Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदेवचुलीमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह

देवचुलीमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह


काठमाडौं । नवलपरासीको देवचुली नगरपालिकाका मेयर हरिप्रसाद न्यौपानेले देवचुली क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । देवचुलीमा लगानी गर्न आउने लगानीकर्तालाई स्थानीय सरकारका तर्फबाट गर्नुपर्ने सबै प्रकारको सहयोग गर्न आफूहरू तयार रहेको उनले बताए ।

नगरपालिकाका मेयरको नेतृत्वमा आएको नगरपालिका र देवचुली उद्योग वाणिज्य संघका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले आइतबार नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूलाई भेटी देवचुलीलाई लगानीको आकर्षण गन्तव्यको रूपमा विकास गर्न स्थानीय सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य रहेको सन्देश दिएको थियो । देवचुलीको भौगोलिक अवस्थिति, प्राकृतिक स्रोत साधन र स्थानीय तहमा स्थानीय सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य रहेका कारण देवचुलीमा लगानी गर्न प्रतिनिधिमण्डलले आग्रह गरेको हो । उद्योग स्थापना, पर्यटन विकास, सार्वजनिकस्थल तथा पूर्वाधार निर्माणलगायतमा लगानीको प्रचुर सम्भाव्यता रहेको प्रतिनिधिमण्डलले स्पष्ट पारेको थियो ।

महासंघका अध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघाइ सहभागी रहेको भेटवार्तामा मेयर न्यौपानेले महासघको राष्ट्रिय अन्तर्राष्ट्रिय तहमा बलियो प्रभाव रहेकाले महासंघमार्फत स्वदेशी एवं विदेशी लगानी भित्र्याउने कार्यमा सहयोग गरिदिन आग्रह समेत गरे ।

उनले भने, ‘महासंघका पदाधिकारीज्यूहरू आफैँ पनि ठूला लगानीकर्ताहरू हुनुहुन्छ, तपाईँहरूको सहयोग हाम्रो क्षेत्रले खोजेको छ । लगानीको वातावरण निर्माणसहित सबै सहजीकरणका लागि हामी तयार छौँ ।’ महासंघका अध्यक्ष गोल्छाले देवचुलीमा स्थानीय सरकार र निजी क्षेत्रको संस्था उद्योग वाणिज्य संघबीचको सहकार्य देखेर आफू अत्यन्त प्रभावित भएको उल्लेख गर्दै देवचुलीमा रहेको सम्भाव्यताका सम्बन्धमा विज्ञको सहयोगमा ठोस अध्ययन गराई त्यसैको आधारमा त्यस क्षेत्रको विकासमा अगाडि बढ्न सुझाव दिए ।

‘महासंघले आफ्नातर्फबाट सहयोग गर्न हामी तयार छौँ तर एउटा ठोस अध्ययनका आधारमा लगानी प्रवद्र्धनसहित आर्थिक विकासका कुरालाई अगाडि बढाउन पाइयो भने त्यसले छिटो मूर्तरूप लिन सक्छ’, अध्यक्ष गोल्छाले भने । महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघाईले स्थानीय सरकार र उद्योग वाणिज्य संघबीच सहकार्यको यो प्रयासले नै त्यस क्षेत्रमा अर्थिक विकासको बलियो सम्भावना रहेको देखाउने बताए ।

स्थानीय सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई स्थानीय ऐनले पनि महत्वपूर्ण प्राथमिकता दिएकाले राजस्व संकलन, बस पार्क, मनोरज्जन पार्क, केबलकार निर्माण, सरसफाइलगायतका क्षेत्रमा काम गर्न सकिने उनीहरूको भनाइ थियो । नगरपालिका र संघ मिलेर आफ्ना क्षेत्रका सम्भाव्यता पहिचान गरी त्यसैको आधारमा दिगोरूपमा सहकार्य गर्न सहमतिपत्र हस्ताक्षर गरेर जान पनि उपाध्यक्षहरूले सुझाव दिए । देवचुली उवांघका अध्यक्ष सूूर्यप्रसाद दवाडीले समृद्ध देवचुलीको भोक स्थानीय सरकार र निजी क्षेत्र दुवैलाई भएकाले देवचुलीमा लगानीको अभियानलाई अगाडि बढाइएको स्पष्ट पारे । भेटवार्तामा नगरपालिकाका उपमेयर पार्वता तिवारी, देवचुली उवासंघका पदाधिकारीहरू, नगरपालिकाका प्रवक्ता वडाध्यक्षसहितको उपस्थिति थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x