Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकान्ति भैरव सहकारीका नौ जना संचालकविरुद्ध मुद्दा दायर

कान्ति भैरव सहकारीका नौ जना संचालकविरुद्ध मुद्दा दायर


काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित कान्ति भैरव बचत तथा ऋण सहकारी संस्थाका नौ जना सञ्चालकविरुद्ध मुद्दा दायर भएको छ । एक सय ११ जना सेयर सदस्यहरुको २५ करोड ९४ लाख ९६ हजार आठ सय ९४ रुपैयाँ ठगी गरेको आरोपमा संचालकहरुविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको हो ।

आफूहरु ठगिएको भन्दै सेयर सदस्यले नै जाहेरी दिएपछि प्रहरी वृत्त बौद्धले सहकारीका अध्यक्षसहित नौ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । अनुसन्धान सकेर प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा उनीहरुविरुद्ध अदालतमा मुद्दा दायर भएको हो । आज(बिहिबार) देखि अदालतमा बकपत्र सुरु हुनेछ ।

सहकारीका सञ्चालक समिति अध्यक्ष गोकर्णेश्वर नगरपालिका ४ का ५९ वर्षीय हरिकृष्ण श्रेष्ठ, पूर्वअध्यक्ष एवम् सल्लाहकार ६२ वर्षीय प्रेम श्रेष्ठ, कोषाध्यक्ष एवम् ऋण संयोजक ७२ वर्षीय सेरलाल श्रेष्ठ, सहप्रबन्धक ४४ वर्षीय राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष ५४ वर्षीय रामेश्वर श्रेष्ठ, संस्थाका सचिव तथा प्रबन्धक ७३ वर्षीय रामदास श्रेष्ठ, सदस्यहरु ६५ वर्षीय राधेश्याम श्रेष्ठ, ५६ वर्षीय अनिरुद्ध श्रेष्ठ र लेखा समिति संयोजक ५४ वर्षीय चन्द्रप्रसाद पौडेललाई प्रतिवादी बनाइएको छ । उनीहरुविरुद्ध ठगीको आरोपमा मुद्दा दायर भएको हो ।

संस्थाका सञ्चालकहरु सबै गोकर्णेश्वरका स्थानीय नै भएकाले आफूहरुले पहिले विश्वास गरेको पीडितले बताए । सुरुसुरुमा राम्रोसँग कारोबार गरेको र बचत रकम अपचलन होला भन्ने नलागेको उनीहरुले भनेका छन् । तर संस्थामा रकम सुरक्षित नहुने ठानेर २ वर्ष पहिलेदेखि रकम फिर्ता माग्न थालेको उनीहरुले बताए ।

सञ्चालकहरुले आफन्तलाई बिनाधितो अभिलेख समेत नराखी ऋण दिने, आफन्तको नाममा सहकारीको रकमले अचल सम्पत्ति खरिद गरेको पनि जाहेरवालाले बताएका छन् । रकम फिर्ता गर्दा पनि आफन्तको मात्रै फिर्ता गरेको गुनासो उनीहरुको छ । चल अचल सम्पत्ति रोक्का राखी कानुन बमोजिम कारबाही गरी आफूहरुको रकम फिर्ता दिलाइदिन उनीहरुले माग गरेका छन् । सहकारीका सञ्चालकले रकम ठगी गरेको निष्कर्षसहित प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

त्यस्तै, प्रतिवादी बनाइएका मध्ये रामेश्वर श्रेष्ठ, राधेश्याम श्रेष्ठ, अनिरुद्ध श्रेष्ठ, रामदास श्रेष्ठ र चन्द्रप्रसाद पौडेल फरार छन् । उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गर्न समेत प्रहरीले माग गरेको छ। जाहेरवालाको माग बमोजिमको रकम दिलाउन र सञ्चालकहरुलाई थप कारबाही गर्न पनि माग गरिएको छ । प्रहरीले उनीहरुको बैंक खातामा रहेको रकम र जग्गा जमिन पनि रोक्का गर्न प्रक्रिया पूरा गरिसकेको छ ।

उता सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले भने कोभिडका कारण सहकारी नै समस्यामा परेको बयान दिएका छन् । उनले सहकारीका सदस्यहरुले ऋण लगे पनि फिर्ता नगर्दा सहकारी डुबेको बताएका छन् । सहकारीले विभिन्न व्यक्ति तथा व्यवसायमा लगानी गरेको र पछिल्लो एक वर्षयता भने व्यवसायमा आएको मन्दीका कारण सहकारीमा रकम बचत गर्नेभन्दा रकम फिर्ता लैजानेको संख्या बढी भएको अध्यक्ष श्रेष्ठको बयान छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया