Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटिकटकको मातृकम्पनीका सहसंस्थापकले प्रमुख कार्यकारीबाट राजीनामा दिने

टिकटकको मातृकम्पनीका सहसंस्थापकले प्रमुख कार्यकारीबाट राजीनामा दिने


चीन ।
छोटो भिडियो सेवाप्रदायक कम्पनी टिकटकको मातृकम्पनी बाइटीडान्सका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले पद छोड्ने भएका छन् ।

बीबीसीका अनुसार सहसंस्थापक झांग यिमिङले आफ्ना कर्मचारीलाई पत्र लेख्दै आफू फरक भूमिकामा जानलागेको जानकारी गराउँदै सीईओबाट राजीनामा दिनलागेको जनाएका छन् । उनले नयाँ भूमिका यो वर्षको अन्त्यसँगै सुरु हुने बताएका छन् । चिनियाँ प्रविधि कम्पनी एक दशकअघि सुरु भएयताकै कम्पनीका अधिकारीहरुको ठूलो फेरबदल हो ।

टिकटकको जनप्रियताले कम्पनीलाई विश्वव्यापी चर्चा बटुल्ने अवसर मिलेको थियो । तर यसबीचमा सरकारी अधिकारीबाट पटक पटक छानबिनको दायरामा परेको थियो । ‘सत्य के हो भने उत्कृष्ट व्यवस्थापक हुने कतिपय सीप र क्षमता मसँग छैन, म सांगठनिक र बजार सिद्धान्तको विश्लेषणमा बढी इच्छुक छु र मान्छेको व्यवस्थापनभन्दा यसमा केन्द्रित भएर व्यवस्थापकीय काम थप घटाउँछु’, झांगले कम्पनीको वेबसाइटमा लेखेका छन् ।

उनको स्थान रुबो लियाङले लिनेछन् । रुबोलाई उनले अमूल्य साझेदार भनेका छन् । जसले कम्पनीको प्रविधि विकाससँगै कर्मचारी लिने र व्यवस्थापनलाई चुस्त बनाउने काम गरे । लियाङ बाइटीडान्सको मानव स्रोत विभागका प्रमुख थिए । उक्त पत्रअनुसार नेतृत्व परिवर्तनको प्रक्रिया अर्को छ महिनाभित्र भइसक्नेछ ।

यो कम्पनी सन् २०१२ मा स्थापना भएको थियो । बेइजिङमा मुख्यालय रहेको बाइटीडान्सले टिकटक एप बनाएपछि कम्पनीको चर्चा चुलिएको थियो । टिकटकका ७० करोड मासिक सक्रिय प्रयोगकर्ता रहेको अनुमान गरिन्छ ।

अमेरिका र चीनका सरकारले यसविरुद्ध अनुसन्धान थालेपछि झनै चर्चा चुलिएको थियो । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले त राष्ट्रिय सुरक्षामा असर पुग्ने भन्दै टिकटकविरुद्ध गम्भीर आरोप लगाएर प्रतिबन्ध नै लगाएका थिए । तर टिकटकले भने सबै आरोपको खण्डन गर्दै आएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया