Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारनाइजेरियाकी ओकोन्जो बनिन् विश्व व्यापार संगठनको प्रमुख

नाइजेरियाकी ओकोन्जो बनिन् विश्व व्यापार संगठनको प्रमुख


जेनेभा ।
नाइजेरियाकी पूर्व अर्थमन्त्री एन्गोजी ओकोन्जो–इवेला विश्व व्यापार संगठन (डब्लुटिओ) को प्रमुखमा नियुक्त भएकी छिन् । डब्लुटीओको इतिहासमै पहिलो प्रमुख हुन सफल भएकी ओकोन्जो उक्त पदमा पुग्ने पहिलो अफ्रिकी पनि हुन् । एएफपीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका दिनहरुमा निकै संकटबाट गुज्रिनु परेको डब्लुटीओलाई विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण उत्पन्न आर्थिक संकटबाट मुलुकहरुलाई राहत प्रदान गर्न डब्लुटिओको काँधमा ठूलो जिम्मेवारी छ । व्यापार क्षेत्रको यस शक्तिशाली संस्थाको महानिर्देशक पदमा नियुक्त भएसँगै उनले सुदृढ डब्लुटीओ धेरै मुलुकको चाहना रहेको बताएकी छिन् ।

नवनियुक्त ६६ वर्षीया अर्थशास्त्री ओकोन्जोले यसअघि विश्व बैंकमा पनि महत्वपूर्ण जिम्मेवारी सम्हालेकी थिइन् । उनलाई डब्लुटीओको महानिर्देशकमा नियुक्त गर्न सदस्य राष्ट्रहरुले भर्चुअल विधिबाट मतदान गरेका थिए । लगभग निष्क्रिय र पक्षघातकै अवस्थामा पुगेको डब्लुटीओलाई पुनर्जीवित तुल्याउनु पनि ओकोन्जोको काँधमा ठूलो जिम्मेवारी आएको छ । महानिर्देशक पदमा विजयी भएसँगै उनले भनिन्, ‘कोभिड–१९ को महामारीका कारण सिर्जित आर्थिक क्षतिलाई पूर्ण र तीव्र गतिमा पुनर्जीवित तुल्याउने हो भने सुदृढ डब्लुटीओ निकै महत्वपूर्ण छ ।’

उनले डब्लुटीओका सामुन्ने धेरै चुनौतीहरु रहेका भन्दै मिलेर कार्य गरिए डब्लटीओलाई अझ बलियो, बढी जीवन्त र आजका यथार्थसँग अझ अनुकूलित बनाउन सकिने उल्लेख गरिन् । ओकोन्जोले आगामी मार्च १ देखि कार्यभार सम्हाल्नु हुनेछ र उहाँको कार्यकाल सन् २०२५ को अगष्ट ३१ सम्म हुनेछ । एक जना पश्चिमी मुलुकका कुटनीतिज्ञले ओकोन्जो महिला भएको वा अफ्रिकाकी भएकैले नछानिएको बताउँदै डब्लुटीओका सामुन्ने उत्पन्न चुनौतीलाई सामना गर्नसक्ने योग्यता, अनुभव र गुण ओकोन्जोमा रहेको स्पष्ट गरिन् ।

जेनेभामा मुख्यालय रहेको डब्लुटिओ गत वर्ष अगष्टदेखि नै नेतृत्वविहीन छ । एक वर्ष कार्यकाल रहँदै तत्कालीन कार्यकारी निर्देशक रोबर्टो अजिभेडोले राजीनामा गरेपछि डब्लुटीओमा नयाँ प्रमुखको नियुक्ति हुनसकेको थिएन । विश्वका १६४ मुलुक सदस्य रहेको यस संस्थाको नेतृत्व चयन सहमतिका आधारमा गर्ने प्रचलन रहिआएको छ । सुरुमा आठ जना उम्मेदवार रहे पनि गत नोभेम्बरमा तीमध्ये एक व्यक्तिको नाम सिफारिस गरिएको थियो । तर तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ओकोन्जोको नाममा असहमति जनाएर विवाद खडा गरिदिएको थियो ।

ट्रम्प प्रशासनले दक्षिण कोरियाली व्यापार मन्त्री यू म्युङ–हीलाई नियुक्त गर्न चाहेको थियो । तर अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन नियुक्त हुने पक्का भएपछि म्युङ–हीले आफ्नो नाम सम्भावित सूचीबाट हटाउनु भएको थियो । बाइडेनले ओकोन्जोको नामलाई अनुमोदन गर्ने संकेत गरेको थियो । अमेरिकी कूटनीतिज्ञ डेभिड बिस्बीले संयुक्तराज्य अमेरिका डा ओकोन्जोसँग मिलेर कार्य गर्न इच्छुक रहेको बताएका थिए । सन् १९९५ मा डब्लुटिओ स्थापना भएपछि ओकोन्जो कार्यकारी निर्देशक हुने सातौं व्यक्ति हुन् ।

नाइजेरियाली ओकोन्जोको महानिर्देशक पदमा नियुक्तिका लागि संयुक्तराज्य अमेरिका, युरोपेली युनियन र अफ्रिकाले समर्थन जनाएका थिए । यतिबेला डब्लुटीओ धेरै किसिमका चुनौतीको घेरामा परेको छ । कोभिड–१९ शुरु हुनुअघि नै विश्व अर्थतन्त्रमा संकट देखिएका थिए । डब्लुटीओले व्यापार वार्तालाई सहजीकरण गर्न सकिरहेको थिएन भने संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार तनाबलाई मत्थर बनाउन असमर्थ भएको थियो ।

डब्लुटीओमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लगातार आक्रमण गरिरहेको थियो । अमेरिकाले सन् २०१९ को अन्त्यतिर डब्लुटीओको विवाद समाधान अपिल प्रणालीमा आवश्यक न्यायाधीश नियुक्तिमा अवरोध गरिदिएको थियो । युरोपेली आयोगकी प्रमुृख उर्सुला भोन डर लियेनले ओकोन्जोको नियुक्ति विश्वकै लागि ऐतिहासिक क्षण भएको बताइन् । उनले ओकोन्जोलाई युरोपले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

ताजा अपडेट