डोटी ।
जिल्लाकै मेरुदण्डका रूपमा मानिएको सहजपुर–बोगटान सडकको कामले अझै गति लिन सकेको छैन । सडक शिलान्यासको सुरुआती वर्षमा उक्त कामले निकै गति लिए पनि पछिल्लो समय अघि बढ्न नसकेको हो । कोभिड—१९ को संक्रमणका कारण उक्त सडकको काम सुस्त गतिमा हुँदै आएको छ । निर्माणले सुस्त गति लिएसँगै अब उक्त सडक तोकिएकै समयमा सम्पन्न हुनेमा आशंका पैदा भएको छ । कोरोनाकै कारण कैलालीको सहजपुरदेखि डोटीको बडिकेदार गाउँपालिकासम्म जोड्ने उक्त सहजपुर–बोगटान सडक कालोपत्रको कार्यमा समेत ढिलाइ हुँदै आएको छ ।
उक्त सडक कालोपत्रको ठेक्का पाएको निर्माण कम्पनी पीआरएल–कुमार जेभीका आयोजना सम्पर्क प्रबन्धक ईश्वर बस्नेतका अनुसार सडक डबल कटिङ र पक्की नालीको निर्माणअघि बढी नालीको काम सकिए पनि कोरोना भाइरसका कारण निर्माण सामग्री नपाउँदा तथा घर गएका अधिकांश श्रमिक समयमै काममा नफर्किएका कारण निर्माणमा ढिलाइ हुँदै आएको हो । तीन दशकदेखि अलपत्र सडक पछिल्लो समय सरकारको उच्च प्राथमिकतामा रहे पनि कोरोना संक्रमणका कारण काममा ढिलाइ हुँदा उक्त सडक पुनः अलपत्रजस्तै अवस्थामा परेको स्थानीयवासी बताउँछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७५ फागुन ७ गते उक्त सडक कालोपत्रको शिलान्यास गरेका थिए । शिलान्याससँगै सडकको निर्माणले गति लिए पनि अहिले मन्दगतिमा काम भइरहेको स्थानीयवासी महेन्द्रबहादुर साउदले बताए । उनले भने, ‘सुरुमा निकै तीव्र गतिमा काम भइरहेको थियो, अहिले कोरोनाले गर्दा काम सुस्त भएको छ, समयमै काम सम्पन्न हुने छाँटकाट छैन ।’
सहजपुर बजारबाट बडिकेदार गाउँपालिकासम्म ५० किलोमिटर सडक ३० महिनाभित्रमै कालोपत्र गरिने लक्ष्यानुसार ठेकेदार कम्पनीले उक्त कामको सुरुआत गरेको थियो । भारत सरकारको एक्जिम बैंकको ऋण प्रक्रियाबाट नेपाल सरकारले दुई अर्ब पाँच करोडमा उक्त सडक कालोपत्रको जिम्मा कुमार श्रेष्ठ निर्माण सेवालाई दिएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट विजयी संघीय सांसद प्रेमबहादुर आलेमगरको प्रत्यक्ष पहलमा उक्त सडक कालोपत्र हुन थालेको थियो । कैलालीको चुरे गाउँपालिकाभित्र पर्ने १८ किमी र डोटीको विपीनगरबाट बडिकेदार गाउँपालिकासम्म २८ किमी सडक कालोपत्रको काम धमाधम सुरु गरिए पनि गएको करिब तीन महिनादेखि कालोपत्रको काम रोकिएको र अन्य काम सुस्तगतिमा भइरहेको बडिकेदार –१ विपीनगरका गणेशबहादुर बोहराले बताए । उनले भने, ‘तीन महिनादेखि पिचको काम रोकिएको छ, अन्य निर्माण सुस्तगतिमा चलेको छ, कोरोनाले जिल्लाका ठूला योजनाका काम लथालिङ्ग बनायो ।’ जिल्लाको सबैभन्दा पुरानो उक्त कच्ची सडक शिलान्यास भएको ३३ वर्षपछि विसं २०७५ मा मात्र कालोपत्र हुन थालेको भए पनि कोरोना संक्रमणले काम सुस्त भएपछि समस्या उत्पन्न भएको कैलाली, शिवनगरका दानबहादुर विष्टले जानकारी दिए ।
सहजपुरबाट बडिकेदार गाउँपालिका हुँदै बोगटान फुड्सिल गाउँपालिकाको सिमचौर भएर दिपायल जोड्ने उक्त सडकको विसं २०४२ मा पहिलोपटक शिलान्यास भएको थियो । बोगटान सडक निर्माणपछि स्थानीय कृषि उत्पादनले मूल्य पाउने आसा किसानले गरिरहेका थिए । जिल्लाको बोगटान क्षेत्र कृषि उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छ । स्थानीय बासिन्दामा वषौँपछि कालोपत्र हुने आसा पलाएको उक्त सडकमा पुनः कोरोनाका कारण खेर जाने त होइन भन्ने चिन्ता थपिएको छ । सो क्षेत्रका बासिन्दा कालोपत्र नहुँदा कच्ची सडकमा अहिले पनि खचाखच भरिएर बसमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- शिवशिखरका संचालक केदारनाथलाई ३३ अर्बको सम्पत्ति शुद्धीकरण
- नेपाल टेलिकमका पूर्वप्रबन्ध सञ्चालक डिल्लीराम अधिकारीले डलरमा घुस लिएको तथ्य फेला !
- कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
- मूल्य वृद्धिले उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै महासङ्घद्वारा ध्यानाकर्षण
- कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट
- जुवाको खालबाट २२ जना पक्राउ
- संसदमा गतिरोध हटाउन प्रतिपक्ष दल र सत्तापक्ष दलका नेताहरु छलफलमा,रास्वपा भने ‘अनुपस्थित’
- अपदस्त राजा ज्ञानेन्द्र बैंकक प्रस्थान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया