Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोभिड–१९ बाट प्रभावित भारतलाई विश्वभरबाट सहयोग

कोभिड–१९ बाट प्रभावित भारतलाई विश्वभरबाट सहयोग


नयाँ दिल्ली ।
दोस्रो वेभका रुपमा आएको कोरोना भाइरस महामारीका कारण गम्भीर रुपमा प्रभावित भएको भारतलाई अमेरिकासहित विश्वका कैयौँ देशले आपत्कालीन स्वास्थ्य सामग्री तथा औषधि सहयोगको वाचा गरेका छन् ।

सिन्ह्वाका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि भारतलाई आवश्यक र सक्दो सहयोग गर्ने बताएका छन् । उनले भनेका छन्, ‘जसरी भारतले हामीलाई महामारीको सुरुवाती चरणमा अस्पतालहरूको सहयोगका निम्ति मद्दत ग-यो, अहिले हामी पनि भारतलाई मद्दत गर्नेछौँ ।’

यसअघि भारतमा कोभिड विरुद्धको खोप आस्ट्राजेनेका खोप निर्माणका निम्ति आवश्यक कच्चा पदार्थमा रोक लगाएको थियो तर त्यो निर्यात प्रतिबन्धलाई अमेरिकाले हटाइदिएको बताएको छ । बेलायतले भारतमा भेन्टिलेटर तथा अक्सिजनको प्रयोगका लागि आवश्यक उपकरणहरू पठाउन थालेको छ । युरोपेली युनियनका सदस्य राष्ट्रहरूले पनि भारतलाई विभिन्न खालको सहयोग पठाउँदै छन् ।

भारतीय राजधानी नयाँ दिल्लीका अस्पतालहरू बिरामीले भरिएका छन् । यहाँ आएका बिरामीलाई अस्पतालले फर्काउँदै छन् । त्यस्तै पछिल्लो समयमा त्यहाँ लकडाउन पनि लम्ब्याइएको छ । भारत सरकारले अक्सिजनको उत्पादनमा बढाउने योजना थालेको छ । भारतले देशभरमा पाँँच सयवटा अक्सिजन उत्पादनसम्बन्धी कारखाना खोल्न अनुमति दिएको बताइएको छ ।

भारतको दिल्लीमा १८ वर्षमाथिका सबैलाई कोरोनाको खोप लगाइने
भारतको दिल्ली प्रदेशमा १८ वर्षमाथिका सबैलाई कोरोनाभाइरसविरुद्धको खोप लगाउन पाइने व्यवस्था गरिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय राजधानी नयाँ दिल्लीमा रहेका सार्वजनिक अस्पतालहरूमा निःशुल्क खोप लगाउन पाइने व्यवस्था गर्ने निर्णय भएको सोमबार जानकारी दिए ।

अहिले बचत रहेको एक करोड ३४ लाख खोप आम सर्वसाधारणलाई लगाउन थालिने उनले बताए । ‘दिल्ली सरकारले १८ वर्षमाथिका सबैलाई कोरोनाभाइरसविरुद्धको खोप निःशुल्क लगाइदिने व्यवस्था गर्ने निर्णय गरेको छ’, उनले भने । उनले अहिले भएको खोप सकिए पनि अरु खोप बचत नै रहने गरी व्यवस्था गर्न प्रयास गर्ने आश्वासन पनि दिए ।

सबैलाई निःशुल्क खोपको व्यवस्था गर्ने निर्णय अन्य प्रदेशहरूले भने यसअघि नै गरिसकेका थिए । दिल्लीबाहेक महाराष्ट्र, कर्नाटक, हरियाणा, ओडिसा, झारखण्ड र पश्चिम बंगालमा सबैलाई निःशुल्क खोपको व्यवस्था गरिएको हो । आम नागरिकले कारोनाको खोप लगाएमा संक्रमित हुने र मृत्यु हुनेको संख्या न्यूनीकरण हुने मुख्यमन्त्री केजरीवालले विश्वास लिएका छन् ।

जति धेरै जनालाई खोप लगाउन सकियो, त्यति धेरै महामारीलाई कम गर्न सकिने उनको भनाइ छ । भारतमा प्राथमिकता निर्धारण गरेर उच्च प्राथमिकतामा परेकाहरुलाई खोप लगाउन दिइएको थियो भने सर्वसाधारणलाई अहिले मात्र विभिन्न प्रदेशमा सुरु गरिएको छ । केन्द्रीय सरकारले भने आगामी मे १ देखि मात्रै देशभरका १८ वर्षमाथिका सबैलाई खोप लगाउने व्यवस्था गर्ने घोषणा गरेको थियो । भारतमा कोरोनाभाइरसविरुद्धको कोभिसिल्ड र कोभ्याक्सिन खोप आफैँ उत्पादन गर्दै बिक्रीवितरण हुँदै आएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

ताजा अपडेट