Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

‘सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक’


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताएका छन् । भक्तपुर चेम्बर अफ कमर्सको छैठौं साधारणसभामा उनले आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य महत्वपूर्ण रहेको बताए ।

‘अर्थतन्त्रको दिगो विकासका लागि ठोस गृहकार्य गरिनुपर्छ । सरकारीतर्फबाट भएका कमजोरीलाई पनि सुधार गरिनुपर्छ’, उनले भने, ‘करको दायरामा आउने कुरामा निजी क्षेत्र पनि उदार हुनुपर्छ ।’ मुलुकमा पछिल्लो समय आर्थिक सूचकहरू सकारात्मक भए पनि निजी क्षेत्र र आम सर्वसाधारणले त्यसको व्यावहारिक अनुभूति गर्न नसकेको उनले बताए । मुलुकमा औद्योगिक एवम् व्यावसायिक वातावरण बन्न नसक्नुको कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको उनको भनाइ छ । सरकारले गर्ने खर्चमा मितव्ययिता अपनाउन आवश्यक रहेकोतर्फ अध्यक्ष मल्लले जोड दिए । उनले भने, ‘सरकारले चालू खर्चमा मुठी कस्नुपर्ने बेला आएको छ । ऋण लिएर चालू खर्च गर्नुपर्ने अवस्था आउनु मुलुकका लागि सकारात्मक हैन । खर्च पारदर्शिता कायम गर्न आवश्यक छ ।’

यस्तै, बजेटमा महत्वकांक्षी कार्यक्रमहरू घोषणा भए पनि कार्यान्वयन योजना प्रभावकारी हुन नसक्दा समस्या भएको अध्यक्ष मल्लले बताए । सरकार फेरिएसँगै नीतिहरू फेरिनाले पनि अर्थतन्त्र सघँै अस्थिर हुने गरेको उनको भनाइ छ । अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबाट साना तथा मझौला उद्योग सबैभन्दा बढी प्रभावित भएको उनले बताए । यस्तै, उनले कार्यक्रममा भक्तपुरलाई अन्तर्राष्ट्रिय पर्यटक आर्कषणको केन्द्र बनाउनुपर्नेमा जोड दिए ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया