जिल्लामा नै थाइराइडको उपचार हुने भएपछि स्थानीय खुसी
महेन्द्र शाही
सोलुखुम्बु, भदौ ३१
हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक थाइराइड परीक्षण सुरु भएपछि यस क्षेत्रका नागरिक हर्षित भएका छन् । सदरमुकाम सल्लेरीमा सञ्चालित सोलु हेल्थकेयर प्रालिले कोरोना महामारीकै बीचमा सेवा सुरु गरेको छ । यहाँका नागरिकलाई अब थाइराइड परीक्षणका लागि काठमाडौँलगायत जिल्लाबाहिरका अस्पताल जानुपर्ने बाध्यता अन्त्य भएको स्थानीय उमा शाक्यले बताइन् ।
यसअघि थाइराइड परीक्षण गराउनकै लागि यहाँका नागरिक विराटनगर, धरान या काठमाडौँ जानुपर्ने बाध्यता थियो । आफूहरू पनि जाँचका लागि काठमाडौँ जाने गरेको शाक्यको भनाइ छ । अब जिल्लामा नै उपचार हुने भएपछि निकै खुसी लागेको उनले सुनाइन् । लकडाउन तथा कोरोना महामारीका कारण पुनः जाँचका लागि अन्यत्र जान नपाएको समयमा जिल्लामा नै सेवा सुरु हुनु सुखद् भएको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्लाकी पूर्णमाया बस्नेतले बताइन् ।
‘केही महिनाअघि विराटनगर गएर जाँच गराउँदा थाइराइड देखिएको थियो । डाक्टरले फेरि जाँच गरेर औषधि थपघट गर्नुपर्छ भनेका थिए’, उनले भनिन्, ‘कोरोनाकै कारण जान सकिरहेका थिइनँ, अब यहीँ आयो ढुक्क भयो ।’ काठमाडौँ जानका लागि एकतर्फी जिप भाडा मात्रै एक हजार पाँच सय रूपैयाँ तिर्नुपर्छ भने इटहरी जानका लागि एकतर्फी मात्रै एक हजार आठ सय रूपैयाँसम्म लाग्छ । स्थानीय धनमाया मगरले भनिन्, ‘जाने–आउने र खाना खाने खर्चले जिल्लामै थाइराइड परीक्षण गराउन सकिन्छ भने समयको समेत बचत हुँदा हामी एकदमै खुसी छौँ ।’
‘खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया नियन्त्रण गर्ने हर्मोनलाई थाइराइड हर्मोन भनिन्छ’, सोलु हेल्थ केयरका प्रबन्धक निर्देशक डा. राजेन्द्र बस्नेतले भने, ‘हाम्रो घाँटीमा हुने यो ग्रन्थीको समस्या धेरै मानिसमा भए पनि परीक्षण नहुँदा अधिकांश रोग पालेर बस्न बाध्य छन् ।’
हेल्थ केयरका अनुसार अहिले जिल्लामै सेवा सुरु भएपछि दैनिक २० जनाभन्दा बढीले परीक्षण गराउने गरेका छन् । थाइराइड हुँदा कपाल धेरै झर्ने, दुब्लाउने वा मोटाउने, शरीरमा पसिना बढी आउने वा कम आउने, निद्रा बढी लाग्ने वा कम लाग्ने, कब्जियत हुने वा झाडापखाला लाग्ने, महिलामा महिनावारी गडबडी हुने, मुटु जोडसँग ढुकढुक हुने, हात काँप्ने, गर्मी बढी हुने वा जाडो हुने, छाला खस्रो हुनेलगायतका लक्षण देखिने चिकित्सक बताउँछन् । हिमाली जिल्ला सोलुखुम्बुमा यस्ता बिरामीको संख्या अत्यधिक भएकै कारण परीक्षण सुरु गरिएको डाक्टर बस्नेतको भनाइ छ । उनीहरूलाई आफ्नै ठाउँमा सेवा दिने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको उनले बताए ।
कोरियाली प्रविधिको उक्त मेसिनले विभिन्न ६० प्रकारका रोग पत्ता लगाउन सक्ने चिकित्सकको भनाइ छ । विगतका दिनमा थाइराइडको रिपोर्ट आउनका लागि २२ दिन पर्खनुपर्ने भए पनि अहिले १२ मिनेटमै रिपोर्ट आउने डा. बस्नेतले बताए ।
सरकारी अस्पतालले यो सेवा सञ्चालन गर्नसक्ने भए पनि सामान्य रोगको उपचारमा समेत निजी अस्पतालमा जानुपर्ने बाध्यता रहेको सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाको भनाइ छ । उनले सरकारी अस्पताललाई चुनौती दिँदै हेल्थकेयरले थाइराइड परीक्षणसमेत सुरु गरेकोमा खुशी व्यक्त गरे ।
आगामी दिनमा जिल्लावासीले सहज सेवा पाउने भन्दै नगरप्रमुख शेर्पाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । थाइराइड रोग सामान्यतया शरीरको रोग प्रतिरोधात्मक क्षमतामा कमी हुँदा या वंशाणुगतरूपमा पनि लाग्ने भएको हुँदा समयमा नै उपचार गराउनुको विकल्प नभएको चिकित्सक बताउँछन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया