Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारदादुरा रुबेलाविरुद्धको दोस्रो चरणको खोप सुरु

दादुरा रुबेलाविरुद्धको दोस्रो चरणको खोप सुरु


महोत्तरी । जिल्लाका छ नगरपालिका र दुई गाउँपालिकासहित आठ स्थानीय तहका खोप केन्द्रमा दादुरा रुबेलाविरुद्धको दोस्रो चरणको खोप यहाँ सुरु भएको छ । मंगलबार दोस्रो चरणको खोप सुरु भएको हो । यस चरणमा बर्दिबास, गौशाला, औरही, रामगोपालपुर, भङ्गाहा र बलवा नगरपालिका तथा सोनमा र सम्सी गाउँपालिका छन् ।

यसअघि यही फागुन १३ गतेदेखि सोमबारसम्म पहिलो चरणमा सात स्थानीय तहमा दादुरा र रुबेलाविरुद्धको खोप सञ्चालन गरिएको थियो । सो चरणमा जिल्ला सदरमुकाम जलेश्वरसहित लोहारपट्टि, मटिहानी र मनराशिशवा नगरपालिका तथा पिपरा, महोत्तरी र एकडारा गाउँपालिका सामेल रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

दुई चरणमा जनशक्ति खटाएर सञ्चालित अभियानमा सबैलाई खोप सेवा पुर्याउने लक्ष्य साथ काम गरिएको कार्यालयका प्रमुख स्वास्थ्य प्रशासक सुनिता गुप्ताको भनाइ छ । दादुरा रुबेला खोप नौ महिनादेखि १५ वर्ष उमेर समूहबीच दिइँदै छ । यो उमेर समूहका जिल्लामा दुई लाख ३० हजार नौ सय ८७ बालबालिका छन् ।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटा स्थानीय तहमा दादुरा रुबेला खोप अभियानसँगै जिल्लालाई पूर्ण खोपयुक्त घोषणाको तयारीसाथ अभियान अघि बढेको स्वास्थ्य कार्यालयले जनाएको छ । यसपालि महोत्तरीलाई पूर्ण खोपयुक्त जिल्ला घोषणाको तयारी गरेको छ । जिल्लाका दुई स्थानीय तह पूर्ण खोपयुक्त घोषणा हुन बाँकी छन् ।

यसपालि अहिले जारी दादुरा रुबेला खोप अभियानलाई सबैको पहुँचमा पुर्याएर जिल्लालाई पूर्ण खोपयुक्त घोषणाको तयारीसाथ अभियान अघि बढाइएको स्वास्थ्य कार्यालयका प्रमुख स्वास्थ्य प्रशासक गुप्ताले बताए । जारी खोप अभियानमा दुवै चरणमा गरी नौ सय २४ खोप केन्द्र व्यवस्थित गरिएको छ ।

खोप अभियानको प्रभावकारिताका लागि अतिरिक्त जनशक्ति व्यवस्थापन, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र सम्बद्ध स्थानीय तहबाट समन्वय तथा अनुगमनको प्रबन्ध मिलाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसपालिको दादुरा रुबेला खोप अभियानको प्रभावकारिताले अन्य खोप सेवाको पहुँच सुनिश्चित गर्न सहयोग पुग्ने हुँदा कार्यालयले यस अभियानमा सरिक हुन र सहयोग पुर्याउन सबै राजनीतिक दल, सामाजिक सङ्घसंस्था तथा जनप्रतिनिधिमूलक निकायका प्रतिनिधिसहित आम जनसमुदायमा अपिल गरेको छ ।


क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश, स्वास्थ्य / जिवनशैली

तपाईको प्रतिक्रिया