्सिल समक्ष माग गरेका छन् । मेडिकल काउन्सिलमा गत असार २८ गते नै पीडित पक्षले रजिष्ट्रार डा. कृष्ण अधिकारीलाई भेटेरै उजुरी दर्ता गराएको थियो । तर, अहिलेसम्म पनि काउन्सिलले मेडिसिटी अस्पतालसँग घटनाबारे बुझ्ने प्रयास नगरेको परिवारको आरोप छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया