Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालहराएको लाइसेन्सको सिफारिस बनाउन अनलाइनबाटै फर्म भर्न सकिने

हराएको लाइसेन्सको सिफारिस बनाउन अनलाइनबाटै फर्म भर्न सकिने


काठमाडौं ।
हराएको सवारीचालक अनुमति पत्र (लाइसेन्स), सवारी दर्ता किताब र सवारी इजाजत पत्रको सिफारिस लिनका लागि ट्राफिक कार्यालय धाउनुपर्ने बाध्यताको ट्राफिक महाशाखाले अन्त्य गरेको छ । अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले उक्त सिफारिस बनाउन सक्नेछन् ।

ट्राफिक महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाउन, सेवाग्राहीलाई थप सहज र सरल बनाउन तथा कोभिड १९ महामारीको विषम परिस्थितलाई पनि मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयको सहयोगमा आजैबाट यस्तो व्यवस्थाको सुरुवात गरेको महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख एसएसपी भिम ढकालले हराएको लाइसेन्स, बिलबुक र पर्मिटको लागि धेरै दिन लगाएर सेवाग्राही ट्राफिक प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गरिएको बताए । उनले दैनिक दुई सयको हाराहारीमा सेवाग्राहीले महाशाखामा हराएको सिफारिसको लागि आवेदन दिने गरेको जानकारीसमेत दिए ।

यो प्रणाली सुरु भएसँगै ट्राफिक कार्यालय गएर लाइन बसेर निवेदन दिने र सिफारिस रिपोर्ट लिने दिनको अन्त्य भएको छ र सेवाग्राहीले घरमै बसेर सिफारिस रिपोर्ट लिन सकिने बताए । सिफारिस रिपोर्ट आवश्यक पर्ने व्यक्तिले अब ट्राफिक प्रहरीको वेबसाइट ट्राफिक डट नेपालपोलिस डट जीओभी डट एनपीमा गएर फर्म भर्नुपर्ने हुन्छ । वेबसाइट खोलेपछि दायाँतर्फ लस्ट डकुमेन्टस एप्लिकेसनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि माग भएबमोजिम सेवाग्राहीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ ।

यस्तै, सेवाग्राहीले एप्लिकेसनमा क्लिक गरेपछि कुन हराएको डकुमेन्ट्सको सिफारिस आवश्यक परेको हो त्यो सेलेक्ट गर्नुपर्नेछ । त्यसपछि निवेदकको नाम फोन नम्बर, ठेगाना र आफ्नो परिचय खुल्ने नागरिकता वा लाइसेन्स वा पासपोर्टको फाइल वा स्क्यान कपि सेवाग्राहीले अनलाइन प्रणालीबाटै दिनुपर्ने हुन्छ ।

माग भएअनुसार सबै विवरण सबमिट वा भरिसकेपछि सेवाग्राहीलाई एप्लिकेसन नम्बर प्राप्त हुन्छ । सेवाग्राहीले अनलाइनबाट फाराम भरेको २४ घण्टापछि सिफारिस पाप्त गर्न वा लिन सक्नेछन । यसको लागि सेवाग्राहीले उक्त एप्लिकेसनमा रहेको चेक एप्लिकेसनमा क्लिक गरी दिएको एप्लिकेसन नम्बर, पूरा नामथर र डकुमेन्ट्स नम्बर राखेर सिफारिस रिपोर्ट लिन सक्नेछन् र उक्त सिफरिस रिपोर्टको प्रिन्ट लिएर यातायात कार्यालयमा गई आफ्नो लाइसेन्स वा सवारीको डकुमेन्ट बनाउन सकिनेछ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया