Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयगंगा आरतीमा निजी कम्पनीको एकाधिकार !

गंगा आरतीमा निजी कम्पनीको एकाधिकार !


काठमाडौं । जताततै एकाधिकार कायम भयो भन्ने विषयले व्यापक असन्तुष्टि बढाइरहेका बेला अब धार्मिक आस्थाका सार्वजनिक स्थलहरूमा पनि त्यसले प्रवेश पाएको छ, त्यो पनि संसारभरका हिन्दुहरूको आराध्यदेव पशुपतिनाथको मन्दिर परिसरमा । पछिल्लो समय यो क्षेत्रमा टाँस भएको र व्यापकरूपमा सामाजिक सञ्जालमा विरोध प्रकट भइरहेको एउट सार्वजनिक सूचनाले समाजमा तरंग पैदा गरेको छ । यो सूचनालाई आधार मान्ने हो भने यो क्षेत्र हेरविचार गर्ने आधिकारिक निकाय पशुपति क्षेत्र विकास कोषलाई पनि त्यस्तो निजीस्तरको कुनै कम्पनीले कब्जामा लिएर आफ्नो शासन चलाइरहेको भनी मान्नुपर्ने हुन्छ । यद्यपि कोषले यो बेलासम्म आफूलाई स्वतन्त्र निकाय मान्दै आएको छ, उसको लोगो अरू कसैले प्रयोग गरिहेको र उसले व्यवस्थापन गर्नुपर्ने काम पनि अरू कसैले गरिहेको देखियो । यस्तो कुरा त्यसबेला प्रकट भयो जुनबेला इसाई धमावलम्बी पर्यटनमन्त्रीले हिन्दुधर्मलाई सर्पले जसरी डस्नुपर्छ भनेर सार्वजनिकरूपमा नै आह्वान गरेका थिए । तर उनीमाथि कतै पनि प्रष्टीकरण समेत मागिएन ।

यो प्रसंग हो वाग्मती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको अरू कसैले फोटो खिच्न नपाउने भनी एउटा निजी क्षेत्रले पशुपति मन्दिर परिसरमा टाँस गरेको सूचना । फोटो खिच्ने एउटा निजी कम्पनीले टाँसेको त्यो सूचनामा पशुपति क्षेत्र विकास कोषको लोगो पनि प्रयोग भएको छ, जसले यो सूचना नै कोषले निकालेको जस्तो देखिन्छ । हो, पशुपति मन्दिरभित्र विशेष अवस्थामा बाहेक क्यामेरा प्रवेश निषेध छ । तर वाग्मती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलन त्यस्तो निषेधित क्षेत्र होइन । यो कार्यक्रम हेर्न जाने जोकोहीले पनि त्यसको फोटो खिच्न पाउनुपर्ने हो तर यो सूचनालाई आधार मानिए त्यसो गरेबापत कारबाहीमा परिने छ । बुढासुब्बा डिजिटल प्रालिको नाम र विकास कोषको समेत लोगो प्रयोग भएको सूचनामा भनिएको छ –‘श्री पशुपतिनाथ आर्यघाट क्षेत्रको वाग्मती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही छ, साथै यहाँ खिचिएका भिडियो सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराइट ऐनअन्तर्गत् कारबाही हुने जानकारी गराउँदछौँ ।

जहाँ–जहाँबाट भक्तहरू पशुपतिनाथ आउँछन् उनीहरू कम्तीमा एकपटक त आर्यघाट क्षेत्रको वाग्मती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनमा सहभागी हुन्छन नै । तिनले यो दृश्यावलोकनलाई आफ्नो क्यामेरामा राख्नु र सामाजिक सञ्जालका भित्तामा चढाउनु सामान्य कुरा हो । यसअघि त्यस्तो हुँदै आइरहेको थियो । यो सूचनाअन्तर्गत यी भक्तहरू पनि कारबाहीमा पर्ने भए ।

यसको व्यापक विरोध भएपछि कोष भने तर्किन खोजेको छ । कोषका कार्यकारी निर्देशकले उक्त सूचनाप्रति कोषको कुनै पनि संलग्नता नरहेको उल्लेख गरेकी छन् । उनको भनाइमा गंगा आरती कोषले चलाएको होइन । त्यहाँका ब्राह्मणहरू कोषका कर्मचारी होइनन्, न कोषले स्वीकृति दिएको हो ।

त्यसो हो भने के यो कोषको व्यवस्थापन भित्रको क्षेत्र होइन त ? भन्ने प्रश्न उठ्छ । जीवनमा एकपटक पशुपतिनाथ आउनेहरूले त्यही छेउको आरतीको एउटा चिनो समेत लान नपाउने गरी यस्तो एकाधिकार कसले दियो त्यसको खोजी होस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया