Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिपानी नपर्दा आलु किसान समस्यामा

पानी नपर्दा आलु किसान समस्यामा


दोलखा । माघको दोस्रो सातासम्म पनि हिउँदे वर्षा नहुँदा आलु किसानहरू समस्यामा परेका छन् । जिल्लाको माथिल्लो क्षेत्रमा हिउँदे आलु रोप्ने समय सुरु भए पनि समयमै वर्षा नहुँदा जिल्लाका किसान चिन्तित बनेका हुन् ।

आलु रोप्नका लागि किसानहरूले बाँझो बारी खन्ने, मल बोक्ने तथा आलुको बीउको जोहो गर्ने सबै कार्य गरिसकेका छन् । तर पानी नपरेको कारण आलू रोप्न भने नपाएको किसानहरूको गुनासो छ । समयमा नै पानी नपरेका कारण आलु रोप्न ढिला भइसकेको बैतेश्वर–८ स्थित एवोका किसान बलराम कार्कीले बताए । उनका अनुसार यहाँका किसानले दुई करोड बराबरको आलु उत्पादन गर्ने गरेका छन् । पानी नपरेपछि केही किसानले भने तुसारो, चिसोले कक्¥याक्क बनेर बसेको सुक्खा माटोमै आलु रोप्न सुरु गरेका छन् ।

दोलखाको प्रायः सबै माथिल्लो क्षेत्रका किसानको मुख्य आम्दानी स्रोत हिउँदे आलु खेती हो । मंसिरमै बारी बनाएर हिउँदे वर्षाद्को पर्खाइमा बसेका किसानलाई पानी नपरेपछि खेतीको उत्पादन घट्ने हो कि भन्ने चिन्ता खेप्नु परेको छ । हिउँदे वर्षाले आलु रोप्ने ठाउँको माटोलाई उर्वर भूमि बनाउने बैतेश्वर गाउँपालिका कृषि प्राविधिक निरोज पाण्डे बताए । माटोमा चिसोपन आउने र रोपेको आलु चाँडै उम्रने, माटो खुकुलो हुने तथा रोग किरा नलाग्ने हुँदा पनि किसानले पानी परेपछि मात्रै आलु रोप्ने गर्छन् । साथै, पानी नपर्दा लेक किसानले खेती गरेको हिउँदे तरकारी फलफूल तथा बेमौसमी खेती पनि सुक्न थालेको छ ।

यो समय किबिको बिरुवा लगाउने पनि हो । माघदेखि चैत्रसम्म धेरै किसानले किबि रोप्ने गर्छन् तर सुख्खा माटो कारण जिल्लाका किसानले लगाएको किबिको बोट समेत मार्ने गरेको बैतेश्वर गाउँपालिका–१ का कृषक कर्णबहादुर तामाङले बताए । तामाङले यस वर्ष करिब छ हजार किबिका बिरुवा किसानलाई बिक्री गरिसकेका छन् । यसैगरी गत वर्ष पनि ढिलो गरी पानी पर्दा जिल्लामा गहुँ उत्पादन घटेको थियो । यस वर्ष पनि सिँचाइ गर्ने समयसम्म आकाशे वर्षा नभएकाले गहुँ उत्पादन घट्ने किसानहरू बताउँछन् । जिल्लाका अझै पनि धेरै किसानलाई आकाशे वर्षाको भर पर्नुपर्ने बाध्यता छ । यता जिल्लाको कालिञ्चोक, शैलुङमा भने हिमपात भएका कारण किसानहरूलाई केही राहत मिलेको छ । हिमपातसँगै सामान्य हिउँदे वर्षा पनि भएकाले यहाँका किसानले भने आलु रोप्न थालेका छन् ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया