Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबाँकेमा प्रदेश सरकारको विकास खर्च निराशाजनक

बाँकेमा प्रदेश सरकारको विकास खर्च निराशाजनक


जीएम यादम
बाँके, पुस १४
बाँकेमा प्रदेश ५ सरकारको खर्च विगतको जस्तै निराशाजनक देखिएको छ । चालू आवको ६ महिना बित्न लाग्दा पनि प्रदेश सरकारले बाँकेका योजनाका लागि विनियोजन गरेको पुँजीगत खर्च निराशाजनक नै रहेको छ । यद्यपि, बजेट खर्च गर्न प्रदेश सरकारसँग अझै ६ महिना बाँकी रहेको छ । हालकै अवस्थामा खर्चको अवस्था रहने हो भने यस वर्ष पनि विकासका काम नै नभई फ्रिज हुने सम्भावना बढी रहेकोे देखिन्छ ।

चालू आव ०७६/०७७ मा प्रदेश ५ सरकारले बाँकेका लागि पुँजीगततर्फ एक अर्ब ७४ करोड ११ लाख ४४ हजार रूपैयाँ विनियोजन गरेको छ । मंसिरसम्म उक्त बजेटमध्ये १० करोड ६९ लाख ७४ हजार छ सय ७९ रूपैयाँ मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय नेपालगञ्जका कोष नियन्त्रक प्रकाश पौडेलले जानकारी दिए । चालूतर्फ प्रदेश सरकारले चालू आवका लागि एक अर्ब ८२ करोड नौ सय ३४ रूपैयाँ छुट्याएको छ । उक्त रकममध्ये मंसिरसम्म २३ करोड ६१ लाख ५० हजार रूपैयाँ खर्चको भएको विवरण कोलेनिकामा रहेको छ । गत वर्ष प्रदेश सरकारले बाँकेमा छुट्याएको बजेटको ६० प्रतिशत पनि खर्च भएको थिएन ।

गत आवमा प्रदेश सरकारले बाँकेका लागि आव ०७५/०७६ मा पुँजीगत खर्चतर्फ एक अर्ब ३२ करोड १४ लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये ५८ दशमलव २० प्रतिशत अर्थात् ७६ करोड ९१ लाख रूपैयाँ मात्र खर्च भएको थियो । गत आवको असारमा मात्रै प्रदेशतर्फको ४४ करोड १७ लाख रूपैयाँ असारमा खर्च भएपछि खर्च प्रतिशत ५० नाघेको हो । संघीय सरकारतर्फ पुँजीगत खर्चको अवस्थामा भने सन्तोषजनक नै रहेको छ । संघीय सरकारले चालू आवमा पुँजीगततर्फ पाँच अर्ब ८६ करोड ५४ लाख ४५ हजार सात सय छ रूपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये एक अर्ब सात करोड ७६ लाख पाँच हजार सात सय नौ रूपैयाँ खर्च भएको छ ।

संघीय सरकारले गत आव ०७५/०७६ मा पुँजीगत खर्चका लागि आठ अर्ब ९८ करोड आठ लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये सात अर्ब ३१ करोड छ लाख रूपैयाँ मात्रै खर्च भएको छ । जुन विकास बजेटको ८१ दशमलव ४० प्रतिशत हो । यस वर्ष पनि संघतर्फको खर्च राम्रो नै रहेको छ । चालू आव २०७६/०७७ मा बाँकेका लागि संघीय सरकारले चालूतर्फ सात अर्ब ९७ करोड ५४ लाख ६७ हजार आठ सय ७४ रूपैयाँ छुट्याएको थियो । जसमध्ये ६ महिनामा तीन अर्ब ५८ करोड ६३ हजार सात सय २० रूपैयाँ खर्च भएको कोष नियन्त्रक पौडेलले जानकारी दिएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

ताजा अपडेट