Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसोलुखुम्बुको नेचासल्यानमा एकै गाउँका ४० भन्दा बढी बिरामी

सोलुखुम्बुको नेचासल्यानमा एकै गाउँका ४० भन्दा बढी बिरामी


सोलुखुम्बु, वैशाख २१
झाडापखाला तथा कमलपित्त (जन्डिस) रोगबाट सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर २ सल्यानको एकै गाउँमा ४० जनाभन्दा बढी व्यक्ति बिरामी परेका छन् । साबिक सल्यान गाविसको वडा नं १ र ३ को गाउँमा उक्त रोग देखिएको हो । नेचासल्यान गाउँपालिका वडा नम्बर २ वडाध्यक्ष भेषकुमार बाँस्तोलाका अनुसार साबिक वडा नं १ को चौतारा नेवार बस्तीका करिब २५ जनामा झाडापखाला र साविक वडा नं ३ का करिब २० जनामा जन्डिस देखिएको छ । एकै परिवारका चारजना समेत बिरामी परेको वडाध्यक्ष बाँस्तोलाले बताए ।

झाडापखाला मात्र नभई आउँसमेत रहेको अनुमान गरिए पनि ल्याब परीक्षणबाट एकीन हुने बाँस्तोलाले जानकारी दिए । एक हप्तादेखि बिरामीको सङ्ख्या अप्रत्यासित रुपमा बढ्दै गएपछि शुक्रबार जिल्लाबाट चिकित्सकसहितको टोली त्यहाँ पुगेको छ । सरुवा रोग तीव्र गतिमा फैलिएकाले जिल्ला अस्पताल फाप्लुबाट चिकित्सकसहितको टोली सल्यान पुगेको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख कर्मचन्द्र राजवंशीले जानकारी दिए ।

उक्त टोलमा प्रयोग हुँदै आएको पानीको मुहान दूषित भएकाले नै बिरामी परेको हुनसक्ने अनुमान गरिएको छ । त्यस क्षेत्रका नागरिकले प्रयोग गर्ने तीनवटा खानेपानीका मुहानमध्ये एउटा मुहान फोहोर रहेको पाइएको वडाध्यक्ष बाँस्तोलाले बताए । तीनवटै मुहानको पानी परीक्षणको तयारी भइरहेकाले खानेपानी या अन्य कुनै कारणले यो रोग फैलिएको बारे अहिले नै भन्न नसकिने अध्यक्ष बाँस्तोलाले बताए ।

दैनिक रुपमा तीनदेखि चार जनामा जन्डिस देखा परेको प्राथमिक स्वास्थ्य केन्द्र सल्यानका मेडिकल अधिकृत डा. अविषेक सुमन जानकारी दिए । डा. सुमनका अनुसार उनीहरुलाई घरैमा गएर उपचार गरिएको छ भने ल्याब परीक्षणका लागि प्राथमिक केन्द्रमा बोलाइएको छ । बिरामी सबैको अवस्था सामान्य रहेकाले तत्काल नियन्त्रण बाहिर नरहे पनि कोरोना भाइरसको जोखिम रहेका बेला केही समस्या भएको चिकित्सकको भनाइ छ ।

मौसम परिवर्तनका बेला विभिन्न किसिमका रोग लाग्ने भएकाले सचेत रहन चिकित्सकले सबैलाई आग्रह गरेका छन् । विश्वले सामना गरिरहेकोे कोभिड–१९ को जोखिमसँग अन्य रोगसमेत बढ्न सक्ने भएकाले सरकारले यसतर्फ पनि ध्यान दिनुपर्ने डा. अविषेक सुमनको भनाइ छ । कोरोनामा केन्द्रित हुँदा अन्य रोगले महामारीको रुप लिन सक्नेतर्फ सबै सचेत हुनुपर्ने उनले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x