Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलामो दूरीमा चितवनबाट गुड्न थाले विद्युतीय सवारी

लामो दूरीमा चितवनबाट गुड्न थाले विद्युतीय सवारी


नारायणगढ (चितवन) । लामो दूरीमा चितवनबाट विद्युतीय सार्वजनिक सवारी सञ्चालनमा आएका छन् । लामो दूरीमा चल्ने विद्युतीय सवारीसाधन जिल्लाका भरतपुर महानगर, चितवन छाहारी, त्रिनेत्र र चौतारी यातायात सेवा प्रालीले सञ्चालनमा ल्याएका हुन् ।

नारायणगढ–हेटौँडा–वीरगञ्ज र नारायणगढ–काठमाडौँका लागि विद्युतीय बस सञ्चालनमा ल्याइएको भरतपुर महानगर यातायात प्रालिका अध्यक्ष चीनबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार नारायणगढ–काठमाडौँका लागि महानगर यातायात प्रालिले छ सवारी सञ्चालनमा ल्याएको छ । त्रिनेत्र र चौतारी यातायात प्रालिले सञ्चालनमा ल्याएका सबै बस नारायणगढ–काठमाडौँका लागि सञ्चालन भइरहेका छन् ।

हाल सञ्चालनमा आएका सवारीसाधनमा ६० किलोवाट मोटरपावर जडान गरिएको जनाउँदै बोहोराले गाडी एकपटक पूर्णरुपमा चार्ज गरेपछि दुई सय किलोमिटरसम्म गुड्ने बताए । राज्यले विद्युतीय सवारीसाधन सञ्चालनका लागि ल्याएको नीतिअनुसार विद्युतीय बस सञ्चालनमा ल्याइएको बोहोराले बताए । वातावरण प्रदूषण नहुने भएकाले पनि यस प्रकारका सवारी उपयुक्त हुने उनको भनाइ थियो । डिजेलको मूल्यवृद्धि भइरहेका बेला विद्युतीय सवारीसाधन सञ्चालन गर्दा मितव्ययीता समेत हुने उनले बताए ।

चालकसहित ११ जना अट्ने सवारी प्रदूषणरहित र आरामदायी भएको नारायणगढबाट सिमरा जाँदै गरेका यात्रु लोक खड्काले बताए । डिजेलबाट चल्ने गाडीभन्दा यो गाडी सफा र आरामदायी भएको उनको भनाइ थियो । सञ्चालन भएयता यात्राका लागि मिलेसम्म विद्युतीय सवारी रोज्ने गरेको उनले बताए ।

आफूले पहिलो पटक विद्युतीय सवारी चढ्न लागेको भन्दै नारायणगढबाट वीरगञ्ज जान लागेका अप्रोज आलमले फरक महसुस गरेको बताए । गाडी चढ्दै गर्दा सफा, आवाज कम र आरामदायी पाएको पहिलो पटक विद्युतीय सावारी चढ्दाको अनुभवसहितको यात्रा आरादायी हुने विश्वास व्यक्त गरे ।

विद्युतीय सवारीमा यात्रा गर्दा सफा, आवाज नआउने र पूर्णरुपमा वातावरण अनुकूलित हुने जनाउँदै चितवन छाहारी यातायात प्रालिका अध्यक्ष बद्री पौडेलले यो यात्रुको पहिलो रोजाइँमा पर्ने बताए । डिजेलबाट चल्ने बसमा भन्दा विद्युतीय गाडीमा यात्रा गर्दा भाडामा केही महँगो भए पनि यात्रुको कुनै गुनासो नआएको उनको भनाइ थियो । उनका अनुसार भरतपुरबाट हेटौंडासम्म पुगेको रू. दुई सय ८०, वीरगञ्जसम्मको रू. चार सय र नारायणगढ–काठमाडौँको भाडा रू. पाँच सय भाडादर रहेको छ ।

सत्तरी प्रतिशतसम्म बैंकले लगानी गरिदिने जनाउँदै पौडेलले यस सवारी व्यवसायीका लागि पनि सन्तोषजनक रहेको बताए । “यसको मुख्य समस्या चार्जिङको हो । सरकारले ठाउँठाउँमा चार्जिङ पोइन्ट बनाइदिने हो भने यस्ता सवारी सञ्चालन गर्न थप सहज हुँदै जानेछ”, उनले भने । एउटा सवारी चार्ज हुनका लागि एक घण्टा लाग्ने हुँदा स्टेशनमा रहेका चार्जिङ पोइन्टको सङ्ख्या पनि सवारीअनुसार थप हुँदै जानुपर्ने उनले बताए ।

डिजेलको बसमा भन्दा विद्युतीय बसमा धेरै मुनाफा रहेको नारायणगढ–वीरगञ्ज रुटमा चल्ने मधेस प्रदेश ०३–००१ ज ३६४ नम्बरको सवारीका चालक वृज किशोर प्रसादले बताए । मुनाफा राम्रो भए पनि चार्जिङको समस्याले सताउने गरेको उनले गुनासो गरे । डिजेल गाडीकोभन्दा यो गाडीकोे पिकअपसमेत राम्रो रहेको उनको भनाइ थियो ।

विद्युतीय सवारीको सबै पक्ष राम्रो भए पनि चार्जिङ पोइन्टकै समस्या हुने नारायणगढ–हैटौँडा रुटमा सवारी चलाउने कृष्ण बस्ताकोटीले बताए । सवारीको सङ्ख्या बढ्दै जाँदा चार्ज गर्न घण्टौँ कुर्नुपर्ने बाध्यता आएको भन्दै रुटको ठाउँठाउँमा चार्जिङ पोइन्ट हुनुपर्ने उनको माग थियो ।

जिल्लामा पछिल्लो छ महिनादेखि विद्युतीय सार्वजनिक सवारी सञ्चालनमा आएका हुन् । ११ सिट क्षमता भएको सवारी खरिद गर्दा रू. ४४ लाख हाराहारी पर्ने र पाँच वर्षको ग्यारेन्टी निर्माण कम्पनीले लिने व्यवसायीकोे भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार

तपाईको प्रतिक्रिया