Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकलेजमा छुट दिन सम्झौतापत्रमा हस्ताक्षर

कलेजमा छुट दिन सम्झौतापत्रमा हस्ताक्षर


काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ र काठमाडौंस्थित एभरेस्ट कलेज, प्रिमियर कलेज, कोलम्बस कलेज, काठमाडौं नेसनल कलेज र ललितपुरस्थित वेदास कलेजबीच बहालवाला प्रहरीका परिवार, अमर प्रहरी परिवार तथा पूर्वप्रहरी कर्मचारीका परिवारका सन्ततीहरूलाई छात्रवृत्ति तथा एकमुस्ट वार्षिक शुल्कमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंह र उक्त कलेजहरूका तर्फबाट उक्त कलेजहरूका सञ्चालक विष्णुहरि पाण्डेले संघको कार्यालय भृकुटीमण्डपमा शुक्रबार आयोजित कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुको साथै सम्झौतापत्र आदानप्रदान समेत गरेका हुन् ।

कार्यक्रममा संघकी अध्यक्ष सिंहले सेवा नै धर्म भन्ने मूल मन्त्रको आदर्श वाक्यले निर्देशित नेपाल प्रहरी श्रीमती संघले स्थापनाकालदेखि नै आर्थिकरूपमा विपन्न तथा अवसर नपाएका व्यक्ति तथा समुदायमा मानवीय सहयोग गर्दै आइरहेको स्मरण गरिन् । साथै उनले संघको स्थापनाको उद्देश्यलाई निरन्तरता दिँदै उल्लिखित प्रस्तावलाई सहर्स स्वीकार गरी सम्झौता सम्पन्न हुनु संघ र कलेजहरूको प्रतिष्ठाको निमित्त गौरवको विषय भएको बताइन् ।

संघकी अध्यक्ष सिंहले देशको शान्ति सुरक्षाको अतिरिक्त प्राकृतिक प्रकोप तथा अपराध नियन्त्रणमा आफ्नो ज्यानको प्रवाह नगरी देश र जनताको लागि खटिएका प्रहरी कर्मचारी, अमर प्रहरी तथा पूर्वप्रहरी कर्मचारीहरूको योगदानको उच्च मूल्यांकन गरी सम्झौतामार्फत कलेजहरूले प्रदान गरेको सहयोग अतुलनीय भएको बताइन् । साथै उनले कलेजहरूको शैक्षिक सेवा विस्तार तथा योगदानका सत्प्रयासहरू आगामी दिनमा अझै विस्तारित हुने विश्वास समेत व्यक्त गरिन् । सो अवसरमा उक्त कलेजहरूका सञ्चालक विष्णुहरि पाण्डेले कलेजहरूमार्फत समाजमा रहेका विभिन्न तह र तप्कामा सेवाभावले योगदान पु-याउन पाउँदा गौरव महसुस भएको बताए ।

साथै उनले सम्झौतामार्फत राम्रो कामको थलानी भएको चर्चा गर्दै नेपाल प्रहरीका परिवारलाई शैक्षिक सहयोग गर्न पाउँदा खुसी लागेको र सम्झौताअन्तर्गतको सुविधा अति आवश्यक हुनेले प्राप्त गर्न सकेमा सम्झौता सार्थक हुने बताए । उक्त कलेजहरूमा १० जोड २ को लागि पाँच जनालाई पूर्ण छात्रवृत्ति, ब्याचलर अफ कम्युटर एप्लिकेसनतर्फ दुई जनालाई पूर्ण छात्रवृत्ति, ब्याचलर अफ बिजनेस म्यानेजमेन्टतर्फ एक जनालाई पूर्ण छात्रवृत्ति तथा १० जोड २ व्यवस्थापन संकायतर्फ वार्षिकरूपमा ७५ प्रतिशत छुट र विज्ञान संकायतर्फ ७३ प्रतिशत छुट गर्नेगरी दुवै संकायमा जम्मा ५० जनालाई छुट दिने सम्झौतामा उल्लेख गरिएको छ । प्रस्तुत सम्झौता यही साउन एक गतेदेखि कार्यान्वयन भई २०८१ असार ३० गतेसम्म दुई वर्षका लागि लागू हुनेछ । उक्त अवसरमा प्रहरी नायब महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघक पदाधिकारीहरू, विभिन्न कलेजका पदाधिकारीहरूलगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया